BIZMANDU
www.bizmandu.com

ललितपुर महानगरले संचालनमा ल्यायो सिड एटिएम, तरकारीको बीउ एटीएमबाट खरीद गर्न मिल्ने

२०७६ साउन २७

ललितपुर महानगरले संचालनमा ल्यायो सिड एटिएम, तरकारीको बीउ एटीएमबाट खरीद गर्न मिल्ने
ललितपुर महानगरले संचालनमा ल्यायो सिड एटिएम, तरकारीको बीउ एटीएमबाट खरीद गर्न मिल्ने

Tata
GBIME
Nepal Life

ललितपुर।नेपालमै पहिलो पटक बीउ (सिड) एटिएम सञ्चालनमा आएको छ। सो बीउ एटिएमले शहरी क्षेत्रमा कौसी खेती प्रविधिको विकास, प्राङ्गारिक तरकारी उत्पादनमा जोड, हरेक घरबाट निस्कने फोहर मलका रुपमा प्रयोग, ताजा र स्वस्थ तरकारी तथा फलफूल उत्पादनमा वृद्धि गराउने भएको छ।

ललितपुर महानगरपालिका अनुसार सो प्रविधिको प्रयोग गरी बीउबिजन खरीद गर्दा हरेक नागरिकले मेशिनमा रहेको प्रेस बटन दबाई, इच्छाएको बीउको किसिमलाई बालीको फोटोमा छनोट गरेर त्यसमा देखिएको मूल्य बराबर नयाँ नोट रु २०, ५० र एक सय छिराउनुपर्ने हुन्छ। ललितपुरमा यस प्रविधिको व्यवस्था भएसँगै गुणस्तरीय बीउबिजनको माग, मूल्यमा देखिएको असन्तुलन र करेसाबारी खेतीमा जोड, सघन खेतीका साथै वातावरणमा फाइदा पुग्ने छ।

महानगरले सो प्रविधिको फाइदा र बेफाइदाका विषयमा एक महिना अध्ययन गरी त्यसमा कुनै खराबी नपाए २९ वटै वडामा सेवा विस्तार गर्ने योजना अघि सारेको छ। हाल ललितपुरमा ४२ हजार ६०० किसान कृषिमा आधारित छन्। गतवर्ष महानगरपालिकामा नौ हजार टन तरकारी उत्पादन गरी रु ४५ करोड मूल्य बराबरको बजारबाट हासिल गरेको थियो। महानगरले यस आर्थिक वर्षभित्र त्यहाँ रहेका ६०० भन्दा बढी प्लास्टिक टनेलबाट उत्पादित अर्गानिक उपजलाई बजारमा बिक्री–वितरणका लागि ल्याउन एक प्राङ्गारिक बजार निर्माण गर्ने जानकारी गराएको छ।

महानगरप्रमुख चिरीबाबु महर्जनले आइतबार सो एटिएमको उद्घाटन गर्दै ‘हरियाली सुन्दर महानगरको अवधारणाअनुरुप’ नेपालमा पहिलो पटक बीउ एटिएम भित्र्याइएको जानकारी दिए। “महानगरमा दैनिक आउने ५०० देखि एक हजार नागरिकलाई गुणस्तरीय र सुलभ मूल्यका साथ मौसमी र बेमौसमी बीउबिजन उपलब्ध गराउन सो प्रविधिले सहयोग गर्नेछ”, उनले भने, “यो प्रविधि भारतको तामिलनाडुबाट रु नौ लाखमा बीउसहित खरीद गरेर ल्याएका हौं।”

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले सो प्रविधिबाट झिकिएको बीउमा कुहिने, बाला र घोगा नलाग्ने, कीरा लाग्ने तथा समयमै उम्रने समस्या नहुने विश्वास दिलाए। महानगरका कृषि शाखाप्रमुख केशव अधिकारीले बिट अटोमेशन कम्पनीको सो एटिएमले महानगरले सिफारिस गरेको गुणस्तरीय बीउ मात्र उपलब्ध गराउने बताए। महानगरपालिकाका आर्थिक विकास शाखा संयोजक रवीन्द्र महर्जनले महानगरका जनतालाई सहकारी, सामूहिक र थोपा कृषिमा अघि बढाउने लक्ष्यअनुरुप सो प्रविधि भित्र्याइएको जानकारी दिए।

उनले महानगरका १० वडामा विभिन्न किसिमका खेती गरेर बसेका किसानको ‘हरभरा महानगर, प्राङ्गारिक तरकारी बजार’ नारालाई व्यावसायिक र थप मर्यादित बनाउन सो प्रविधिबाट झिकिएका बीउबिजनले सहयोग पुर्याउने बताए।महानगरका प्राविधिक विजय खड्काले सो प्रविधिमा भण्डारण गरिएका बीउबिजन लगनखेलको सक्कल एग्रो एण्ड सिड ट्रेडर्सलाई जिम्मा दिइएको बताए।

उनले भने, “कम्पनीले सार्वजनिक, निजी र साझेदारी सम्झौता अनुरुप सङ्कलन भएको रकममा दुई प्रतिशत हिस्सा महानगरको राजश्वमा जम्मा गर्ने सहमतिअनुरुप काम गर्नेछ।” सो प्रविधिले ३६ किसिमका तरकारी र फूलका बीउहरु आपूर्ति गर्ने बताइएको छ।