BIZMANDU
www.bizmandu.com

बजेट लेखनको संयोग: यी चार जना जसले संम्भवत लेख्ने छैनन् अर्को बजेट, अन्तिम बजेट कस्तो बनाउलान्?

२०७६ जेठ ९

बजेट लेखनको संयोग: यी चार जना जसले संम्भवत लेख्ने छैनन् अर्को बजेट, अन्तिम बजेट कस्तो बनाउलान्?
बजेट लेखनको संयोग: यी चार जना जसले संम्भवत लेख्ने छैनन् अर्को बजेट, अन्तिम बजेट कस्तो बनाउलान्?


Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नो दोस्रो बजेटको अन्तिम तयारीमा छन्। करिब २५ वर्षयता नेपालको बजेट र मौद्रिक प्रणालीको केन्द्र वरिपरी रहेका खतिवडा कार्यकारीका रुपमा सम्भवत यो अन्तिम बजेट लेखिरहेका छन्।

राष्ट्रियसभा सदस्यसमेत रहेका खतिवडाले आफ्नो कार्यकालका लागि तानेको चिट्ठामा २ वर्षे कार्यकाल पर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोर्‍याउन चाहेको खण्डमा बाहेक खतिवडाले कार्यकारी भूमिकामा बसेर यसपछिका बजेट लेख्ने छैनन्। खतिवडाको दुई वर्षे कार्यकाल आउँदो बजेट अगावै सकिन्छ।

नेपाल राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगमा दुईपटक उपाध्यक्ष भएपछि खतिवडा अर्थमन्त्री बन्न पुगेका हुन्। आम जनताले समेत उच्च अपेक्षा राखेका खतिवडाको पहिलो एक वर्षे कार्यकाल सन्तोषजनक नरहेको स्वयंले स्वीकार गरेका छन्। दोस्रो बजेट र त्यसको कार्यान्वयन अब प्रतिक्षाको विषय बनेको छ।

बजेट लेखनमा यसपटक एउटा संयोग परेको छ। खतिवडासँगै उनका महत्वपूर्ण तीन सहयोगीहरु अर्थसचिव डा. राजन खनाल, राजस्व सचिव लालशंकर घिमिरे र बजेट भाषण लेखन टोलीका संयोजक सहसचिव निर्मलहरि अधिकारीको पनि यो अन्तिम बजेट हुनसक्छ।

संघीय निजामती सेवा ऐन संशोधन भएर कर्मचारीको उमेर परिवर्तन नभए उनीहरु तीनैजनाले अब छिट्टै अवकाश पाउँदैछन्। यी चारै जनाको लागि यो अन्तिम बजेट हो।

अन्तिम बजेट निर्माणमा उनीहरु जुटिरहेका छन्। राजनीतिक संक्रमण सकिएपछि दुई तिहाईको सरकारका लागि दोस्रो बजेटको तयारीमा उनीहरु छन्। सीमित स्रोत र साधनबाट असिमित चाहनालाई समेट्नुपर्ने बाध्यतामा छ।

‘दुई तिहाईको सरकार आएपछि जनतामा असिमित आकांक्षा छ। तर ती असिमित चाहना पूरा गर्नका लागि स्रोत भने सीमित छ। यस्तो बाध्यतात्मक अवस्थामा बजेट बनाउनुपर्ने अवस्था छ,’ अर्थमन्त्रालयका एक अधिकारीले भने,’सन्तुलित बजेटसँगै केही पोलिसी डिपार्चार गर्न सके त्यसबाट मुलुकले दीर्घकालिन फाइदा पाउनेछ।’

अर्थसचिव खनालले माघ २१ गते अनिवार्य अवकाश लिनेछन्। २०७१ माघ २२ गते सचिव भएका खनाल सचिवको पाँच वर्षे कार्यकाल पुरा गरी अवकाश लिनेछन्। हुलाक सेवाबाट २०४९ साल असारमा सेवा प्रवेश गरेका खनाल राजस्व सचिव पनि भएका थिए।

विद्यमान ऐन कार्यान्वयन भइरहे राजस्व सचिव लालशंकर घिमिरे २०७४ असोज २४ गते सचिव बढुवा भएका घिमिरे करिब ७ वर्षपछि बजेट लेख्ने 'कोर टिम'को सदस्य हुन आइपुगेका हुन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ऋणको मोडालिटीमा तत्कालीन् अर्थमन्त्री वर्षमान पुनसँग विवाद भएपछि घिमिरेलाई अर्थ मन्त्रालयबाट राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको थियो।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख रहेका घिमिरे राजस्व सचिवका रुपमा अर्थ मन्त्रालय फर्किएका हुन्। निजामती सेवा ऐन संशोधन नभए उनले यही असोज १ गतेबाट ५८ वर्षे उमेर हदका कारण अवकाश पाउनेछन्। व्यक्तिगत विवरणमा उल्लेख भएअनुसार उनी सन् १९६१ (विसं २०१८)मा ओखलढुंगामा जन्मिएका हुन्।

२०३७ भदौ १८ गते निजामती सेवामा प्रवेश गरेका अधिकारी अर्थमन्त्रालय भित्रका सबैभन्दा पुराना अधिकृत हुन्। २०१८ असोज २२ गते जन्मिएका उनले ५८ वर्षे उमेर हदका कारण असोज २१ गते अनिवार्य अवकाश पाउँछन्। अधिकारी अहिले बजेट भाषण लेख्ने टोली प्रमुख हुन्।

अर्थ मन्त्रालयअन्तर्गत विभिन्न कार्यालय र विभागको प्रमुख भइसकेका अधिकारी अहिले राजस्व व्यवस्थापन महाशाखा प्रमुख हुन्। उनी यसअघि बजेट तथा कार्यक्रम महाशाखामा थिए। राजस्व अनुसन्धान विभाग तथा विभिन्न भन्सार कार्यालयको प्रमुख भैसकेका उनी बजेट लेखनमा अनुभवी कर्मचारी हुन्।