BIZMANDU
www.bizmandu.com

तरलतामा निर्भर कारको ब्यापार, ब्याजको ‘ट्रयाप’ ले समस्या, विश्वभर नै अटो उद्योगमा मन्दी


तरलतामा निर्भर कारको ब्यापार, ब्याजको ‘ट्रयाप’ ले समस्या, विश्वभर नै अटो उद्योगमा मन्दी
तरलतामा निर्भर कारको ब्यापार, ब्याजको ‘ट्रयाप’ ले समस्या, विश्वभर नै अटो उद्योगमा मन्दी


Tata
GBIME
Nepal Life

केही दिनअघि मात्रै अटो उद्योग धरासायी बन्न लागेको भन्दै भारतमा सरकारले सुधारको प्याकेज घोषणा गर्यो। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले अटो क्षेत्रमा देखिएको मन्दीलाई सम्बोधन गरेपछि भारतमा अटो उद्योगले राहतको सास फेरेको छ। 

लामो समयदेखि भारतमा गाडी बिक्री न्यून रहँदै आएको थियो। गत जुलाई महिनामा मात्रै गाडी बिक्री ६ प्रतिशतले घटेको थियो। भारतमा धेरै उत्पादकहरुले प्लान्ट बन्द गरेको अवस्थामा पछिल्लो घोषणा गरेको प्याकेजले कम्पनी र उपभोक्ता दुबैलाई फाइदा हुने विश्लेषण भैरहेको छ। 

भारतमा सरकारले यसअघि सरकारी बिभाग तथा संस्थानहरुले नयाँ गाडी किन्न नपाउने भनेर गरेको निर्णय खारेज भएको छ भने सरकारी कार्यालयहरुलाई नयाँ गाडी किन्न प्रेरित गरिँदैछ।  यसकालागि सरकारले सबै सरकारी कार्यालयकहरुलाई पुराना गाडी पत्रुमा बेच्ने नीति बन्दैछ। 

भारतमा अर्थमन्त्रीले सन् २०२० को मार्चसम्म किनबेच हुने सवारीहरुमाथि थप ह्रासकट्टी (डिप्रिसियसन) को अनुमति समेत दिइन्। यसअघि १५ प्रतिशतमात्र ह्रासकट्टी हुने गरेकोमा अब त्यो दोब्बर भएर ३० प्रतिशतसम्ममा पुगेको छ। 

यसकासाथै सरकारले डिलरहरुले तिर्न बाँकी रहेको जिएसटी पनि ३० दिनभित्र तिरेमा छुट तथा मिनाहा गरिदिने भएको छ। यसले अटो डिलरहरुलाई पनि ठूलो राहत पुग्ने छ।

उपभोक्ताहरुका लागि पनि बढाइएको दर्ता शुल्कलाई फेरि घटाएर पुरानै अवस्थामा पुर्याइएको छ। अब बैंकले दिने अटो लोन र ब्याजदरमा समीक्षा गर्न भारतमा अटो उद्योगले माग गरिरहेको छ। 

हाल भारत मात्र नभई विश्वका ठूला अर्थतन्त्रहरुका अटोमोबाइल उद्योग यतिबेला मन्दीको अवस्थामा छन्।

अमेरिका, बेलायत, जापान, जर्मनी जस्ता गाडी उत्पादनका लागि ग्लामरस मानिएका देशहरुमा पनि धमाधम प्लान्टहरु बन्द भैरहेका छन्। अटोमोबाइल उद्योग धरासायी हुँदै जाँदा यस क्षेत्रबाट लाखौंको रोजगारी गुमिसकेको छ।

एक दशकअघिसम्म पनि गाडी उत्पादन तथा ठूलो परिमाणमा हुने विक्रीबाट अर्थतन्त्र मजबुत बनाएका देशहरु  यतिबेला बिकल्प खोज्नुपर्ने अवस्थामा पुगेका छन्। 

विश्व अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रमा देखापरेको यस्तै परिदृश्यका बीच नेपालमा  गाडीहरुको कुम्भमेला भनिने नाडा अटो शो सुरु भएको छ।

नेपालमा असर
विश्वबजार तथा भारतको अटोमोबाइल उद्योगमा छाएको मन्दीले नेपालको अटो बजार कतिको प्रभावित छ त? 

विश्व बजारमा देखिएको मन्दीले नेपाली बजारलाई छोइनसकेको नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए। अटो उद्योगमध्ये मोटरसाइकलको विक्रीमा खासै ठूलो प्रभाव नपरेको तर चार पाङ्ग्रे सवारीमा भने बैंकको तरलताका कारण बिक्रीमा असर परेको उनको भनाई छ।

'मोटरसाइकलमा ८० प्रतिशत खरिदकर्ताले सेल्फ फाइनान्स गर्छन, तर चार पाङ्ग्रेमा त्यो रिभर्स भएर ८० प्रतिशत खरिदकर्ताले बैंक फाइनान्स गराउँछन्। तरलता अभाव हुनासाथ बैंकले गाडीमा गर्ने फाइनान्सलाई रोक्छन्। फाइनान्स रोकिएपछि गाडीको बिक्रीपनि रोकिन्छ' उनले भने। 

तरलता भएपछि बैंकले ऋण लगानीका विकल्प खोज्छन्, ग्राहकलाई व्याजमा सहुलियतदेखि नयाँ नयाँ अफर पनि गर्छन्, त्यसले खरिदकर्तालाई नयाँ गाडी खरिदमा प्रोत्साहित गर्ने गोल्छाको भनाई छ।  

अर्थमन्त्रीको सुधार प्याकेजले भारतमा फेरिएको परिस्थितीभन्दा नेपालमा हालको अवस्था फरक छ। नेपालमा अर्थमन्त्रीले नै गाडी आयातलाई निरुत्साहित गर्ने नीति लिएका छन्। ब्यापार घाटा कम गर्नको लागि उच्च आयातलाई घटाउन सरकारले अटोलोनमा कडाईका साथै अन्तशुल्क बढाउने नीति लियो। यसै अनुसार ९ महिना अघि राष्ट्रबैंकले उपभोक्तालाई दिँदै आएको अटो लोनमा कडाई गर्यो। दुई वर्षअघि पनि यसैगरी अटोलोनमा कडाई गरिएपनि त्यो ६ महिनामै खुकुलो भएको थियो।  

विगतमा बैंकहरुले ९० प्रतिशतसम्म अटो लोन दिने गरेका थिए। तर हाल भने त्यो झरेर ५० प्रतिशत पुगेको छ। सवारी साधनलाई कसेपछि बीचमा सरकारी राजश्व नै प्रभावित भएकाले पछि त्यसको सीमा ६५ प्रतिशत पुर्याइएको थियो। तर डेढ बर्षअघिदेखि ६५ प्रतिशत रहेको सीमालाई फेरि ५० प्रतिशतमा झारिएको छ। विद्युतीय सवारी साधनमा लिने कर्जामा भने ८० प्रतिशतसम्म ऋण पाइन्छ।

हिमालयन बैंकका सिइओ अशोक राणा आफ्नो बैंकले अटोलोनलाई प्राथमिकतामै राखेको बताउँछन्। 'अहिले बैंकहरुमा तरलताको इश्यु छैन। हामीले किस्ता तिर्न सक्ने उपभोक्ताको क्षमता हेरेर नाडामै पनि राम्रो अफर दिइरहेका छौं।'- उनले भने। 

तर केही बैंकहरुले उपभोक्तालाई ट्रयापमा पार्ने काम गरिरहेको उनको ठहर छ। 'अहिले केही बैंकहरुमा देखिएको ट्रेन्ड के छ भने सुरुमा इन्ट्रोडक्टरी अफर भनेर कम ब्याजदर तोक्ने। उपभोक्ताले ऋण लिएपछि दुई तीनमहिनामै बढाएर ट्र्यापमा पार्ने प्रवृत्ती छ। तर ग्राहकले बुझेर कारोबार गर्यो भने अटोलोन दिने र लिने दुबै पक्षलाई कुनै मार पर्दैन।' नेपाली अटो बजारलाई प्रवर्द्धन गर्ने किसिमले नै हाल बैंकहरुले 'अटोलोन स्किम'लाई पनि आकर्षक बनाइरहेको उनले बताए।  

कसरी ओरालो लाग्दैछ विश्व अटो उद्योग?
कुनै बेला विश्वकै सबैभन्दा ठूलो औद्योगिक पावर हाउस भनिने अमेरिकामा अटोमोबाइल सेक्टर र समृद्धि परिपूरक मानिन्थ्यो। अमेरिकाको कार उद्योग त्यहाँको संस्कृति र इतिहास हुँदै विकासँसग जोडिएको हो। सन् १९८० को दशकमा पनि अमेरिका विश्वकै सबैभन्दा ठूलो कार उत्पादकका रुपमा सहज ब्यापार गरिहेको थियो। तर सन् ९० को दशकको अन्त्यदेखि अमेरिकी कार उद्योगको दुर्दिन सुरु भयो। महामन्दीले अमेरिकालाई गाँजेपछि ओरालो लागेको अटो क्षेत्रले पुरानो चमकदमक कहिल्यै फर्काउन सकेन। सन् २००८ को मन्दीले अझ त्यहाँको अटो बजारमा क्राइसिस नै ल्यायो। 

सन् २०१८ मा आइपुग्दा अमेरिकामा कारको बिक्रीमा रेकर्डसहितको गिरावट आयो।  सन् २०१९ मा पनि नयाँ कारको माग घटिरहेकै छ। होण्डा, निशान, फोर्ड र जनरल मोटर्सले यूरोपबाट हजारौं कर्मचारी कटौती गरिसकेका छन्। 

यूरोपको अवस्था झन दयनीय छ। बेलायतको अर्थतन्त्रमा अटो क्षेत्र बिगत सात वर्ष यताकै  सबैभन्दा कमजोर अवस्थामा पुगेको अध्ययनले देखाएको छ। बेलायतको मोटर उत्पादक तथा ब्यापार सोसाइटीले जारी गरेको तथ्यांक अनुसार नयाँ कारको दर्ता ४ प्रतिशतले घटेको छ। गत जुलाई महिनासम्मको यो तथ्यांक अनुसार बेलायतमा सन् २०१२ पछिको सबैभन्दा कमजोर बिक्री हो। होन्डाले बेलायतको स्विनडोनमा रहको प्लान्ट बन्द गर्ने निर्णय गरेसँगै ३५ सयले जागिर गुमाएका छन्। 

निशानले पनि बेलायतको सन्डरल्याण्डबाट आफ्नो एक्स ट्रायल एसयुभी नबनाउने भनिसकेको छ। जनरल मोटर्सले सन् २०१८ को नोभेम्बरमै विश्वभरका सातवटा प्लान्ट बन्द गरेको थियो जसबाट १४ हजार बेरोजगार भएका थिए। 

फोर्डले पनि यूरोपबाट उत्पादन घटाउँदै लगेपछि हजारौंले जागिर गुमाए। सन् २०१९ को जनवरीदेखि ज्यागुआर ल्याण्डरोभरले बेलायतमा ५ हजार कर्मचारी कटौती गरिसकेको छ। 

'यतिबेला विश्वका सबै ठाउँमा औद्योगिक मन्दी सुरु भैसकेको छ' अमेरिकी अर्थशास्त्री ज्यानेट हेनरी तथा जेम्स पोमेरोयले हालै गरेको एक अध्ययनको निष्कर्ष हो यो। अध्ययन अनुसार अमेरिकामा कारको दर्ता समग्रमा घटेको मात्रै छैन नयाँ बिक्रीमा पनि उत्साह मरेको छ।

विश्व अर्थतन्त्रमा हाल सबैभन्दा कमजोर नै उत्पादनमूलक क्षेत्र हो। सन् २०१८ को सुरुवातदेखि नै विश्वभरको उत्पादन ३.६ अंकले घटेको छ भने सेवामूलक क्षेत्रको सूचक १.६ अंकले घटेको छ। 

खासमा विश्वभर कारको मागमा किन कमी आइरहेको छ त? अमेरिका र चीनबीचको ट्रेड बारले  अन्तराष्ट्रिय अटो निर्यात तथा मागलाई घटाइरहेको देखिन्छ। अमेरिकामा वातावरणीय नीति, बढ्दो शहरीकरण, डिमान्ड कार तथा सार्वजनिक यातायातजस्ता बैकल्पिक यातायातको क्षेत्रमा ठूलो लगानी भएकाले  पर्सनल कारहरुको माग घटेको अमेरिकी अर्थशास्त्री  हेनरी तथा पोमेरोयको भनाई छ। 

अमेरिका र चीनको ट्रेड वारमात्र नभई बेलायत र यूरोपियन युनियनबीचको द्वन्दले पनि यस क्षेत्रलाई नराम्रो असर पारेको छ। ब्रेक्जिटको अनिश्चितताकाबीच कार उत्पादक कम्पनीहरुले ठूलो नोक्सान ब्यहोरिरहेका छन्।  उपभोक्ताले पनि बजारमा देखिएको अनिश्चितताका कारण खरिद स्वाट्टै घटाएका छन्। 

हालको अवस्थामा अमेरिका र चीनका अटो उद्योगले आफूलाई जोगाउन भरमग्दुर प्रयास गरिरहेपनि यूरोप र जापानको अवस्था धेरै नाजुक छ। यूरोजोन र ल्याटिन अमेरिकामा सन् २०१८ को मध्यदेखि बृद्धिको दर 'कोल्याप्स' नै भएको अध्ययनले देखाएको छ। 

नेपालको बजार कति जोखिममा?
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेल हाल विश्वमा देखिएको अटो सेक्टरको मन्दीले नेपाललाई खासै प्रभाव नपार्ने बताउँछन्। बिदेशको जस्तो अर्थतन्त्रनै थेग्नेगरीका ठूला अटो उत्पादन प्लान्टहरु नेपालमा नभएका कारण पनि नेपाली अर्थतन्त्रमा अटो उद्योगको खासै ठूलो असर नरहने उनको भनाई छ।  

'हामी जस्तो देशले गाडी उपभोगको प्रवर्द्धन गर्न परेको अवस्था नै होइन। हामीले त ब्यापार घाटा कम गर्न यसको आयातमा नियन्त्रण गर्नुपर्ने अवस्था सिर्जना भएको छ।'-उनले गाडीको आयातसँगै पेट्रोलियम पदार्थको आयात पनि उत्तिकै बढ्ने भन्दै सरकारले विद्युतीय गाडीको उत्पादन गर्न चाहिरहेकोमा त्यसैतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।   

उनका अनुसार ब्यापार घाटा कम गर्न पनि गाडी आयातमा अंकुश जरुरी थियो। 'राजस्वमा प्रेसर परेपनि हामीले अहिले नै कुनै नीति ल्याएर यसको प्रवर्द्धन गरिहाल्नुपर्ने म देख्दिन।'  उपाध्यक्ष कँडेल आवश्यक परेको खण्डमा मालवाहक र सार्वजनिक यातायातका सवारीलाई भने प्रवर्द्धन गर्नुपर्ने धारणा राख्छन्।