Bizmandu
www.bizmandu.com

'फोर्सफुल' मर्जरको पक्षमा माहौल बन्दै, बैंकरबाटै आउन थाल्यो मर्जरको प्रस्ताव

'फोर्सफुल' मर्जरको पक्षमा माहौल बन्दै, बैंकरबाटै आउन थाल्यो मर्जरको प्रस्ताव



 
काठमाडौं। फोर्स मर्जरका लागि बैंकरहरुबाटै आवाज उठ्न थालेको छ। आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा फोर्स मर्जरको ब्यवस्था गर्नु पर्ने माग बैंकरबाट आएको हो।
 
राष्ट्र बैंकले पूँजी बृद्धिको नीति लिँदा विकास बैंक र फाइनान्सको संख्या घटे पनि बाणिज्य बैंकहरुको संख्या नघटेको भन्दै संख्या घटाउन फोर्स मर्जरको ब्यवस्था गर्नु पर्ने माग उठेको हो। 
 
नेपाल डेभलपमेन्ट बैकर्स संघका कार्यबाहक अध्यक्ष गोविन्द ढकालले  पुँजी वृद्धिको माध्यम हकप्रद शेयरलाई बनाएका कारण अहिले व्याज दर अस्थिरताको समस्या आएको बताउँदै ठूला बैंकहरु मर्जरमा लगे समस्या समाधान हुने बताए। उनले बाणिज्य बैंकहरुको संख्या १२ देखि १५ सम्म झार्नु पर्ने बताए।
 
लुम्वीनी विकास बैंकका निमित्त कार्यकारी प्रमुख उमेश रेग्मीले विग मर्जरको हल्ला चलिरहेको अवस्थामा फोर्स मर्जर नीति तत्कालै ल्याउनु पर्ने बताए। 'अहिले शाखा खोलेर कर्मचारी भर्ना गर्ने क्रम जारी छ। मर्जपछि कर्मचारीलार्इ हटाउन नसक्दा अर्को समस्या आउँछ,' उनले भने, 'त्यही भएर मर्जर गर्ने भए तत्कालै नीति ल्याउनु पर्छ। ढिला गर्नु हुँदैन।' 
 
उनले फोर्स मर्जरबाट बाणिज्य बैंक १२/१५ वटामा झार्नु पर्ने भन्दै विकास बैंक ५ देखि ७ वटामा झार्न सकिने बताए।  आइबीएन मिडिया एण्ड रिसर्चले आयोजना गरेको ‘मौद्रिक नीति २०७५÷७६’ विषयक अन्तरक्रिया कार्यक्रममा फोर्स मर्जरको बिषय उठेको हो।
 
गत आइतबार आयोजित सार्वजनिक कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले पनि मर्जर नीति आए बैंकरले सघाउने बताएका थिए।
 
मर्जरको बिषय उठिरहँदा राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले भने कुनै प्रतिकृया दिएनन्।
 
सानिमा बैंकका प्रमुख कार्याकारी अधिकृत भुवन दाहालले राष्ट्र बैंकले हिजोका दिनमा ८ अर्ब रुपैयाँ पूँजी पुर्याउँदा आत्तिनु परेको  सम्झिँदै अहिले ८ अर्ब रुपैयाँले पनि नपुगेर दुर्इ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्नु परेको बताए। 
 
महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले अर्बौं लगानी हुने जलविद्युतको नियमनकारी निकाय नहुँदा बैंकको ऋण जोखिममा परेको बताए।