BIZMANDU
www.bizmandu.com

जुस आयातमा भन्सार बढेपछि बंगलादेशी कम्पनी प्रानलाई ठूलो धक्का, स्वदेशी उद्योगीलाई अवसर

२०७६ असार १

जुस आयातमा भन्सार बढेपछि बंगलादेशी कम्पनी प्रानलाई ठूलो धक्का, स्वदेशी उद्योगीलाई अवसर
जुस आयातमा भन्सार बढेपछि बंगलादेशी कम्पनी प्रानलाई ठूलो धक्का, स्वदेशी उद्योगीलाई अवसर

Tata
GBIME
Nepal Life

काठमाडौं। फलफूलको रस लगायत चिसो पेय पदार्थको बजार माग बढिरहेका बेला सरकारले आयातलाई निरुत्साहित गरेपछि स्वदेशी उद्योगको बजार विस्तार हुने भएको छ।

सस्तो मूल्यांकन र राजस्व छलेर भित्र्याइएको बंगलादेशी उत्पादनसँग मूल्य प्रतिस्पर्धा गर्न नसक्दा बजार हिस्सा गुमाउँदै गएका स्वदेशी उद्योगले अब पुनः बजार विस्तारको अवसर पाउने भएका हुन्। विदेशी उत्पादनसँग मूल्य प्रतिस्पर्धाकै कारण १५ देखि २० प्रतिशतको दरले वृद्धि भइरहेको बजारबाट स्थानीय उद्योगले उचित लाभ पाउन सकेका थिएनन्।

‘नयाँ भन्सार महशुलले विदेशी जुसको आयातमा हुँदै आएको न्यून विजकीकरण र राजस्व छलीलाई अंकुश लगाएको छ,’ वीरगंजस्थित सनराइज बेभरेज इण्डष्ट्रिजको प्रबन्ध निर्देशक दिपक श्रेष्ठले भने, यसले स्वदेशी उद्योगलाई मूल्य प्रतिस्पर्धामो राहत पुग्ने छ।‘पेट बोतलमा फ्रुटी जुसको उत्पादन गर्दै आएको सनराइज वेभरेजले सस्तो मूल्यको बंगलादेशी जुससँग मूल्य प्रतिस्पर्धाकै कारण गत वर्ष जुस उत्पादन बन्द गर्नुपरेको थियो।

स्थानीय उद्योगीले जुसको आयात मूल्यलाई आधार मानेर भन्सार महशुल तोकिएकोले बंगलादेशी कम्पनीको जुस न्यून बिजकीकरणमा अत्यन्त थोरै भन्सार महशुल तिरेर नेपाल भित्रिने गरेको भन्दै पटक पटक प्रधानमन्त्री र अर्थमन्त्री समेतको ध्यानाकर्षण गराएका थिए। न्यून बिजकीकरणमार्फत् भन्सार राजस्व छलेर नेपाल भित्रिंदै आएको बंगलादेशी जुस निरुत्साहित गर्न आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणामार्फत् जेठ १५ देखि आयात परिमाणको आधारमा भन्सार राजस्व दर निर्धारण गरिएको छ।

नयाँ प्रावधान अनुसार प्रतिलिटर जुसको भन्सार महशुल ६० रुपैयाँ कायम गरिएको छ। अन्तःशुल्क ११ रुपैयाँ छ। यसअघि जुसको आयात भन्सार महशुल दर मूल्यमा ३० प्रतिशत मात्र रहेको थियो। बंगलादेशी प्रान ब्राण्डको जुस प्रति लिटर ०.३९ अमेरिकी डलर मूल्यांकनमा ३० प्रतिशत मात्र भन्सार महशुल कायम गरिएको थियो।

अन्तःशुल्क समेत जम्मा ७० रुपैयाँमा एक लिटर बंगलादेशी जुस नेपाल भित्रिने गरेकोमा अहिले अन्तःशुल्क ११ रुपैयाँ र भन्सार महशुल ६० रुपैयाँसमेत राजस्व मात्र ७१ रुपैयाँ पर्न आउँछ। थप १३ प्रतिशत भ्याट समेत थप हुन्छ। अन्तःशुल्क दर स्वदेशी जुसको लागी पनि समान कायम गरिएको छ। सनराइज बेभरेजको प्रबन्ध निर्देशक श्रेष्ठको अनुभवमा आम्दानीको तुलनामा नेपाली उपभोक्ताको पेय पदार्थ उपभोग दर भारतको भन्दा पनि बढी रहेको बताए।

गुणस्तरमा कडाई गर्न सुझाव

स्वदेशी उद्योग संरक्षण गर्न जुसको आयातमा भन्सार दर पुनरावलोकन गरेको संघीय सरकारले जुसको गुणस्तर नियन्त्रणमा समेत ध्यान दिनुपर्ने पेय पदार्थ उत्पादक उद्योगीको सुझाव छ। न्यून गुणस्तरिय जुस भित्र्याएर उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने कार्य भइरहेकोले जुसको बट्टामा लेखिएको फुड भ्यालु(खाद्य गुण) भए नभएको यकीन गरेर मात्र आयात गरिनुपर्नेमा उद्योगीको जोड छ।

 ‘अहिले आयातित पेय पदार्थको गुणस्तर परिक्षणमा खासै चनाखो देखिंदैन,’महोत्तरीको गौशालामा अवस्थित आम्रपाली बेभरेज उद्योगका संचालक अशोक साहले भने, गुणस्तरियतामा कडाई स्वदेशी उद्योग र उपभोक्ता दुबैको हितमा हुनेछ।‘

कार्बोनेटेड पेयको साटो फलफूलको जुस उपयुक्त हुनेमा शहरी उपभोक्ता सचेत देखिएको बताउँदै सनराइज प्रबन्ध निर्देशक श्रेष्ठले भने,’उपभोक्ता सचेत हुँदै जाँदा गुणस्तरीय जुसको बजार मागमा पनि सकारात्मक प्रभाव पर्नेछ।‘

स्वदेशी जुसको बजार

आधिकारिक तथ्यांक नभएपनि उद्योगीका अनुसार वार्षिक करिब ४ अर्ब रुपैयाँ बराबरको जुस बिक्री हुन्छ। स्वदेशी उपभोक्ताले ३ करोड ९६ लाख लिटर(६६ लाख कार्टुन) उपभोग गरिरहेको उद्योगीको अनुमान छ।

एक कार्टुनमा २०० मिलि लिटर परिमाण बराबरको ३० वटा बट्टा अटाउँछ। घरेलु बजारको ठूलो हिस्सा(करिब ६० प्रतिशत) ओगटेको डाबर नेपालले वार्षिक ४० लाख कार्टुन जुस बिक्री गरिरहेको छ।स्वदेशी उद्योगमा सबैभन्दा ठूलो हिस्सा डाबरकै छ। डाबरपछि अरु उद्योगको बजार हिस्सा छ।उद्योगीका अनुसार फ्रुटी र चौधरी समूहको रियोको बजार पनि राम्रै छ। विराटनगरमा महेश जाजु र शारडा समूहले गुडलाइफ ब्राण्डमा जुस बजारमा ल्याइरहेका छन्।

निर्यात प्रवद्र्धन केन्द्रका अनुसार आ.व. ०७४/७५ मा १ अर्ब २८ करोड रुपैयाँ मूल्य बराबरको जुस आयात भएकोमा मेची भन्सार नाका हुँदै बंगलादेशबाट मात्र ९९ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको २ करोड १६ लाख ७७ हजार लिटर जुस भित्रिएको थियो।

 प्रति २०० मिलिलिटर जुस २५ रुपैयाँमा बिक्री गर्दै आएको डाबरले अहिले २ रुपैयाँले मूल्य वृद्धि गरेको छ। बंगलादेशी प्रतिस्पर्धी प्रानको सर्वाधिक बिक्री हुने १५० मिलि लिच्ची पेय २० रुपैयाँमा बिक्री भइरहेकोमा भन्सार मूल्यांकनमा वृद्धि पछिको उत्पादन अहिले बजारमा आइ नपुगेको खुद्रा व्यापारीले जानकारी दिए।