BIZMANDU
www.bizmandu.com

चार दिनदेखि बढिरहेको शेयर बजारमा पाँचौ दिन ब्रेक, कारोबार रकम एक अर्ब नजिक पुग्यो

२०७६ जेठ २

Tata
GBIME
Nepal Life

काठमाडौं। लगातार चार दिनदेखि बढिरहेको शेयर बजारमा पाँचौ दिन ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोवार मापक सूचक २.२९ अंकले घटेर १३१८.७१ अंकमा झरेको छ।

सेन्सेटिभ सूचक ०.८१ अंकले घटेर २८१.४४ अंकमा  झर्यो। अल्पकालीन लगानीकर्ताले छोटो समयमा बढेको शेयरको नाफा सूरक्षित गर्दा समग्र बजारमा झिनो अंकको गिरावट देखिएको हो।

गएको चार दिनमा सूचक २९.०४ अंकले बढेको थियो। यस साता बजार आइतबारदेखि बुधबारसम्म लगातार बढेको थियो।

बिहीबार कारोबारको पहिलो आधा घण्टा बजारमा चार अंकको सुधार देखिएको थियो। त्यसपछि घटेको बजारले कारोबार अवधिभरिनै बृद्धि कायम गर्न सकेन।

सूचक सामान्य घटेको भएपनि कारोबार रकम झण्डै एक अर्ब रुपैयाँ पुगेको छ। स्थिर सरकार र आउँदो बजेटमा शेयर बजारका बारेमा राम्रै सम्बोधन हुने लगागतका चर्चाले बजारलाई फराकिलो अंकले घट्नबाट जोगएको छ।

बजेट पूर्वका केही कारोबार दिन बजारमा सुधार हुने परम्पराले यस बर्षपनि निरन्तरता पाएको छ।

केही लगानीकर्ताले बजेट पूर्वकै लागि भनेर केही समय अघिनै शेयर खरिद गर्ने गरेका छन्। तीनै लगानीकर्ताले पछिल्लो समय बिक्री चाप बढाउँदा कारोबार रकम बढेको हो।

उनीहरुले बजेटलाई आधार बनाएर शेयर बिक्रीलाई तिब्रता दिएका छन् भने बजेटको बाहानामा नवप्रवेशी लगानीकर्ताले शेयर खरिद गरिरहेका हुन्।  

यस दिन १७३ कम्पनीका ९४ करोड ७६ लाख रुपैयाँको शेयर खरिद बिक्री भए। सबैभन्दा बढी शिवम् सिमेन्टको १३ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

कारोबारको सुरुवातमा घटेर पाँच सय रुपैयाँमा झरेको सूचक कारोबारको अन्त्यमा बढेर सर्किट लगेको छ।

१० प्रतिशत प्रतिकित्ताको मूल्य बढ्दा ५ सय ७२ रुपैयाँमा शिवमको अन्तिम कारोबार भयो। दोस्रो बढी कारोबार नेपाल बैंकको  भयो। बैंकको ६ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।

११ समूहको कारोबारमा ६ समूहको  शेयर मूल्य घटेको छ। पाँच समूहको शेयर मूल्य बढेको छ। सबैभन्दा बढी उत्पादनमूलक समूहको ३.८९ प्रतिशतले उपसूचक बढेको छ। लघुबित्त समूहको उपसूचक ०.३४ प्रतिशतले घट्यो।