BIZMANDU
www.bizmandu.com

कुरिनटारको ६ विघा जग्गामा वियर उद्योग, ओल्ड दरबारका लगानीकर्ताले ल्याए बाह्रसिंगे

२०७६ असार ५

कुरिनटारको ६ विघा जग्गामा वियर उद्योग, ओल्ड दरबारका लगानीकर्ताले ल्याए बाह्रसिंगे
कुरिनटारको ६ विघा जग्गामा वियर उद्योग, ओल्ड दरबारका लगानीकर्ताले ल्याए बाह्रसिंगे

Tata
GBIME
Nepal Life

काठमाडौं। छोटो अवधिमा ओल्ड दरबार ह्विस्की स्थापित गराएको यति डिस्टिलरीका लगानीकर्ताले डेढ अर्ब लगानीमा वियर उद्योग संचालनमा ल्याएको छ। 

मुग्लिनको ईच्छाकामना गाउँपालिकाको कुरिनटारमा ६ विघा जग्गामा याक ब्रुअरी उद्योगबाट उत्पादन सुरु भइसकेको छ। उद्योगबाट बाह्रसिंगे ब्राण्डका वियर उत्पादन भएर बिक्री वितरण समेत सुरु भएको छ। दुई महिनाअघि उद्योगबाट परीक्षण उत्पादन सुरु भएको थियो। कम्पनीले दुई महिनापछि सबै प्रकृया पूरा गरेर व्यवसायिक उत्पादन थालेको हो।

याक ब्रुअरीका लगानीकर्ता रवि केसी र अभिषेक श्रेष्ठ यति डिस्टिलरीका संचालक पनि हुन्।

‘सुरुमा हामीले स्ट्रङ वियर मात्रै उत्पादन सुरु गरेर बिक्री वितरण थालेका छौं’ याक ब्रुअरीका संचालक केसीले बिजमाण्डूसँग भने, 'स्ट्रङ वियरको बजार विस्तारपछि प्रिमियम वियरको उत्पादन थाल्छौं।’ 

उनका अनुसार माल्ट हल्याण्डबाट ल्याइएको हो। ‘नेपालमा कसैलेपनि आयातित माल्ट प्रयोग गरेर वियर बनाएका छैनन्। हामीले डच माल्ट ल्याएर उत्पादन थालेका छौं। यो वियरमा उपभोक्ताले नयाँ स्वाद पाउनेछन्,’ केसीले भने, 'हामीले ओल्ड दरबारजस्तै गुणस्तरीय उत्पादन बजारमा जानुपर्छ भन्ने मान्यता ब्रुअरीमा समेत राखेका छौं। यो स्ट्रङ भएपनि अरुभन्दा भिन्दै स्वादको हुनेछ।’ 

यो वियरमा ६ प्रतिशत अल्कोहल हुनेछ। उद्योगमा जर्मनी प्रविधिको प्लान्ट लगाइएको छ। ‘विश्वबजारमै लेटेस्ट इक्विपमेन्ट हामीले ल्याएका हौं। हामीले वियर प्लान्टमा कुनै कम्प्रोमाइज गरेका छैनौं,’ उनले भने, 'हाम्रो उदेश्य नेपाली उपभोक्ताले विश्वस्तरकै वियर पाउन भन्नुपनि हो।’ 

केसीले लामो अनुसन्धानपछि वियर प्लान्ट लगाएको दाबी गर्दै नेपालमा रहेका राम्रा प्लान्टसँग प्रतिस्पर्धा गर्नेगरी आएको समेत जिकिर गरे।

‘हामीले वियरको लाइसेन्स पाएको धेरै समय भइसकेको थियो। तर तत्कालै प्लान्ट लगाएनौं। लामो अनुसन्धान र उपभोक्ताको स्वादलाई हेरेर प्लान्ट लगाएका हौं’ केसीले भने। 

उनका अनुसार सुरुवातमा वियरको बिक्री वितरण पश्चिमाञ्चलबाट हुनेछ। ‘हामीले सुरुवातमा पश्चिमाञ्चलबाट वियरको बिक्री सुरु गर्नेछौं। त्यसको रेस्पोन्सका आधारमा देशका अरु क्षेत्रमा बिक्री सुरु हुनेछ,’ केसीले भने।

ओल्ड दरबारकै बिक्री र बजारीकरण रणनीतिका आधारमा वियरको पनि बिक्री गर्नेछ। उद्योगबाट महिनामा ३ लाख ७५ हजार केस वियर उत्पादन हुने उनले बताए।

वियर उद्योग भिजिटरलाई पनि खुल्ला
नेपालमा पहिलो पटक कुनैपनि ग्राहकले उद्योगभित्रै गएर वियरको स्वाद समेत लिनसक्ने व्यवस्था कम्पनीले गरेको छ। 

‘हामीले भिजिटरलाई वियर उत्पादनको प्रकृया देखाएर टेस्टको समेत सुविधा दिनेछौं। नेपालका लागि यो नौलो अवधारणा समेत हो’ केसीले भने, 'उपभोक्ताले पैसा तिरेर वियरको स्वाद समेत लिनसक्नेछन्।’ 

उनले वियर उद्योगनै नदेखाउने प्रचलन रहेको बताउँदै विश्वस्तरको प्लान्ट बनाएपछि उद्योग देखाउन कन्जुस्यायी गर्न उपयुक्त नहुने बताए।यो वियरको मूल्य २ सय ७५ रुपैयाँ छ।

झण्डै पाँच वर्ष अघि स्थापना भएको यति डिस्टिलरीले ओल्ड दरबार, ब्ल्याक चिम्नी, पासपोर्ट ह्विस्की र ८८४८ भोड्का उत्पादन गर्दै आएको छ। चितवनको भरतपुर महानगरपालिकामा स्थापना भएको केही वर्षमै ह्विस्कीमा वर्चस्व कायम गर्न सफल भएको थियो।