BIZMANDU
www.bizmandu.com

माथिल्लो त्रिशुली थ्री ए को विद्युत राष्ट्रिय प्रणालीमा, भारतीय विजुली ८ प्रतिशतले घट्ने

२०७६ जेठ २

माथिल्लो त्रिशुली थ्री ए को विद्युत राष्ट्रिय प्रणालीमा, भारतीय विजुली ८ प्रतिशतले घट्ने
माथिल्लो त्रिशुली थ्री ए को विद्युत राष्ट्रिय प्रणालीमा, भारतीय विजुली ८ प्रतिशतले घट्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ। आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्वीचयार्डको कन्ट्रोल रुममा रहेको स्वीच दवाएर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे। आयोजनाबाट परीक्षणको रुपमा विद्युत उत्पादन भइरहेको छ।

आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युतगृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थ सबस्टेसनमा जोडिएको छ। शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ। त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ। यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने छ। आयोजनाको दोस्रो युनिट (३० मेगावाट) असारको दोस्रो हप्ताभित्र संचालनमा ल्याउने गरी काम भइरहेको छ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युतको परिमाण घट्ने बताए। ‘लोड सेन्टर (काठमाडौं उपत्यका) बाट नजिक रहेको र हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ’,उनले भने, ‘यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्ने छ।’

उनले त्रिशूली ३ ए पूर्ण रुपमा संचालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशतको योगदान रहने बताए। उनले यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जा घट्ने बताए।विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको हो। आयोजनाले नै काठमाडौंको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरेको छ। यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्यत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो। इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०) मा ठेक्का सम्झौता भएको थियो।

प्रसारण लाइन निर्माणको ठेक्का चाइना वाटर एण्ड इनर्जी (सिडब्लुई) ले पाएको थियो। १७ जेठ २०७१ (३१ मे २०१४) भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौंता भएको थियो। विगतमा विद्युत गृह भूमिगत बनाउने वा सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माणमा ढिलाई भएको थियो।