BIZMANDU
www.bizmandu.com

‘माथिको आदेश’ मा धूलो दूधको आयातमा अघोषित प्रतिबन्ध, डिडिसी र सुजलले पनि दिएनन् 


‘माथिको आदेश’ मा धूलो दूधको आयातमा अघोषित प्रतिबन्ध, डिडिसी र सुजलले पनि दिएनन् 
‘माथिको आदेश’ मा धूलो दूधको आयातमा अघोषित प्रतिबन्ध, डिडिसी र सुजलले पनि दिएनन् 


Tata
GBIME
Nepal Life

विराटनगर। बिस्कुट, कन्फेक्सनरी, मिल्क सेक, इनर्जी ड्रिङ्क्स तथा जुसहरूले कच्चापदार्थका रूपमाप्रयोग गर्ने धूलो दूध पाउडरको अभाव भएको छ। नेपाली उद्योगहरुले कच्चा पदार्थका रूपमा चिल्लो पदार्थ निकालिएको धूलो दूध अर्थात् स्किम्ड मिल्क पाउडर (एसएमपी) प्रयोग गर्दै आएका छन्।

एसएमपीको आयातमा सरकारले अघोषित प्रतिबन्ध लगाएको उद्योगीहरूको बुझाइ छ। नेपालमा दुग्ध विकास संस्थानको विराटनगर र पोखराको सुजल डेरीले एसएमपी उत्पादन गर्ने भए पनि उद्योगलाई विक्री गर्ने माल छैन भनिरहेका छन्।

गुडलाइफ बिस्कुटका सञ्चालक महेश जाजूका अनुसार कुनै पनि खाद्य वस्तुको आयात गर्न नेपालमा खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागको अनुमति लिनु आवश्यक छ। तर विगत ६ महिनादेखि विभागले धूलो दूधको आयातका लागि अनुमति दिइरहेको छैन।

‘हामीले धूलो दूध बजारमा विक्री गर्ने होइन, उद्योगमा कच्चा पदार्थका रूपमा प्रयोग गर्ने हो भनेर स्पष्ट पार्दा पनि आयातको अनुमति पाइरहेका छैनौँ’, उद्यमी जाजूले भने, ‘विभागका अधिकारीहरू हामीलाई माथिको आदेश नै यस्तै छ, अनुमति दिन मिल्दैन भन्नु हुन्छ।’

नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भइसकेको अवस्थामा कुनै पनि उद्योगको कच्चा पदार्थको आयातलाई यसरी अघोषित प्रतिबन्ध गर्न नपाइने जाजूको तर्क छ।

‘स्वदेशी उद्योगलाई संरक्षण र प्रोत्साहन गर्ने भन्ने सरकारको नीति र एसएमपीको आयातमा गरिएको अघोषित बन्देजका बिच तादात्म्य छैन’, उनको आग्रह छ, ‘एउटा उद्योगले कति एसएमपी खपत गर्छ त्यति परिमाणमा आयात गर्न दिइनु पर्छ, नभए स्वदेशमा नै उपलब्ध गराइनु पर्छ।’

खाद्य प्रविधि र गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले नेपाल दूध र धूलो दूधमा समेत आत्मनिर्भर भइसकेकाले यसको आयातका लागि अनुमति नदिएको स्पष्ट पारे। 

‘अन्तर्राष्ट्रिय बजारमा एसएमपी सस्तो छ, यता नेपालमा कति फालाफाल दूध छ भने किसानले मिल्क होलीडे मनाइरहेका छन्’, प्रवक्ता महर्जनले भने, ‘अन्तर्राष्ट्रिय बजारको सस्तो र न्यून गुणस्तरको एसएमपी यहाँ आयात गरेर निजी डेरीले दूध बनाएर विक्री गर्छन् भनेर त्यसको अनुमति बन्द गरिएको हो। माथिको आदेशले हामीले बन्द गरेका हौँ, उद्योगका हकमा अनुमति दिनू भन्ने निर्देशन आयो भने दिनेछौँ।’

उनले उद्योगलाई कच्चा पदार्थका रूपमा एसएमपीको आयात गर्न दिने कि नदिने भन्ने विषयमा मन्त्रालयमा छलफल चलिरहेको हुँदा त्यहाँबाट निर्देशन आउन सक्ने सम्भावना व्यक्त गरे।

दुग्ध विकास संस्थान विराटनगरका प्रबन्धक नीलकण्ठ गौतमले हाल संस्थानको मौज्दातमा नै एसएमपी पर्याप्त नभएको उल्लेख गरे।

प्रबन्धक गौतमले भने, ‘हामीसित दुई सय मेट्रिक टन जति एसएमपी होला। त्यो एसएमपी संस्थानका विभिन्न शाखामा दूध उत्पादनका लागि आवश्यक पर्छ। त्यसैले उद्योगहरूलाई विक्री नगरिएको हो।’

साउन महिनापछि संस्थानको एसएमपी उत्पादनमा वृद्धि हुने र उद्योगलाई पनि विक्री गरिने उनले जानकारी दिए। 

संस्थानले प्रति किलोग्राम मूल्य अभिबृद्धि करसहित ५ सय रुपैयाँका दरले एसएमपी विक्री गर्ने गौतमले बताए।

क्वालिटी बिस्कुट र क्वालिटी कन्फेक्सनरीका सञ्चालक श्याम काबराले ६ महिनाअघि प्रति किलोग्राम ३ सय ५० मा खुला बजारमा पाइने एसएमपीको मूल्य हाल अभावका कारण प्रति किलोग्राम ७ सयभन्दा बढी परिरहेको दाबी गरे।

अझै एक महिना एसएमपीको आयात खुला गरिएन भने र नेपालका डिडिसी र सुजल डेरीले विक्री गरेनन् भने धूलो दूधमा आधारित खाद्य उत्पादन बन्द हुने काबराको भनाइ छ।