BIZMANDU
www.bizmandu.com

आँधिखोला लघुवित्तको आइपिओमा ११ गुणा आवेदन, आज अन्तिम, हिमाल दोलखाको शेयर खुल्यो

२०७६ असार २५

आँधिखोला लघुवित्तको आइपिओमा ११ गुणा आवेदन, आज अन्तिम, हिमाल दोलखाको शेयर खुल्यो
आँधिखोला लघुवित्तको आइपिओमा ११ गुणा आवेदन, आज अन्तिम, हिमाल दोलखाको शेयर खुल्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। आँधिखोला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर आजेदखि बन्द हुने भएको छ। 

हिमाल दोलखा हाइड्रोपावरको प्राथमिक शेयर भने आजदेखि निष्काशन खुला भएको छ। 

आँधिखोला लघुवित्तले सर्वसाधारणतर्फ निष्काशन गरेको तीन दिनमै ११ गुणाभन्दा बढीको आवेदन परेको छ। मंगलबारसम्ममा दुई लाख ६४ हजार भन्दा धेरै आवेदकले ४६ लाख ३८ हजार कित्ताको लागि आवदेन दिएका छन्। 

संस्थाले सर्वसाधारण तर्फको चार लाख कित्तामध्ये तीन लाख ७५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको छ। सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर मार्फत अनलाइन आवदेन दिन सक्ने छन्। 

प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ। जसमा संस्थापकतर्फ ६० प्रतिशत अर्थात छ करोड रुपैयाँ र सर्वसाधारण तर्फ ४० प्रतिशत अर्थात चार करोड रुपैयाँ कायम हुनेछ।  

केन्द्रीय कार्यालय स्याङ्जा रहेको संस्थाको कार्यक्षेत्र १० वटा जिल्लामा रहेको छ। हाल १९ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ। हाल संस्थाको कायम चुक्ता पूँजीका आधारमा प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ। आगामी तीन आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ३७ रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण छ।  

त्यस्तै हिमाल दोलखा हाइड्रोपावरले आजदेखि सर्वसाधारणतर्फको ७६ लाख ७२ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारण शेयर मध्ये एक लाख ५३ हजार कित्ता कर्मचारीहरुको लागि, २५ हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी ७४ लाख ९३ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो। 

कम्पनीले छिटोमा असार २९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा साउन २४ गतेसम्म निष्काशन गर्ने छ। सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। प्राथमिक शेयरमा आवेदन आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिनेछ। 

कम्पनीले इलाम जिल्लामा ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासेड जलविद्युत आयोजना निर्माण गरेको छ। दुबै आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेका छन्। 

माई खोलाको कुल लागत ७२ करोड ५१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागि १६ करोड ११ लाख रुपैयाँ छ। त्यस्तै माई साना क्यासेडको कुला लागत एक अर्ब ४२ करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ८० लाख रुपैयाँ लागेको कम्पनीले जनाएको छ। 

कम्पनीको जारी पूँजी एक अर्ब ६० करोड रुपैयाँ रहेको छ। जारी पूँजीको ५१.२५ प्रतिशत अर्थात ८२ करोड रुपैयाँ उठाइसकेको छ। सर्वसाधराण समुह तर्फको १० प्रतिशत अर्थात १६ करोड रुपैयाँ प्रभावित क्षेत्रका बासिन्दाबाट उठाउने छ भने बाँकी ३८.७५ प्रतिशत अर्थात ६२ करोड रुपैयाँ सर्वसाधारणबाट उठाउने योजना बनाएको छ। 

दुई आयोजनाको जम्मा लागत दुई अर्ब १४ करोड रुपैयाँ छ। जसमा शेयर पूँजीबाट एक अर्ब ६० करोड रुपैयाँ जुटाउनेछ। आयोजनाको जम्मा लागतको ७४.४२ प्रतिशत शेयर पूँजीबाट जुटाउदा भोलिका दिनमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ भन्दा तल रहने देखिन्छ।कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ।