BIZMANDU
www.bizmandu.com

एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिनका लागि सम्झौंता, ग्रामिण क्षेत्रमा गुणस्तरीय सेवा दिने

२०७६ साउन २८

एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिनका लागि सम्झौंता, ग्रामिण क्षेत्रमा गुणस्तरीय सेवा दिने
एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिनका लागि सम्झौंता, ग्रामिण क्षेत्रमा गुणस्तरीय सेवा दिने

Tata
GBIME
Nepal Life

काठमाडौं।एनसेलले टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम संचालनका लागि धुलिखेल हस्पिटल तथा काठमाडौं युनिर्भसिटीसँग सहकार्य गरेको छ।

प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधिमार्फत ग्रामिण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सम्झौंता गरेको कम्पनीले जनाएको छ।सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र  सेवाप्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्ने जनाएको छ।

दुई वर्षका लागि यो कार्यक्रम संचालन गर्न आवश्यक पर्ने अन्य आपूर्ति र सेवा खरिदका लागि आवश्यक आर्थिक सहायता समेत दिने एनसेलले जनाएको छ। हस्पिटलका तर्फबाट चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु  दिनेछ। हस्पिटलले कार्यक्रमलाई सफलतापूर्वक संचालनका लागि तालिम र अनुगमनको काम समेत गर्नेछ।

हस्पिटलमा ‘एनसेल, धुलिखेल हस्पिटल/काठमाडौं युनिभर्सिटी हस्पिटल टेलिमेडिसिन एण्ड हेल्थकेयर इन्फर्मेटिक्स् सेन्टर’ स्थापना हुनेछ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्ग र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

हस्पिटलका निर्देशक डा. रमेश मकाजुले भने, “हाम्रो भिजन भनेको नेपालमा पहिलो हेल्थ इन्फर्मेटिक्स् सेन्टरको विकास गर्नु हो।नविन खोज गर्दै तथ्याङ्कमा आधारित विधि अपनाई बहु आयामिक दृष्टिकोणबाट स्वास्थ्य क्षेत्रको विकास गर्न खोजिएको हो।”

एनसेलका सिइओ चोङ्गले भने, “यो कार्यक्रम एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्वको फ्रेमवर्क र संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यहरु मध्येको एक भित्र पर्छ। धुलिखेल हस्पिटलले संचालन गरिरहेको सामुदायिक स्वास्थ्य केन्द्रहरुको क्षमतामा अभिवृद्धि गर्दै डिजिटल प्रविधिको प्रयोग मार्फत  विषेशतः ग्रामिण र दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव झेलिरहेका जन समुदायहरुलाई यस सहकार्यले ठूलो योगदानगर्ने हामीले आशालिएका छौं ।”

यो कार्यक्रम टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थप्रोग्राम (पिएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई संचालन हुने बताइएको छ। टेलिमेडिसिन अन्तर्गत हस्पिटलले संचालन गरिरहेको आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरेर विज्ञहरुसंग सिधै सम्पर्क स्थापित गराउने उल्लेख छ।   

कार्यक्रम ससिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु छानिएका छन् ।यी केन्द्रहरुले कुल १५ हजार भन्दा बढि घरधुरीका जन समुदायहरुलाई सेवा प्रवाह गर्छ। कार्यक्रम संचालनमा आएपछि स्थानीयहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउने छन्।