BIZMANDU
www.bizmandu.com

हिमालयन बैंकको एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र साउनमा, १० % व्याजदरमा लगानी गर्ने अवसर

२०७६ असार २६

हिमालयन बैंकको एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र साउनमा,  १० % व्याजदरमा लगानी गर्ने अवसर
हिमालयन बैंकको एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र साउनमा, १० % व्याजदरमा लगानी गर्ने अवसर

Tata
GBIME
Nepal Life

काठमाडौं। हिमालयन बैंकले सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र साउन २  गतेदेखि निष्काशन गर्ने भएको छ। बैंकले १० प्रतिशत व्याजदरमा ‘हिमालयन बैंक डिबेन्चर २०८३’ छिटोमा साउन ६ गतेसम्म निष्काशन गर्नेछ।

यदि पहिलो चरणमा बिक्री नभए ढिलोमा साउन ३१ गतेसम्म निष्काशन गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। ऋणपत्रमा आवेदन आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिनेछ। सर्वसाधारणले प्रति डिवेन्चर १००० रुपैयाँको दरमा न्युनतम २५ कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन्।

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार बैंकले प्रयाप्त सुरक्षाको आधार जनाउने ‘केयर एनपि सिङगल ए’ प्राप्त गरेको छ।सवल संस्थागत लगानीकर्ता, अनुभवी व्यस्थापन समूह तथा पर्याप्त पूँजीकरणका कारणले बैंकले राम्रो रेटिङ प्राप्त गरेको हो। हिमालयन बैंकले विगत २७ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको छ। पाकिस्तानको हविव बैंकको ज्वाइन्ट भेन्चरको रुपमा बैंकको स्थापना भएको थियो।

बैंकको ५७ वटा शाखा कार्यालय रहेको छ। समग्र बाणिज्य बैंकहरुको व्याज आम्दानी मध्ये हिमालयनको हिस्सा ३.९८ प्रतिशत रहेको छ। बैंकको संस्थापक शेयर पूँजी ८५ प्रतिशत छ भने सर्वसाधारण तर्फको शेयर पूँजी १५ प्रतिशत रहेको छ।

बैंकले यसअघि ८ प्रतिशत व्याजदरमा ७५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो। बैंकले ७५ करोड रुपैयाँ ऋणपत्र निष्काशन गरेको भए पनि ६० करोड रुपैयाँ मात्रै बिक्री भएको थियो।यो अवधि आगामी वर्षमा सकिदै छ। यो ऋणपत्रको अवधि सकिन लागे सँगै कम्पनीले एकै पटक तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ७४ करोड रुपैयाँ छ। ऋण लगानी तथा निक्षेप संकलन अनुसार पूँजी कोष अनुपात ११.८२ प्रतिशत रहेको छ। पूँजीकोष अनुपात व्यवस्थापनको लागि पनि कम्पनीले ऋणपत्र निष्काशन गर्न लागेको हो। पछिल्लो समय बाणिज्य बैंकले दिर्घकालिन पूँजीकोष व्यवस्थापनका लागि ऋणपत्र निष्काशन गर्न थालेका हुन्। नियम अनुसार बैंकहरुले जम्मा निष्काशनको ४० प्रतिशत ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नुपर्ने हुन्छ।