BIZMANDU
www.bizmandu.com

नौबिसे- नागढुङगा सुरुङमार्ग असारमा शिलान्यास,  असोजबाट काम सुरु हुने

२०७६ जेठ २८

नौबिसे- नागढुङगा सुरुङमार्ग असारमा शिलान्यास,  असोजबाट काम सुरु हुने
नौबिसे- नागढुङगा सुरुङमार्ग असारमा शिलान्यास,  असोजबाट काम सुरु हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। राजधानी प्रवेश गर्ने मुख्य मार्ग नागढुङगा- नौविसे सडक खण्डमा सुरुङमार्ग निर्माणको काम सुरु हुने भएको छ। 

असारमा शिलान्यास गरेर सुरुङमार्गको काम सुरु गर्न लागिएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। थापाका अनुसार केहि दिनभित्रै जापानी कम्पनीसँग सम्झौता गर्ने अन्तिम तयारी भैरहेको छ। 

निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा/आन्दो जेभीले पाउने भएको छ। महाशाखाले निकालेको ग्लोवल टेण्डरमा पाँच वटा चिनियाँ कम्पनी र एउटा जापानी कम्पनीले आवेदन दिएका थिए। ती कम्पनीमध्ये जापानी कम्पनीलाई दिने निर्णय गरिएको हो। 

मन्त्रालयका एक अधिकारीका अनुसार, हाज्मा/आन्दो जेभी प्राविधिक प्रस्तावमा पहिलो नम्वरमा परेको थियो। तर चिनियाँ कम्पनीले कम मुल्यमा टेण्डर हालेको थियो। चिनियाँ र जापानी दुवैले सुरुङमार्ग पाउन जोडबल गरेपछि निर्णय लिन केहि ढिला हुन गएको बुझिएको छ। 

जापानी ऋण सहयोगमै बन्ने भएकाले जापानी कम्पनीलाई नै दिनुपर्ने दबाब समेत परेको ती अधिकारीको भनाई छ। जापानी कम्पनीलाई नै दिनुपर्ने भएपछि करिव ७० करोड रुपैयाँ कवुल गरेको रकम घटाउन लगाएर दिन लागिएको हो। टेण्डर निकालेको ६ महिनापछि ठेक्का सम्झौता गरेर काम सुरु गर्न लागिएको छ। 

हाज्मा/आन्दो जेभीले  नेपालमा बीपी हाईवे, सुर्यविनायक-कोटेश्वर सडक खण्ड लगायतका धेरै सडक र परियोजनाह निर्माण काम गरिसकेको छ। मेलम्चीपछिको दोस्रो ठूलो मर्दिखोलालाई प्रशोधन गरि पिउन योग्य बनाउने खानेपानी परियोजनाको काम पनि यहि कम्पनीले पाएको छ। 
नेपालमा यो कम्पनीले लिएका कामहरु अहिलेसम्म गुणस्तरीय र समयमै निर्माण गर्ने गरेको सडक विभागका अधिकारीहरु बताउँछन्। 

आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार चार अर्ब रुपैयाँ बढी मुआब्जा वितरण भैसकेको छ। करिव डेढ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ। आयोजनाले अहिले धमाधम मुआब्जा वितरण गरिरहेको छ। काठमाडौं तर्फको लगभग मुआब्जा वितरण सकिएको भएपनि धादिङतर्फको बाँकी छ। टनेलसम्म पुग्ने २.५ किमी पहुँचमार्गको लागि मुआब्जा वितरण भैरहेको हो।

मुआब्जा वितरण नगरी काम सुरु गरेमा निर्माण कम्पनीले क्याम्प राखेपछि विभिन्न खालका माग र समस्याहरु आउन सक्ने भन्दै साईट क्लियर गरेर ठेक्का लगाउन लागिएको हो। नयाँ सार्वजनिक खरिद ऐनले पनि साईट क्लियर नगरी ठेक्का नपाउने व्यवस्था गरेकाले त्यसतर्फ समेत फोकस भएको आयोजनाले जनाएको छ। 

असारमै ठेक्का सम्झौता गरेर काम सुरु गरिने भएपनि कन्स्ट्रक्सन भने असोजपछि मात्रै सुरु हुने छ। यो बीचमा निर्माण कम्पनी मोविलाईज हुने, क्याम्प निर्माण गर्ने, आवश्यक मेसिनहरु ल्याउने लगायतका कामको तयारी गर्ने महाशाखाले जनाएको छ। निर्माण सम्झौता गरिएको ४२ महिनामा सुरुङमार्ग निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। 

जापान सरकारको सहुलियत ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण गर्न लागिएको हो। विस्तृत आयोजना प्रतिवेदन अनुसार २२ अर्ब कुल लागत लाग्ने छ। जसमा जापान सरकारको ऋण १६ अर्ब र नेपाल सरकारले आफ्नो स्रोतबाट ६ अर्ब रुपैयाँ ब्यहोर्ने छ। जापानी कम्पनी निप्पन कोई इन्जिनियरिङले नेपाली कम्पनीसँग मिलेर सर्भे र डिपिआर तयार पारेका थिए। 

डिपिआर अनुसार सुरुङमार्गको लम्वाई २.७ किलोमिटर हुनेछ। सुरुङमार्ग दुईवटा हुनेछ। मुख्य सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुनेछ भने सहायक सुरुङमार्ग (स्केप्ट टनेल) आपतकालीन समयमा बाहिर निस्कनका लागि प्रयोग हुनेछ। मुख्य सुरुङमर्गमा तीन लेन हुनेछन्।

जसमा दुईवटा लेन सवारीसाधन आवतजावतका लागि हुनेछ। एउटा लेन सवारीसाधन विग्रिए वा समस्या आए साईड लगाउन सकिनेछ। सुरुङमार्गको चौडाई १० मिटर हुनेछ। सुरुङमार्ग बस्नेतछापबाट सिस्नेखोला निस्कने छ। सुरुङमार्गको दुवैतिर आवश्यक संरचनाहरु निर्माण गरिने आयोजनाले जनाएको छ।