BIZMANDU
www.bizmandu.com

एनएसीको ओशाका उडानको नयाँ मिति: ‘अगस्ट २९’, ‘नयाँ मितिमा पनि उड्ने टुंगो छैन’


एनएसीको ओशाका उडानको नयाँ मिति: ‘अगस्ट २९’,  ‘नयाँ मितिमा पनि उड्ने टुंगो छैन’
एनएसीको ओशाका उडानको नयाँ मिति: ‘अगस्ट २९’, ‘नयाँ मितिमा पनि उड्ने टुंगो छैन’


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वायुसेवा निगमले डेढ महिना अघि जापानको ओशाकाको लागि फ्लाइट सेड्युल निकाल्यो। जुलाई-४ २०१९बाट जापानको ओशाका उडानका लागि टिकट बिक्री सुरु गर्यो।

मिति मात्रै होइन समयनै राखेर डेढ महिना अघि राखिएको सूचना अनुसार एक महिनापछि जापानमा एनएसीकी नियमित उडान सुरु हुनुपर्थ्यो। तर एक महिना अघि प्राविधिक तयारी पूरा नभएको भन्दै निगमले ओशाका उडानलाई पछि सारेको छ।निगमले नयाँ मिति तय गरेको छ-‘अगस्ट २९।’ निगमले तयार पारेको नयाँ सेड्युलमा समेत ओशाका उड्ने टुंगो छैन।

र, यो मिति सार्नुपर्ने अवस्था अरु नियामकीय कारणले होइन। निगम व्यवस्थापनको आफ्नै कमजोरीका कारण आएको हो। निगम व्यवस्थापनले जापान उडानलाई गन्जागोल बनाएको छ। यही गन्जागोलका कारण निगमको साख पनि गुमेको छ। तोकिएको मितिमा उडान गर्न नसक्नु भनेको निगमको विश्वसनीयता माथि गम्भिर प्रश्न पनि हो।

जहाज उडाउनका लागि अनुमतिले मात्रै पुग्दैन भन्ने सामान्य हेक्का समेत नराखी सूचना निकालेको थियो।विना तयारी जहाज उडाउनकै लागि निगम व्यवस्थापनले ओशाकाको गन्तब्य तयार पारेको थियो भन्ने अहिले स्पस्ट भइसकेको थियो। जहाज उडाउनका लागि त्यो देशमा टिकट बिक्री गर्ने बलियो कम्पनी चाहिन्छ। तर निगमले जेनरल सेल्स एजेन्टनै नियुक्त गरेन्।

एक दशकअघि ओशाका उडान गर्दाको प्रतिनिधीलाई टिकट बिक्रीको जिम्मा दियो।ती प्रतिनिधीले टिकट बिक्रीका लागि एग्रेसिभ बजारीकरण गर्न सकेनन्।अन्त्यमा टिकट बिक्रीनै भएन र उडान मितिनै सारियो।

तर निगम व्यवस्थापन भने आफ्नो कमजोरी लुकाउन उडान अनुमति लिन मात्रै जुलाईको मिति तोकिएको बताउँछन्।'उडान अनुमति लिनका लागि हामीले जुलाई ४ तारिखको मिति तय गरेका हौं।अहिले उडान अनुमति आइसकेको छ। तर पर्यटकिय सिजन सुरु नभएको कारण हामीले आउँदो अगस्ट २९ तारिखबाट नियमित उडान सुरु गर्ने योजना बनाएका छौँ।' निगमका विज्ञ राजु केसीले बिजमाण्डूसँग भने। उनले अगस्टदेखि उडान नियमित हुनेमा पनि आफै विश्वस्त भने छैनन्।

'हामी अगस्ट २९ तारिखदेखि उडान सुरु गर्नेछौँ। पहिलाको जस्तो उडान नै रद्द गर्न नपर्ने कुरामा हामी आशावादी छौँ।' केसीले भने। केसीको भनाईँसँग सहमत हुन सकिने अवस्था छैन। टिकट बिक्रीका लागि राम्रो मार्केटिङ गर्न नसक्दा उडाननै मितिनै सार्नुपरेको स्रोत बताउँछ। अहिले गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचन ओशाकाका लागि प्रतिनिधी छन्।

उनी एक दशक अघि निगमले ओशाका उडान गर्दापनि प्रतिनिधीको रुपमा काम गर्दै आएका थिए। त्यही आधारलाई देखाउँदै राजनीतिक दबाबका आधारमा हिराचनलाई जिएसएको जिम्मा दिन लागिएको हो। निगमले टिकट विक्रीका लागि जापानको आयटा (इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एशोसिएसन) बिएसपी 'विलिङ एण्ड स्टेटमेन्ट प्लान' अन्तर्गत पाँच सय दुई ट्राभल एजेन्सीसँग सम्झौता गरिसकेको दाबी गरेको थियो। तर त्यो दाबी पनि असत्य सावित भएको टिकट बिक्रीबाट देखिएको छ।निगम स्रोतका अनुसार टिकट बिक्रीनै कम भएपछि उडान एक महिनापछि सारिएको हो।

'कमजोर व्यवस्थापनकै कारण टिकट विक्री कम भएको हो। यो नयाँ गन्तब्य होइन। पहिलापनि निगमले यो क्षेत्रमा उडान गरिसकेको छ। बजारीकरणका लागि आक्रमक भूमिका नभएकै कारण टिकट विक्री कम भएको हो।'निगम स्रोतले भन्यो।

ओसाका भन्दा नारिता उडान राम्रो

काठमाडौं-जापान उडानका लागि ओशाका भन्दा नारिता गन्तब्य राम्रो रहेको छ।

'नारिता टोकियो नजिकै छ। अत्याधिक नेपाली तथा विभिन्न मुलुकका जनता मोविलिटीलाई मध्यनजर गरेर उडान गर्दा नारिता उपयुक्त छ,’ एक ट्राभल कम्पनीका संचालकले भने।सुरुमा नारिता उडान गर्ने योजना बनाएपनि एकाएक ओशाकातर्फ निगम व्यवस्थापनले जोडबल गरेको थियो। स्रोतका अनुसार केही व्यक्ति पोस्नकै लागि नारितालाई छाडेर ओशाकाको लागि प्रकृया अघि बढाएको हो।

'निगमले सुरुमा जापान उडानको लागि नारितालाई प्राथमिकता दिएको थियो। तर किन एकाएक एक दशक अगाडिको गन्तब्यमा पुनः उडानका लागि प्रकृया अघि बढाइयो। हामी पनि अच्चमित भएका थियौं।'ती संचालकले भने।

ओसाका उडान भन्दा नारिता उडान गर्दा जापानमा वसोवास गर्दै आएका नेपालीहरुलाई आउजाउ गर्न फाइदा हुने नेपाल साझा समाज जापानका सचिव रमेश अधिकारीले जानकारी दिए। 'ओसाका र नारिता छेउछाउको शहरमा तुलनात्मक हिसाबले लिभिङ इन्डेक्स हेर्ने हो भने हिगासी नियोन(जापानको पुर्वी क्षेत्र)माअत्याधिक नेपालीहरुको बसोबास रहेको छ। जापानमा बसोबास गर्दै आएका ६५ प्रतिशत नेपालीको यो क्षेत्रमा बसोबास रहेको छ।' अधिकारीले भने।

निगमले जापान उडान फेरी सुरु गर्न लागेको कुरा सकारात्मक रहेको बताउँदै उनले भने,'निगमले जापान उडान गर्नु सकारात्मक हो। तुलनात्मक हिसाबले हेर्दा नारिता उडान सहज, सस्तो र भरपर्दो देखिन्छ।'निगमका अनुसार टोकियोबाट नारिता एक घण्टाको दुरीमा रहेको छ भने ओशाका दुई घण्टाको दुरीमा रहेको छ।

निगमका अनुसार इकोनोमी क्लास अन्तर्गत काठमाडौं-ओशाका भाडादर ४१ हजार रुपैयाँ रखिएको छ भने दुईतर्फी भाडादर ७७ हजार रुपैयाँ राखिएको छ।