BIZMANDU
www.bizmandu.com

स्ट्यान्डर्ड चार्टर्ड बैंक मर्जरमा नजाने, भन्यो- हाम्रो चरित्र नै फरक हो, मौद्रिक नीति कुर्दै

२०७६ असार २५

स्ट्यान्डर्ड चार्टर्ड बैंक मर्जरमा नजाने, भन्यो- हाम्रो चरित्र नै फरक हो, मौद्रिक नीति कुर्दै
स्ट्यान्डर्ड चार्टर्ड बैंक मर्जरमा नजाने, भन्यो- हाम्रो चरित्र नै फरक हो, मौद्रिक नीति कुर्दै


Tata
GBIME
Nepal Life

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले मर्जरका बारेमा आफ्नो धारणा सार्बजनिक गर्दै अरु बैंकलाई नमिसाउने जनाएको छ। नेपाल राष्ट्र बैंकलाई मंगलबार चार्टर्डले पत्र लेख्दै विदेशी बैंकलाई अलिकति छुट्टै ब्यवहार गर्न आग्रहसमेत गरेको छ।

अहिलेसम्म १८ वटा बाणिज्य बैंकले मर्जर बारे आफ्नो धारणा राष्ट्र बैंकलाई बुझाएका छन्। अधिकांसले मर्जरमा जाने भनेर प्रतिबद्धता जनाए पनि केही बैंकले 'रिजर्भेसन' राखेका छन्।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीति अघि नै मर्जरको प्रतिबद्धता गर्न सबै बैंकलाई निर्देशन दिएका थिए। निर्देशनपछि चार्टर्ड उच्च ब्यवस्थापनले गभर्नर नेपाललाई भेटेर आफ्नो धारणा सुनाएको थियो।

'५१ प्रतिशतभन्दा माथि शेयर चार्टर्ड ग्रुपको छ। हाम्रो ब्यापार पद्धति पनि फरक छ। नेपाली बैंक मर्जरका लागि हामीलाई सुहाउँदो छैनन्' चार्टर्ड ब्यवस्थापनको भनाइ उदृत गर्दै राष्ट्र बैंक स्रोतले भन्यो, 'त्यसैले हामीलाई अलिक फरक ब्यवहार गरिनु पर्छ।' चार्टर्ड ब्यवस्थापनले २/३ पटक नै गभर्नरलगायत राष्ट्र बैंक उच्च अधिकारीहरुलाई भेटेको थियो।

त्यसलगत्तै चार्टर्डले मंगलबार औपचारिक पत्र लेख्दै मर्जरमा 'रिजर्भभेसन' राखेको हो। 

'मर्जरका बारेमा हामीले हाम्रो धारणा राष्ट्र बैंकलाई जानकारी गराइसकेका छौं' चार्टर्डकी कर्पोरेट मामिला प्रमुख प्रनु सिंहले भनिन्।

२० प्रतिशत बिदेशी लगानी रहेको हिमालयन बैंकले पनि मर्जरका लागि प्रष्ट अवधारणा राखेको छैन। आँफैमा ठूलो आधार रहेकाले मर्जर आवश्यक छैन भन्ने आशयको पत्र हिमालयन बैंकले पठाएको छ। नेपाल एसबिआइ बैंकले पनि मर्जर गर्छु नै भनेर पत्र लेखेको छैन।

'बैंकर्स संघमा भएको छलफल अनुसार मर्जर समिति गठन गर्ने बिषय सबैले उल्लेख गरेका छन्' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'केही बैंकले मर्जर आफ्नो प्राथमिकतामा नरहेको जनाएका छन्।'

बंगलादेशी बैंकको लगानी रहेको नेपाल बंगलादेश बैंकले मौद्रिक नीति कुर्ने निर्णय गरेको छ। मौद्रिक नीतिमा के कस्ता सुविधाका प्याकेज आउँछन् त्यही अनुसार मर्जर रणनीति लिने  अनौपचारिक जानकारी गराइसकेको छ। बैंकले यस अवधिमा केही संस्थासँग कुराकानी पनि गरेको थियो, तर बंगाली लगानीकर्ताले कुर्न भनेपछि स्थगित भएको छ।

बुधबारसम्म एनएमबी, सनराइज, सिटिजन्स बैंक इन्टरनेशनल, लक्ष्मी, एनसिसी, सानिमा, सिभिल, माछापुच्छ्रे, सेञ्चुरी, एसबिआइ, ग्लोबल आइएमइ, जनता, नेपाल इन्भेष्टमेन्ट, एनआइसी एसिया, हिमालयन, कुमारी, मेगा, प्रभु र चार्टर्डले राष्ट्र बैंकलाई मर्जर बारे पत्र लेखेका छन्।

विकास बैंकतर्फ साङ्गिला, महालक्ष्मी र सहयोगी विकास बैंकले पत्र लेखेका छन्। फाइनान्स कम्पनीलाई मर्जरमा जान नभनिएकाले कसैले पनि पत्र नलेखेको फइनान्स कम्पनी संघका एक पदाधिकारीले बताए।

बाणिज्य बैंकतर्फ तीन सरकारी बैंकका साथै नबिल, एनबी, सिद्धार्थ, बैंक अफ काठमाण्डूलगायतले मर्जर बारे आफ्नो धारणा राखेका छैनन्। 

राष्ट्र बैंक पनि चार्टर्ड र एसबिआइलाई मर्जरमा बाध्य नपार्ने रणनीतिमा छ। विदेशी लगानी रहेका बाँकी बैंकलाई भने मर्जरमा लैजाने राष्ट्र बैंक उच्च स्रोतले जानकारी दियो।