
काठमाडौं। आगामी दुई/अढाइ महिनामा व्यावसायिक मनोबल वृद्धि गरेर अर्को आर्थिक वर्षको सुरुवातदेखि अर्थतन्त्रलाई गति दिने बताएका अर्थमन्त्री वर्षमान पुनले ठूलो आड नेपाल राष्ट्र बैंकबाट खोजेका छन्।
उनले व्यवसायिक मनोबल वृद्धिका लागि प्रधानमन्त्री, गृहमन्त्रीसँग छलफल गरेर ‘पहिले थुन्ने अनि सुन्ने नीति’ बाट ‘पहिले सुन्ने अनि मात्र थुन्ने नीति’ का लागि पहल गरेका छन्। पुनका सार्वजनिक अभिव्यक्ति, उनीप्रतिको अपेक्षा र उनले गरेको पहललाई लगानीकर्ताले ‘हरियो झण्डा’ देखाउन थालेका छन्।
तर, कार्यान्वयनमा गएनन् भने त्यो टिकाउ हुँदैन। त्यसैले पुनले व्यवसायिक मनोबलसँगै संकुचित बजारलाई फुकाउन पहिलो प्रस्थान विन्दु सेयर बजारलाई बनाएका छन्, त्यसका लागि उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आड खोजेका छन्।
अहिले सेयर बजार सूचकसँगै बजार पुँजीकरण पनि निकै घटिसकेको छ। ४४ खर्बको बजार पुँजीकरण ३२ खर्बमा झरिसकेको छ, जबकी यो बीचमा थुप्रै नयाँ कम्पनी सूचीकरण भइसकेका छन्। अर्थात लगानीकर्ताले अनुमानित सम्पत्ति (वेल्थ) १२ खर्ब रुपैयाँले गुमाइसकेका छन्।
जब लगानीकर्ता निरुत्साहित हुन्छन्, उपभोग घट्न थाल्छ, अनि आर्थिक संकुचनतिर मुलुक जान्छ। अहिले बजारमा पर्याप्त तरलता छ, ब्याज दर घटेको छ। तैपनि मान्छेहरुमा ऋण लिन जाँगर छैन। यसको अर्थ हो सरकार, केन्द्रीय बैंकको नीतिप्रति लगानीकर्तामा विश्वास छैन। त्यो विश्वास नबढाइ अर्थतन्त्रमा सुधार गर्न सकिन्न भन्ने बुझाइ मन्त्री पुनको देखिन्छ।
उनले सार्वजनिक कार्यक्रमहरुमा केन्द्रीय बैंकलाई लक्षित गर्दै विगतमा बढाएको/घटाएको सीमाहरुलाई पुनरावलोकन गर्नुपर्ने बताइरहेका छन्। पुनले खासगरी सेयर बजारमा लगाइएका सीमाहरु कम गरेर सेयर सूचक बढाउन चाहेका छन्।
‘पहिलो ‘इन्ट्री पोइन्ट’ सेयर बजार हो, अब निजी क्षेत्रको मनोबल उच्च पार्न सेयर बजार सुधारबाट सरकार र केन्द्रीय बैंकले इन्ट्री गर्नुपर्छ,’ केही समयअघि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बिजमाण्डूसँग भनेका थिए। नभन्दै पुनले त्यही बाटो समातेका छन्।
उनले अहिले सेयर बजार सुधारका लागि समिति गठन गरेर सुझाव माग गरेका छन्। आजै धितोपत्र बोर्डले सेयर बजार सुधारको कार्ययोजना प्रस्तुत गर्दैछ। ती कार्ययोजनाका धेरै बुँदा राष्ट्र बैंकसँग सम्बन्धित छन्।
पुनले केन्द्रीय बैंकको भूमिका राम्रोसँग बुझेका छन्। उनले गभर्नर अधिकारीसँगको आफ्ना पुरानो सम्बन्धलाई उपयोग गर्न पनि खोजेका छन्। साथै आफ्नो पार्टीका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले तर्साएका गभर्नरसँग विश्वास आर्जन गर्न पनि खोजिरहेका छन्।
वर्षमान पुन पहिलो पटक १२ वर्षअघि अर्थमन्त्री हुँदा अधिकारी राष्ट्र बैंकको डेपुटी गभर्नर थिए। त्यसैले उनीहरुको बाक्लै कुराकानी, परामर्श हुने गर्थ्यो।
त्यो सम्बन्ध अहिले पनि कामय छ। शर्माले अधिकारीलाई हटाउनका लागि जुन कदम चाले त्यो बेला अधिकारी र पुनबीच बाक्लैसँग कुराकानी हुने गरेको थियो। पुनले शर्मालाई ‘मान्छे राम्रा छन्, बुझेका छन्, दुःख दिन काम गर्नु हुँदैन’ भनेर सम्झाउने प्रयाससमेत गरेका थिए।
पुनप्रतिको त्यो हार्दिकता गभर्नर अधिकारीले पनि राखेको देखिन्छ। पुन राष्ट्रपतिसँग सपथ लिएर अर्थमन्त्रालय पुग्दासम्म अबेर भइसकेको थियो। तर, अधिकारी उनलाई स्वागत गर्न डेढ घण्टादेखि कुरेर बसेका थिए।
त्यसको अर्को दिन दुई जना मात्रै बसेर छलफल गरेका थिए। सार्वजनिक समारोहहरुमा पनि पुनले अधिकारीलाई सम्मान दिँदै आएका छन् भने अधिकारीले पनि पुनका नीतिहरुलाई सहयोग गर्ने बचन दिइरहेका छन्।
पुनसँग काम गर्न सजिलो रहेको अनुभव पूर्वमन्त्री डा. खतिवडाको पनि छ। ‘उहाँ प्राविधिक कुराहरु पनि ध्यान दिएर सिक्न खोज्नु हुन्छ। मैले गभर्नर हुँदा ५ जना अर्थमन्त्रीसँग काम गरेँ, त्यसमध्ये सजिलो उहाँसँग थियो’ खतिवडाले आफू अर्थमन्त्री हुनुअघि नै बिजमाण्डूसँग भनेका थिए।