BIZMANDU
www.bizmandu.com

मानसरोबरलाई लक्षित गर्दै नेपालगंजमा होटलमा अर्बौ लगानी, तीन महिना मात्रै खचाखच अरु बेला सुनसान

२०७६ असार २१

मानसरोबरलाई लक्षित गर्दै नेपालगंजमा होटलमा अर्बौ लगानी, तीन महिना मात्रै खचाखच अरु बेला सुनसान
मानसरोबरलाई लक्षित गर्दै नेपालगंजमा होटलमा अर्बौ लगानी, तीन महिना मात्रै खचाखच अरु बेला सुनसान


काठमाण्डौं । मानसरोवर यात्राको मौसममा नेपालगंजका होटल खचाखच हुन्छ। जेठदेखि भदौ महिनासम्म रहने मान सरोवर यात्राको मौसममा होटल, यातायात, हवाई उडान सेवा प्रदायक, स्थानीय रेष्टुरेन्ट, बजार, भरिया, टुर गाइड, ट्राभल एजेन्सी सबैलाई भ्याइ नभ्याइ हुन्छ।

Tata
GBIME
Nepal Life

यात्राको लागी आउने भारतीयहरु तीन दिनदेखि सात दिनसम्म स्थानीय होटलमा बास बस्छन्। मौसमी गडबढीका कारण नेपालगंज विमानस्थलबाट पूर्व निर्धारित समयमा हवाई उडान हुन नसक्दा पर्यटकको होटल बसाई लम्बिने गरेको छ।मानसरोवर यात्राको लागी आउने भारतीय पर्यटकलाई नै लक्षित गर्दै नेपालगंजमा ठूलो लगानीमा नयाँ होटल खोल्ने र पुरानाको स्तरोन्नती गर्ने कार्य भइरहेको छ। गतवर्षदेखि पाँच तारे होटल सोल्टी वेस्ट एण्ड र सेन्ट्रल प्लाजा संचालनमा आएका छन्। संचालनको पहिलो वर्ष चार तारेबाट सेवा शुरु गरेका यी दुबै होटलले गत माघमा पाँच तारेको मान्यता पाएका हुन्।

होटल सिद्धार्थ र सिग्नेट इन चार तारे, होटल स्नेहा र कलपत्रु तीन तारे होटलको रुपमा संचालनमा रहेका छन्। तीन तारे स्तरको सिटी प्यालेस र किचन हटले समेत लगानी र पूर्वाधार थपेर चार तारेमा स्तरोन्नतीको प्रयास गरिरहेका छन्। राँझ विमानस्थल नजिकै निर्माणाधीन तीन तारे स्तरको द गोल्डेन ब्लिस होटल चाँडै संचालनको तयारीमा छ।

हवाईमार्ग हुँदै तिब्बतको मानसरोवर यात्रामा जाने पर्यटकको लागी नेपालगंज प्रवेशद्वारको रुपमा रहेको छ। पर्यटकले नेपालगंजबाट हेलिकप्टरमार्फत् हुम्लाको सिमिकोट हिल्सासम्मको र त्यहाँबाट सडक मार्गको प्रयोग गरेर ताक्लाकोट, ला पास हुँदै कैलाश मानसरोवरसम्मको यात्रा तय गर्छन्।

दश हजार भारतीयको आगमन
पर्यटन व्यवसायीका अनुसार गतवर्षको मानसरोवर सिजनमा दश हजार भारतीय पर्यटकले स्थानीय होटलमा बास बसेका थिए। बास बस्न आउने भारतीयबाट प्रति व्यक्ति दैनिक तीन हजारदेखि बीस हजार रुपैयाँसम्म आतिथ्यता सेवावापत कमाई हुने गरेको छ।

अधिकांश पर्यटक ट्राभल एजेन्सी मार्फत् आउने र ट्राभल एजेन्सीले उधारोमा व्यापार गर्दा स्थानीय होटलले अपेक्षितरुपमा लाभ लिन भने सकेका छैनन्।पर्यटकीय मौसम सकिए लगत्तै होटलको व्यवसाय यसरी ओरालो लाग्छ की फेरी अर्को मानसरोवर यात्राको सिजन शुरु नहुँदासम्म होटलका कोठा खचाखच भरिदैनन्।

ग्राहक तान्न होटल व्यवसायीबीच अघोषितरुपमा अस्वस्थ्य प्रतिस्पर्धा शुरु हुन्छ। संचालन खर्च मात्रै भएपनि धान्ने ध्याउन्नले सस्तो मूल्यमा सेवा प्रदान गर्नेतर्फ ध्यान केन्द्रित हुँदा चौतर्फी नोक्सानीको अवस्था निम्त्याउँछ।

व्यवसाय धान्न सेवामा विविधता
अर्ब भन्दा बढीको लगानीमा खुलेका होटल मौसमी व्यापारमा मात्र सीमित रहँदा दीर्घकालमा चर्को घाटा व्यहोर्नु पर्ने भन्दै अहिले होटल व्यवसायीहरु सेवामा विविधतामा केन्द्रित हुने प्रयास गरिरहेका छन्।

मानसरोवर सिजन बाहेक पनि भारतीय पर्यटकलाई नेपालगंज भ्रमणको लागी प्रोत्साहित गर्न ‘क्यासिनो हब’ (जुवा केन्द्र), वैवाहिक समारोह केन्द्र र मनोरन्जनात्मक क्रिडा स्थलको रुपमा विकास गर्ने प्रयास शुरु भइसकेको छ।एक होटल संचालकका अनुसार मानसरोबरलाई मात्रै लक्षित गरेर अब नेपालगंजको होटल दीगो रुपमा संचालन हुन सक्दैनन्।

‘अहिले पाँच तारे भनिएका होटलले पनि तीन हजारमा कोठा बेचिरहेका छन्। पर्यटक आगमन कम भएपछि अरु भ्यालु एडेड सर्भिस चाहिन्छ’ ती व्यवसायीले भने,’विगतमा गैरसरकारी संस्थाको सेमिनार र कार्यक्रमले धानेका थिए। अब त्यो पनि धेरै कम छ। त्यसैले हामी सबै मिलेर सामूहिक योजना बनाएर अगाडि नबढे होटल व्यवसाय आर्थिक संकटमा पर्छन्।’

तीन देखि पाँच तारे सबै स्तरको होटलले होटलको स्तर अनुसार क्यासिनो संचालनमा ल्याउने तयारी गरिरहेका छन्। सोल्टी वेस्ट एण्डले लाइभ क्यासिनो र बाँकीले मिनी क्यासिनो संचालनमा ल्याउँदैछन्।पर्यटन व्यवसायमा प्रवेश गरेको नयाँ लगानीकर्ताको समूहले तीन अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सुविधा सम्पन्न ठूला ठूला वाटर पार्क निर्माणाधीन छ। वर्षको आठ महिनासम्म उखरमाउलो गर्मी हुने नेपालगंज र सीमापारी उत्तर प्रदेशको सीमावर्ती शहरको उपभोक्ताको लागी गर्मी छल्न वाटर पार्क उत्कृष्ट गन्तव्य बन्ने नेपालगंज थ्रिलर जोनका संचालक डा. ओमप्रकाश मिश्रको विश्वास छ।

भारतको उत्तर प्रदेशमा मदिराको बिक्री वितरणमा कडाई गर्न लागिरहेको समयमा मदिरा पिउन र घुमघामका सौखिन भारतीय मध्यम वर्गको लागी सीमावर्ती नेपाली शहर सबैभन्दा पायक गन्तव्य हो।