BIZMANDU
www.bizmandu.com

शेयर बजारले लगानीकर्तालाई निराश पार्यो, ३१ करोडको कारोबारमा रसुवागढी र सान्जेनको अग्रता

२०७६ साउन २६

Tata
GBIME
Nepal Life

काठमाडौं। साताको पहिलो दिननै शेयर बजारले लगानीकर्तालाई निराश पारेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ४.८४ अङ्कले घटेर १२३३.७१ अंकमा ओर्लिएको छ।

गत बिहीबार करिब नौ अङ्कले घटेको बजार साताको पहिलो दिननै करिब पाँच अङ्कले घटेपछि लगानीकर्ता निराश भएका छन्।

सरकारले पुँजीगत लाभकर तीन दिनमै टुङ्ग्याउने आश्वासन दिएपनि त्यसको नतिजा आइतबारसम्म पनि नआएपछि बजार घटेको लगानीकर्ताहरूले बताएका छन्।

अर्थ मन्त्रालयले तीन दिनमै शेयरको पुँजीगत लाभकर टुङ्ग्याउन नेपाल धितोपत्र बोर्डलाई आश्वासन दिएको थियो।त्यसपछि लगानीकर्ता थोरै उत्साहित देखिएका थिए। तर उक्त विषयको समाधान अझै निस्किएको छैन जसको कारण शेयर बजार प्रभावित हुँदै आएको इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए।

आइतबार १ सय ६६ कम्पनीका ११ लाख ४५ हजार कित्ता शेयर ३१ करोड १७ लाख रुपैयाँमा खरिद बिक्री भएको छ।कारोबार रकमकै आधारमा रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीले अग्रता लिएका छन्।

दुवै कम्पनीको शेयर १० धरै कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो र दोस्रो भएको छन्। आइतबार रसुवागढीको मात्रै चार करोड ५९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ भने सान्जेनको दुई करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो। सान्जेनको मूल्य बढेको छ भने रसुवागढीको मूल्यमा भने कुनै परिवर्तन भएन।   

आइतबार कारोबारको सुरुवात देखिनै शेयर बजार घटेको थियो। १२३८ अंकबाट सुरु भएको बजार एक बजेसम्म आठ अङ्क घटेर १२३० अंकमा ओर्लिएको थियो। त्यसपछि थोरै सुधार देखिएको बजारले कारोबारको अन्त्य सम्मनै वृद्धि कायम गर्न भने सकेन।

उपसूचक मिश्रित देखिएका छन्। १२ समूहको कारोबारमा पाँच समूहको उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेका छन्।
सबैभन्दाबढि ट्रेडिङ् समूहमा ५.३४ प्रतिशतको वृद्धि देखिएको छ। जलविद्युत समूहको उपसूचक ०.५७ प्रतिशतले घटेको छ।