BIZMANDU
www.bizmandu.com

यात्रु नपाएपछि हवाई कम्पनीबीच भाडा घटाघट, पोखराको हवाई टिकट १७ सय रुपैयाँमा बिक्री


यात्रु नपाएपछि हवाई कम्पनीबीच भाडा घटाघट, पोखराको हवाई टिकट १७ सय रुपैयाँमा बिक्री
यात्रु नपाएपछि हवाई कम्पनीबीच भाडा घटाघट, पोखराको हवाई टिकट १७ सय रुपैयाँमा बिक्री


Tata
GBIME
Nepal Life

काठमाडौं। यात्रु नपाएपछि आन्तरिक उडान गर्ने हवाई जहाज कम्पनीबीच प्राइसवार सुरु भएको छ।प्राइस वारका कारण विभिन्न गन्तब्यको हवाई भाडा आधा सस्तो भएको छ।

हवाई कम्पनी बुद्ध एयर,यति एयरलाइन्स,श्री एयरलाइन्स, सौर्य एयरलाइन्सले पोखरा, विराटनगर, धनगढी, भैरहवा, नेपालगञ्ज, भद्रपुर, भरतपुर लगायत गन्तब्यको भाडा घटाएका छन्।अहिले काठमाडौं-पोखराको एकतर्फी भाडा १७ सय रुपैयाँमा झरेको छ। सामान्य समयमा यो गन्तब्यको सस्तो भाडादर २७ सय रुपैयाँ हो भने अधिकतम ५ हजार ५० रुपैयाँ हो।

एक सातादेखि यो गन्तब्यमा उडान गर्ने बुद्ध र यति एयरलाइन्सले १७ सय रुपैयाँमा टिकट बिक्री गरिरहेका छन्।काठमाडौं-विराटनगरको भाडा पनि तीन हजार रुपैयाँमा झरेको छ।यो गन्तब्यमा उडान गर्ने सबै कम्पनीले अधिकतम ७ हजार ५ सय रुपैयाँ र न्यूनतम ४७ सय रुपैयाँ तोकेका छन्।कम्पनीको प्रतिस्पर्धाकै कारण काठमाडौं-धनगढी उडानको भाडा ५ हजार ५ सय रुपैयाँमा झरेको छ।यो गन्तब्यमा उडान गर्ने कम्पनीले सामान्य समयमा न्यूनतम ५ हजार ९ सय रुपैयाँ र अधिकतम १२ हजार ६ सय ५० रुपैयाँमा टिकट बिक्री गर्छन्।

यस्तै अहिले काठमाडौं-भैरहवाको टिकट पनि २५ सय रुपैयाँमा पाइन्छ।सामान्य समयमा भैरहवा उडान गर्ने कम्पनीले न्यूनतम ४३ सय रुपैयाँ र अधिकतम ६२ सय रुपैयाँमा टिकट बिक्री गर्दै आएका थिए।कम्पनीहरुले काठमाडौं-नेपालगंज उडानमा ३६ सय रुपैयाँमा टिकट बिक्री गरिरहेका छन्।कम्पनीले यात्रु पाएका बेला यो उडानमा न्यूनतम ५६ सय र अधिकतम १० हजार रुपैयाँमा टिकट बिक्री गर्दै आएका थिए। ‘यात्रुको संख्या घटेका कारण हवाई भाडामा चर्को प्रतिस्पर्धा सुरु भएको छ।

अहिले विभिन्न गन्तब्यको हवाई भाडा आधा घटेको छ। यात्रुको संख्यानै ५० प्रतिशत भन्दा कम छ’एक निजी वायुसेवा कम्पनीको संचालकले बिजमाण्डूलाई भने,’यस्तो अवस्था केही दिन रहे सबै कम्पनीले ठूलो नोक्सानी ब्योहोर्नुपर्नेछ।’ उनका अनुसार यात्रुको संख्या घटेका कारण केही समयका लागि मात्रै मूल्य घटेको हो।‘माग र आपूर्तिको सन्तुलन हुनेवित्तिकै हवाई भाडा तोकेको मूल्यमा आउँछ।तर अहिले यात्रु आफूतिर तान्न मात्रै भाडा घटेको हो। यो केही समयसम्मका लागि मात्रै रहनेछ’ ती संचालकले भने।

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले समेत हवाई भाडा घटाएर टिकट बिक्री गरिरहेको छ।निगमले ट्रंक रुट अन्तर्गत धनगढी र विराटनगर उडानमा चार हजार रुपैयाँ र २३ सय ६० रुपैयाँ भाडादर कायम गरेको जनाएको छ।'हामीले हाम्रो क्षमता अनुसार यात्रुहरुलाई यो गन्तब्यमा सुपथ मूल्यमा भाडादर निर्धारण गरेका छौँ।' निगमका प्रवक्ता गणेशबहादुर चन्दले बिजमाण्डूसँग भने।