BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री: बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्था छैन, नेपाली बैंकिङ दक्षिण एसियाकै नमुना

२०७६ जेठ २८

अर्थमन्त्री: बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्था छैन, नेपाली बैंकिङ दक्षिण एसियाकै नमुना
अर्थमन्त्री: बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्था छैन, नेपाली बैंकिङ दक्षिण एसियाकै नमुना

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापनापछि बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन्।

खतिवडाले मंगलबार कोषको भवनको शिलान्यास गर्दै निक्षेपको सुरक्षण गर्ने अवधारणा आएसँगै कोही पनि मेरो निक्षेप डुब्न लाग्यो भनेर बैंकको काउन्टरमा जानु पर्ने अवस्था नरहेको बताएका हुन्। बैंकहरु थप समस्यामा नपरुन भनेर यस संस्थालाई बलियो बनाइएको खतिडाले बताए। यसैले गर्दा सबै जनाले ढुक्कसँग निक्षेप राख्न र बैंकहरुले कर्जा प्रवाह गर्न पाएको उनले जनाए। 

बीमा तथा सुरक्षण कोषले गर्दा बैंकहरुको निष्कृय कर्जाको अनुपात समेत घटेको भन्दै खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै नमुना भएको दाबी गरे। उनले भने ‘नेपाली बैंकलाई विदेशीहरुले पत्याउन थालेका छन्। देशको क्रेडिट रेटिङपछि अझ धेरै विश्वास हुनेछ।’

कुनै पनि जोखिम नभएको अवस्थामा कोषले दुई अर्बभन्दा माथिको नाफा गरेको छ। भोलिका दिनमा हुन सक्ने जोखिमको पुर्वानुमान गर्दै आफ्नो क्षमता बढाउन उनले कोषलाई निर्देशन दिए। हाल कोषको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ। कोषलाई बलियो बनाउन अझै दुई अर्ब रुपैयाँ पूँजी उपलब्ध गराउने खतिवडाले बताए। 

कोष धेरै हुँदैमा संस्था बलियो नहुने भन्दै खतिवडाले भने  ‘संस्थाको व्यवस्थापन पनि बलियो हुनु पर्छ। यसका लागि जोखिमको विश्लेषण गर्न सक्ने दक्ष जनशक्तिको पनि विकास गर्नुहोस्।’ 

कोषमा धेरै लामो समयदेखि नेपाल राष्ट्र बैंकको शेयर स्वामित्व थियो। नेपाल राष्ट्र बैंकको पछिल्लो ऐन आएसँगै बैंकले नेपाल सरकारलाई आफ्नो शेयर विनिवेश गरेको थियो। राष्ट्र बैंकमा रहँदा पनि र अहिले अर्थमन्त्री हुँदा पनि आफ्नो मातहत रहेको संस्थालाई अझ बलियो बनाउन आफुले सकेको योगदान दिने उनले आस्वासन दिए। 

कोषले पाँच तले भवन निर्माणको लागि ६ करोड ६८ लाख रुपैयाँ छुट्टयाएको कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णुबाबु मिश्रले जानकारी दिए।