BIZMANDU
www.bizmandu.com

सौराहामा भ्यू टावर निर्माणका लागि पचास लाख विनियोजन, डिपिआरका लागि कम्पनी छनौंट


सौराहामा भ्यू टावर निर्माणका लागि पचास लाख विनियोजन, डिपिआरका लागि कम्पनी छनौंट
सौराहामा भ्यू टावर निर्माणका लागि पचास लाख विनियोजन, डिपिआरका लागि कम्पनी छनौंट

Tata
GBIME
Nepal Life

चितवन। मुलुकको प्रमुख पर्यटकीय गन्तब्य सौराहामा अन्तर्राष्ट्रिय स्तरको भ्यू टावर निर्माण हुने भएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्रको बन्यजन्तु हेर्नकै लागि अन्तर्राष्ट्रिय स्तरको भ्यू टावर निर्माण गरिन लागिएको हो।

टावर निर्माणको औपचारिक प्रकृया अघि बढिसकेको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्यू टावरका लागि विस्तृत सम्भाब्यत अध्ययन(डिपिआर)का लागि ५० लाख रुपैयाँ छुट्याइसकेको छ।पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले डिपिआरका लागि स्थलगत अध्ययन समेत भइसकेको बताए।डिपिआरपछि भ्यू टावर निर्माणको लागत तय हुनेछ।

'सौराहामा भ्यू टावर निर्माण अध्ययनका लागि हामीले केही समय अगाडी टेण्डर गरेका थियौँ। डिपिआरका लागि कन्सल्टेन्ट कम्पनी छनौंट भइसकेको छ। यसको डिजाइन सम्वन्धी अध्ययन गरिरहेका छौँ। यही वर्ष डिपिआरको काम सक्नेछौँ।'महानिर्देशक घिमिरेले बिजमाण्डूसँग भने।

उनका अनुसार भ्यू टावर चितवन राष्ट्रिय निकुञ्ज परिसर भित्र निर्माण गरिनेछ। टावर निर्माण गर्नका लागि विभागले चितवन राष्ट्रिय निकुञ्जसँग अनुमति लिइसकेको उनले जानकारी दिए। 'कम्तिमा पनि सौराहासँगै राष्ट्रिय निकुञ्जलाई एकै ठाउँमा उभिएर हेर्न सकिने उद्धेश्यले भ्यू टावर निर्माण गर्न लागिएको हो। यो परिकल्पना हाम्रो विभागका पुर्व महानिर्देशक दिनेश भट्टराईको हो।' उनले भने। उनका अनुसार डिपिआर तयार भएपछि वहुवर्षिय बजेट विनियोजन गरेर टावर निर्माण गरिनेछ।

अहिले विभिन्न जिल्लामा भ्यू टावर निर्माण भइरहेको छ। तर यो भ्यूटावर भने अहिले निर्माण भइरहेका भन्दा फरक हुने घिमिरेले दाबी गरे।‘अन्तर्राष्ट्रियस्तरको लिफ्टसहितको टावर निर्माण हुनेछ। टावरभित्रै व्यवसायिक पसलहरु पनि रहनेछन्।’ उनले भने। यो टावर निर्माण सुरु भएको पाँच वर्षमा तयार हुनेछ।

भ्यू टावर निर्माणको प्रकृया सुरु भएपछि स्थानीय पर्यटन व्यवसायी समेत उत्साहित भएका छन्। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले राष्ट्रिय निकुञ्ज वाहेक टुरिज्म प्रडक्ट थपिँदा सौराहाको पर्यटनमा ठूलो योगदान दिने बताए।‘हामी अहिले चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तुसँग जोडिएको पर्यटन प्रवर्द्धन गरिरहेका छौं।

तर अब अन्तर्राष्ट्रियस्तरको भ्यू टावरले यहाँको पर्यटन क्षेत्रलाई थप योगदान दिने विश्वास लिएका छौं’ उनले भने। उनका अनुसार वन्यजन्तु हेर्न जंगल सफारी र जिप सफारी वाहेक भ्यू टावरबाट पनि अवलोकन गर्न सकिने वातावरण तयार हुनेछ। घिमिरेले सौराहामा निर्माण हुने भ्यू टावरले चितवनलाईनै प्रतिनिधित्व गर्ने बताउँदै टावर निर्माणका लागि स्थानीय पर्यटन व्यवसायीले एकजुट भएर सघाउने प्रतिवद्धता जनाए।