BIZMANDU
www.bizmandu.com

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स: शेयर बजार गाउँसम्म पुग्ने, दोस्रो कारोबारमा सुधार हुने

२०७६ साउन २५

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स: शेयर बजार गाउँसम्म पुग्ने, दोस्रो कारोबारमा सुधार हुने
बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स: शेयर बजार गाउँसम्म पुग्ने, दोस्रो कारोबारमा सुधार हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। ब्रोकर कम्पनीको लामो अवरोधलाई चिर्दै बैंकका सहायक कम्पनीलाई ब्रोकर सेवा दिन बाटो खुलेको छ।बैंकका सहायक कम्पनीले ब्रोकरको सेवा दिन सुरु गरेपछि शेयर बजारमा कस्तो प्रभाव पर्छ? सहायक कम्पनीले गाउँसम्म पुगेर शेयर कारोबार गर्नसक्ने सम्भावना बढी रहने भएकाले बजार विस्तार हुने विश्लेषकहरु बताउँछन्।

शेयर बजार अहिले शहर र शहरउन्मुख केही क्षेत्रमा मात्रै सीमित छ।ब्रोकर कम्पनीले आफ्ना सेवा गाउँसम्म पुर्याउन सकेका छैनन्।जलविद्युत आयोजना बन्न थालेसँगै स्थानीयलाई शेयर बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थाले गाउँमा शेयरको केही पहुँच पुगेको हो।त्यो पनि जलविद्युत कम्पनीको हो।यसअघि कृषि विकास बैंकको शेयरले समेत गाउँसम्म जोडेको हो।

देशको राजधानी र मोफसलका १७ सहरबाट मात्रै सीमित रहेको बजारमा बैकका सहायक कम्पनीको प्रवेशले ७७ जिल्लामा कारोबार विस्तार हुने अपेक्षा लगानीकर्ताको छ। दुरदराजका लगानीकर्ताको प्रवेशले शेयर कारोबार समेत वृद्धि हुने पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।अर्यालका अनुसार दोस्रो बजारमा बैकको प्रवेशले शेयर कारोबारमा जनताको सहभागिता बढ्नेछ।

प्राथमिक शेयरमा अपनाइएको सी-आश्वाकै मोडलमा कारोबार हुने अपेक्षा लगानीकर्ताले गरिरहेका छन्। त्यो मोडलमा कारोबार भए लगानीकर्तालाई सहज अवस्था आउने अर्यालको जिकिर छ।हाल प्राथमिक बजारमा बैक मार्फत लगानीकर्ताले ७७  जिल्लाबाट आवेदन गर्न सक्छन्।स्थानीय तहमा खुलेका बैकले उपलब्ध गराएको सी-आस्वाको माध्यमबाट गाउँ/सहर जाहा सुकै बाट शेयर खरिद गर्न सकिन्छ। तर शेयर बिक्री गर्न भने लगानीकर्ताले सदरमुकाम वा शहरनै धाउनुपर्ने बाध्यतात्मक अवस्था छ।

१० कित्ता शेयर बिक्री गर्न लगानीकर्ताले निकै लामो दूरी पार गर्नुपर्ने भएकोले ग्रामीण क्षेत्रका लगानीकर्ताले किनेको शेयरको किनबेच कम हुन्छ। शेयर कारोबार गर्ने सहज वातावरण नभएकै कारण दोस्रो बजारमा लगानीकर्ताको प्रवेश न्यून रहेको अर्यालको तर्क छ।आर्थिक वर्ष २०७३/७४ र ७४/७५ मा कर्णाली प्रदेशमा शेयर कारोबारनै भएन।

ब्रोकर कम्पनी नभएको कारण कर्णाली प्रदेशमा शेयर कारोबार भएको थिएन। तर चालु आर्थिक वर्षबाट ब्रोकर कम्पनीले सेवा दिन थालेपछि दैनिक डेढ लाखको हाराहारीमा शेयर कारोबार हुन थालेको छ। पहुँच विस्तार भएपछिमात्रै लगानीकर्ताको उपस्थिति हुने यही उदाहरण काफी छ।तर शेयर बिक्री गर्न भने सदरमुकामनै धाउनुपर्ने वाध्यताले कारोबार बढ्न सकेको छैन।

कर्णाली प्रदेशमै १० जिल्ला छन्। सबै जिल्लाका मानिसले शेयर बिक्री गर्न सदरमुकाम सुर्खेत आउनु पर्छ। प्राथमिक शेयर भने स्थानीय तहमै खुलेका बैकका १२३ शाखाबाट आवेदन दिन सक्छन्।कर्णालीमा मात्रै १५ हजार भन्दा बढी लगानीकर्ताले शेयर कारोबार गर्न हितग्राहि खाता खोलिसकेको केन्द्रीय निक्षेप प्रणालीले जनाएको छ।

ती सबै लगानीकर्ता दोस्रो बजारमा भने आएका छैनन्।दोस्रो बजारमा कारोबार गर्न नेप्सेको कारोबार प्रणालीमा आबद्ध हुनुपर्ने भएकोले उनीहरू कारोबार गर्न नआएका हुन्।ब्रोकर कम्पनी मार्फत मात्रै लगानीकर्ता नेप्सेको कारोबार प्रणालीमा आबद्ध हुन सक्छन्।जुन सुविधा आउने ब्रोकर कम्पनीले उपलब्ध गराए तीनै बैकका शाखाहरूबाट कारोबार गर्न सकिने छ।आवेदन दिएकै बैकबाट शेयर बिक्री गर्ने वातावरण बनेपछि लगानीकर्तालाई थप सजिलो बनाउने अर्यालले बताए।

सबै जिल्लाबाट कारोबारका लागि लगानीकर्ता भित्रिएपछि दोस्रो बजारमा शेयरको माग समेत बढ्ने छ।सूचीकृत शेयरको तुलनामा कारोबार हुने शेयरको सङ्ख्या न्यून छ।वर्षभरिमा अधिकतम करिब १४ प्रतिशत शेयर मात्रै दोस्रो बजारमा कारोबारकोलागि आउने गरेका छन्।नयाँ आउने ब्रोकर कम्पनीले त्यो सङ्ख्या बढाउन समेत मद्दत गर्ने अर्यालले बताए।