BIZMANDU
www.bizmandu.com

सिमेन्ट उद्योगमा अर्घाखाँची ‘एग्रेसिभ’, अर्ब लगानी थपेर पिपिसी सिमेन्ट उत्पादन


सिमेन्ट उद्योगमा अर्घाखाँची ‘एग्रेसिभ’, अर्ब लगानी थपेर पिपिसी सिमेन्ट उत्पादन
सिमेन्ट उद्योगमा अर्घाखाँची ‘एग्रेसिभ’, अर्ब लगानी थपेर पिपिसी सिमेन्ट उत्पादन

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्घाखाँची सिमेन्टले एक अर्ब लगानी थपेर पिपिसी सिमेन्ट उत्पादन थालेको छ।उद्योगले ओपिसी सिमेन्ट ल्याएको साढे तीन वर्षपछि पिपिसी सिमेन्ट बजारमा ल्याएको हो।

रुपन्देहीमा रहेको उद्योगमा नयाँ प्रोडक्टलाइन थपेर पिपिसी सिमेन्टको उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पशुपति मुरारकाले बताए।उनका अनुसार विश्वमा लोकप्रिय रहेको एफएल स्मिथको भिआरएम प्लान्टबाट सिमेन्ट उत्पादन हुन्छ।उद्योगले दैनिक तीन हजार टन ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। ओपिसी सिमेन्ट व्यवसायिक भवन,औद्योगिक भवन,वहुतल्ले भवन, ढलान गरिएको सडक,जलविद्युत परियोजना, पुल र सुरुङमा प्रयोग भइरहेको छ।

‘साढे तीन वर्षको अवधिमा ओपिसीमा हामी अग्रणी ब्राण्ड बन्न सफल भयौं। त्यसपछि हामीले ओपिसी सिमेन्ट बजारमा ल्याएका छौं। आफ्नै खानीको चुनढुंगा प्रयोग गरेर क्लिंकर बनाइने भएकाले उत्पादनको गुणस्तरमा समेत एकरुपता रहनेछ’ मुरारकाले बिजमाण्डूसँग भने। कम्पनीले एक महिना अघिनै सिमेन्ट उत्पादन गरेको थियो भने नेपाल गुणस्तर तथा नापतौल विभागले गत शुक्रबार गुणस्तर चिन्ह दिएको थियो।

साढे तीन वर्षअघि उत्पादन थालेको यो उद्योगको ओपिसी ब्राण्ड छोटो समयमै लोकप्रिय बन्यो। अहिले अर्घाखाँची सिमेन्ट र शिवम सिमेन्टबीच ओपिसी ब्राण्डमा नेक टु नेक प्रतिस्पर्धा छ। अर्घाखाँची सिमेन्टको पिपिसी ब्राण्डको सीधा टक्कर जगदम्बा सिमेन्टसँग हुनेछ। अहिले पिपिसीमा सबैभन्दा बढी बिक्री हुने ब्राण्ड जगदम्बानै हो।

त्यसपछि यही समूह प्रवर्द्धक रहेको वृज सिमेन्टको बजार हिस्सा छ। सिमेन्ट बजारमा पिपिसीको हिस्सा ७० प्रतिशत छ। प्राविधिकहरुका अनुसार ढलानमा चाँडै सेट हुने भएकाले ओपिसी प्रयोग हुन्छ भने प्लास्टरका लागि पिपिसी प्रयोग हुन्छ। कम्पनीका निर्देशक मनोज केडियाले गुणस्तरीय उत्पादन भएकाले बजारमा छिट्टै स्थापित हुने दाबी गरे।‘हाम्रो उत्पादन बजारमा गइसकेको छ। त्यहाँबाट राम्रो रेस्पोन्स पाएका छौं। हामीले ओपिसीमा जस्तै यो सिमेन्टमा सफलता हात पार्ने विश्वास लिएका छौं’ उनले बिजमाण्डूसँग भने,’उपभोक्तालाई ढुक्क भएर हाम्रो प्रडक्ट प्रयोग गर्न आग्रह गर्छौ।’

उद्योगले दैनिक ५० हजार बोरा पिपिसी सिमेन्ट उत्पादन गर्नेछ। सिमेन्टको उद्योग मूल्य ६ सय रुपैयाँ तोकिएको छ।‘मूल्य अरु उद्योगको जस्तै हो। तर हामीले आफ्नो उत्पादन राम्रो छ भन्ने दाबी भने गर्नसक्छौं’ संचालक मुरारकाले भने।

छिट्टै शेयर ल्याउने

अर्घाखाँची सिमेन्टले सर्वसाधरणलाई शेयर जारी गर्ने भएको छ। उद्योग स्थापना भएलगतै सर्वसाधरणमा शेयर जारी गर्ने जनाएको उद्योगले केही प्रकृया पूरा गरेर शेयर ल्याउने जनाएको हो।कम्पनी पब्लिकमा रुपान्तरण गरेर छिट्टै शेयर जारी गर्ने निर्देशक मुरारकाले बताए।

अहिले ७७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको २५ विघा क्षेत्रफलमा फैलिएको फ्याक्ट्रीबाट दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ।कम्पनीको ‘बुक भ्यालु’ छ अर्ब रुपैयाँ पुगेको छ।

अर्घाखाँचीमा कम्पनीको ३० बर्षलाई पुग्ने आफ्नै क्लिंकर खानी छ। यो उद्योगमा नेपालका मुरारका ग्रुप, सिद्धार्थ ग्रुप र केडिया ग्रुपले यो सिमेन्ट उद्योगमा लगानी गरेका छन् भने भारतको उमा सिमेन्ट इन्टरनेशनलले पनि लगानी गरेको छ। मुरारका ग्रुपको ३०, सिद्धार्थ समूहको ३५, केडिया समूहको १७.५ र भारतीय पक्षको १७.५ प्रतिशत लगानी छ।