BIZMANDU
www.bizmandu.com

घरजग्गाको संस्थागत कारोबारमा हट्यो पुँजीगत लाभकर, अब बिक्री मूल्यको १.५ प्रतिशत कर

२०७६ साउन ५

घरजग्गाको संस्थागत कारोबारमा हट्यो पुँजीगत लाभकर, अब बिक्री मूल्यको १.५ प्रतिशत कर
घरजग्गाको संस्थागत कारोबारमा हट्यो पुँजीगत लाभकर, अब बिक्री मूल्यको १.५ प्रतिशत कर


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले घरजग्गा कारोबारमा उठाउँदै आएको पुँजीगत लाभकरलाई हटाएको छ। व्यवसायिक रियल इस्टेट कम्पनी तथा अन्य संस्थाहरुले बिक्री गर्ने घरजग्गामा १० प्रतिशत लाग्दै आएको अग्रिम पुँजीगत लाभकर हटाउँदै यसको सट्टा निःसर्ग (बिक्री) मूल्यमा १.५ प्रतिशत अग्रिम कर लाग्ने नयाँ व्यवस्था लागू भएको हो। 

अब संस्थाले आफ्नो नाममा भएको सम्पत्ति (घरजग्गा) व्यक्ति वा संस्थालाई बिक्री गर्दा पुँजीगत लाभकर तिर्नुपर्ने छैन। यस्तो कारोबारमा मालपोत रजिष्ट्रेशनका दौरान डेढ प्रतिशत अग्रिम कर तिर्दा पुग्ने भएको छ।

चालु आर्थिक वर्षबाट लागू हुनेगरि भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरुलाई यससम्बन्धी परिपत्र जारी गरिसकेको छ। 

‘व्यक्तिबाहेक अरु जुनसुकै कम्पनी वा संघसंस्थाको कारोबारमा थैली रकममै १.५ प्रतिशत अग्रिम कर लाग्छ,’ विभागका महानिर्देशक गोकर्णमणी दुवाडीले भने, ‘व्यक्ति व्यक्तिको कारोबारमा पूरानै लाभकर यथावत छ।’

व्यक्तिको नाममा भएको घरजग्गा व्यक्ति वा संस्थालाई बिक्री गर्दा पाँच वर्ष वा सोभन्दा कम अवधिमा बिक्री गरेको घरजग्गाको पुँजीगत लाभ (खरिद र बिक्री मूल्यबीचको अन्तर रकम) मा पाँच प्रतिशत र पाँच वर्षभन्दा पूरानो स्वामित्व भएको घरजग्गा बिक्रीमा साढे दुई प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ ।

चालु आर्थिक वर्षको बजेटबाटै अर्थमन्त्री खतिवडाले व्यवसायिक कम्पनीहरुले गर्ने घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरलाई घटाउने उल्लेख गरेका थिए। 

चालु आवको आर्थिक विधेयकमा यससम्बन्धी व्यवस्था गर्दै अर्थमन्त्री खतिवडाले १० पुँजीगत लाभकरको व्यवस्था नै हटाएर निःसर्ग मूल्यमा डेढ प्रतिशत मात्र अग्रिम कर तिर्नुपर्ने गरी घरजग्गा व्यवसायीहरुलाई ‘राहत’ दिएका हुन्।
 
यसअघि सम्बन्धित रियल इस्टेट कम्पनी वा व्यक्तिहरुले घरजग्गा बेचेपछि प्राप्त गर्ने पूँजीगत लाभमा दश प्रतिशत अग्रिम कर तिर्नुपर्ने व्यवस्था थियो। सरकारले लाभमा नभइ बिक्री मूल्यलाई आधार बनाएर कर असुल्ने प्रावधान गरेको बताइएको छ। 

आयकर ऐन २०५८ को दफा ९५ (क) को उपदफा (६) मा भएको दश प्रतिशत पुँजीगत लाभकरको व्यवस्था आर्थिक ऐन २०७६ मार्फत संसोधन गर्दै निःसर्ग मूल्यमा अग्रिम करको नयाँ प्रावधान ल्याइएको हो। 
 
यसअघि सरकारले रियल इस्टेट कम्पनीहरुलाई आय करसँगै पुँजीगत लाभकरसमेत अग्रिम उठाउँदा दोहोरो करको मारमा परेको भन्दै घरजग्गा व्यवसायीहरुले असन्तुष्टी जनाउँदै आएका थिए। यसबाट उत्पन्न विवाद अख्तियारसम्म पुगेको थियो। देशका केही मालपोत कार्यालयहरुले घरजग्गा बिक्रीमा रियल इस्टेट कम्पनीहरुबाट आय करसँगै पुँजीगत लाभकर पनि असुल्दै आएका थिए। 

यसअघिको १० प्रतिशत अग्रिम पुँजीगत लाभकरको व्यवस्थाले आफूले विकास गरेका वा बिक्रीमा चढाएका घरजग्गा किनबेच नै प्रभावित भएको समेत डेभलपर कम्पनीहरुको जिकिर थियो।

घरजग्गा कारोबारका सम्बन्धमा नयाँ संशोधित नीतिपछि दोहोरो करको मार र किनबेच प्रभावितको आरोप लगाउँदै सरकारसँग तीव्र असन्तुष्टि जनाएका रियल इस्टेट व्यवसायीहरुलाई राहत मिल्नेछ।  

रियल इस्टेट कम्पनीले २५ प्रतिशत कर्पोरेट आय कर तिरिरहेका छन्। साथै यसअघि १० प्रतिशत अग्रिम  पुँजीगत लाभकर तिर्नुपर्ने हुँदा त्यो कर्पोरेट करभन्दा पनि बढी हुने भन्दै व्यवसायीहरुले सच्याउन सरकारलाई आग्रह गरेका थिए। सरकारले घरजग्गा व्यवसायीहरुको ‘आग्रह’लाई सुन्दै अग्रिम करको दर (१० प्रतिशत) लाई साढे एक प्रतिशतमा झारेपछि उनीहरुले सोचेभन्दा राम्रो सहुलियत पाएका छन्।