BIZMANDU
www.bizmandu.com

कुनैबेला २७ सय रुपैयाँसम्म पुगेको चिलिमेको शेयरमा किन लगानीकर्ता आकर्षित छैनन्

२०७६ जेठ ९

कुनैबेला २७ सय रुपैयाँसम्म पुगेको चिलिमेको शेयरमा किन लगानीकर्ता आकर्षित छैनन्
कुनैबेला २७ सय रुपैयाँसम्म पुगेको चिलिमेको शेयरमा किन लगानीकर्ता आकर्षित छैनन्

Tata
GBIME
Nepal Life

काठमाडौं। कुनै सयम चिलिमे हाइड्रोपावरको शेयर २७९४ रुपैयाँसम्म पुगेको थियो। हाल कम्पनीको शेयर ५२५ रुपैयाँमै खरिद गर्न पाइन्छ। दोस्रो बजारमा लगानीकर्ताको अधिक आकर्षणको केन्द्र बन्दै आएको चिलिमेको शेयर  हिजोआज भने लगानीकर्ताको रोजाइमा पर्न छाडेको छ। 

बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य घटिरहँदा पनि चिलिमेको शेयर तुलनात्मक रुपमा माथि। अहिले बाणिज्य बैंकहरुको शेयर बढिरहँदा चिलिमेको शेयर मूल्यमा भने लगातार गिरावट आइरहेको छ। 

चिलिमेको शेयर मूल्य उच्च हुँदाका बेला नेपालमा लोडसेडिङ चरम उत्कर्षमा थियो। यसले गर्दा जलविद्युत क्षेत्रका कम्पनीले राम्रो लाभ आर्जन गर्छन भन्ने मनोविज्ञान लगानीकर्ताको थियो। अहिले अवस्था फेरिएको छ। जलविद्युत कम्पनीको शेयर सूचीकृत भएकै दिनदेखि नै घट्न थाल्छ।

चिलिमेको शेयर बजार बढिरहँदा कम्पनी आफैमा उदाहरण थियो। अरुण भ्याली र बुटवल पावरलेभन्दा चिलिमेले आकर्षक लाभांस वितरण गरिरहेको पनि थियो। 

देशकै नमुना आयोजना भएकाले त्यसबेला सम्पुर्ण लगानीकर्ता चिलिमेको शेयरमा झुम्मिएको कालिका सेक्युरिटिजका प्रमुख नरेन्द्रराज सिजापती बताउँछन्। उनी सम्झिन्छन् ‘नयाँ नयाँ आयोजना निर्माण गर्ने कम्पनीको योजना सार्वजनिक हुँदै गर्दा चिलिमेको शेयरमा स्पेकुलेसन भएर पनि मूल्य बढेको थियो।’

कम्पनीले तीन वटा आयोजना निर्माण गर्ने विषयले दोस्रो बजारमा स्पेकुलेसन भएको थियो। चिलिमेले सहायक कम्पनीमार्फत लगानी गरेका सान्जेन जलविद्युत आयोजना, मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवागढी हाइड्रोपावर कम्पनीले राम्रो प्रतिफल दिने भन्दै दोस्रो बजारमा कम्पनीको बजार मूल्य २७ सय रुपैयाँ नाघेको थियो। 

स्पेकुलेसनका आधारमा कम्पनीको बजार मूल्य बढे पनि प्रतिफल भने बढ्न सकेन। पछिल्लो दुई वर्षमा यसको प्रत्यक्ष असर शेयर बजारमा परेको छ। तीन वटा आयोजनामा गरिएको दीर्घकालिन लगानीको प्रतिफल पाउन अझै केहि वर्ष कुर्नु पर्ने हुन्छ। 

सहायक कम्पनीले निर्माण गरिरहेको तीन वटा आयोजनाको निर्माण कार्य सकिएर मुनाफा बाँड्ने अवस्था आएमा चिलिमेको शेयरमा पुनः उछाल आउन सक्ने बजार विश्लेषक अर्जुन पराजुली बताउँछन्। तर तीन वटै आयोजना निर्माणाधिन अवस्थामा छन्। ती आयोजनाको निर्माण कार्य एक वर्षको अवधिमा सकिए पनि प्रतिफल दिन अझै केहि वर्ष कुर्नु पर्ने हुन्छ। 

चिलिमे दोस्रो बजारमा सूचिकृत भएसँगै अन्य कम्पनीको तुलनामा राम्रो प्रतिफल दिने कम्पनीमा पर्थ्यो। कम्पनीले विगत आठ वर्षदेखि लाभांस दिँदै आएको छ। कम्पनीले पहिलो पटक ४० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांस सहित कुल ७० प्रतिशत लाभांस दिएको थियो। 

आर्थिक वर्ष २०६७/६८ को प्रतिशेयर आम्दानी १०२ रुपैयाँ थियो। तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराइले शेयर बजारलाई जुवाघरको संज्ञा दिएपछि नेप्से सूचक २९२ सम्म तल झरेको थियो। नेप्से सूचक सबैभन्दा तल झर्दा पनि चिलिमेको शेयर मूल्य भने ६८६ रुपैयाँ थियो। १० वर्षको अन्तरालमा चिलिमेको मूल्य अधिकतम २७ सय रुपैयाँ पुगेर ५०५ रुपैयाँसम्म तल झरेको छ। 

कम्पनीले लगानी जुटाउने क्रममा बोनस शेयर दिएर चुक्ता पूँजी ७२ करोड ९६ लाख रुपैयाँबाट बढाएर चार अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ। प्रति शेयर आम्दानी १०२ रुपैयाँबाट झरेर १५ रुपैयाँमा झरेको छ। कम्पनीले पूँजी वृद्धि गरे अनुसार प्रति शेयर आम्दानीमा सुधार गर्न नसक्दा यसको प्रभाव दोस्रो बजारमा परेको  पराजुली बताउँछन्। उनले भने ‘कम्पनीले लगानी गरेका  सहायक कम्पनीको प्रतिफल पाउन अझै केही वर्ष कुर्नु पर्छ यसले गर्दा सुरुका वर्षमा जस्तो आकर्षण देखिँदैन।’ 

पूँजी बढाए अनुसार कम्पनीले प्रतिशेयर आम्दानीलाई पनि स्थिर राखेको भए मूल्यमा खासै प्रभाव पर्ने थिएन। तर राष्ट्रिय आवश्यकतालाई हेरेर कम्पनीले सहायक कम्पनी स्थापना गर्दै आयोजनामा लगानी थप्दा कम्पनीको प्रतिफलमा ठूलो प्रभाव पारेको हो।  

दोस्रो बजारका लगानीकर्ताले कम्पनीले दिने प्रतिफल तथा भोलिका दिनमा दिन सक्ने प्रतिफलको अनुमान गर्दै शेयर खरिद बिक्री गर्छन्। अहिलेको अवस्थामा कम्पनीको प्रतिफल सामान्य विकास बैंकको जति पनि छैन। साथै कम्पनीले तत्कालै उल्लेख्य प्रतिफल दिने कुनै सम्भावना पनि देखिँदैन यसले गर्दा लगानीकर्ताको आकर्षण नदेखिएको पराजुली बताउँछन्।