BIZMANDU
www.bizmandu.com

फूलबारी रिसोर्टमा मेरियट होटल छिराएर ऋण पुनर्संरचना गर्ने तयारी, अमात्यसँग कागज मागियो


फूलबारी रिसोर्टमा मेरियट होटल छिराएर ऋण पुनर्संरचना गर्ने तयारी, अमात्यसँग कागज मागियो
फूलबारी रिसोर्टमा मेरियट होटल छिराएर ऋण पुनर्संरचना गर्ने तयारी, अमात्यसँग कागज मागियो

Tata
GBIME
Nepal Life

काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन 'मेरियट' भित्र्याउने सर्तमा फूलबारी रिसोर्टले डुबाएको ऋण सल्टाउन बैंकहरु सहमत भएका छन्। नेपाल बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत गएको ऋण उठाउन बैंकहरुले लचकता अपनाउने भएका छन्।

नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले फूलबारीलाई ऋण दिएका थिए। लामो समयदेखि ऋण भुक्तानी नगरेपछि  बैंकले आगामी असार मसान्तसम्म लिलामीमा लैजाने तयारी गरेपछि फूलबारीका सञ्चालक ऋण तिर्ने नयाँ ब्यवसायिक योजना लिएर आएका छन्।

उनको प्रस्ताबमाथि बुधबार ऋण दिने संस्थाहरुबीच छलफल भएको छ। 'क्रोनिक ऋणलाई धेरै समय राखेर पनि हुँदैन। कि लिलाम गर्नु पर्यो कि त अन्य ढंगले उठाउनु पर्यो' सहवित्तीयकरणको नेतृत्व गरेको नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले भने, 'असारअघि नै कुनै ब्यवसायिक योजना ल्याएर ऋण टुङ्ग्याए हामी सहजीकरण गर्छौं। नभए लिलामीमा जान्छौं।'

फूलबारीका सञ्चालक पीयुषबहादुर अमात्यले 'मेरियट' लाई भित्र्याउनका लागि केही 'रिनोभेसन' र मर्मत गर्नु पर्ने भन्दै त्यसका लागि सीमित जग्गा बेच्न दिनका लागि प्रस्ताब गरेका थिए। 

'फूलबारीको प्रस्ताबमाथि छलफल भएको छ। सबै जना सकारात्मक छौं' राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिजमाण्डूसँग भने, 'हामीले केही कागजपत्र मागेका छौं। त्यो आएपछि प्रकृया अगाडि बढ्छ।'

बैठकले अमात्यसँग मेरियट ल्याउनका लागि भएको समझदारी पत्र, उसले राखेका सर्त र होटल नै चलाउने भनेर तयार पारिएको योजनाहरु माग गरेको छ। अमात्यले त्यो बुझाइसकेपछि बैंकहरुले सीमित जग्गा बिक्री गर्न दिने पक्षमा छन्।

'कसरी हुन्छ अब टुङ्ग्याउनु पर्छ' श्रेष्ठले भने, 'फूलबारीमा मेरियट नै आउने र होटल चलाउने हो भने त्यसका लागि केही सहजीकरण गरिदिनु पर्छ।' जग्गा बेच्न दिनुअघि बैंकहरुले ऋणको पुनर्संरचना गर्ने छन्। 

फूलबारीले मेरियटलाई होटल जिम्मा लगाउनुअघि उसको 'स्ट्न्डर्ड' मा पूर्वाधार तयार पारेर दिनु पर्छ। त्यसका लागि अमात्यले होटलको केही जग्गा बिक्री गर्ने योजना बनाएका हुन्।

बैंकहरुले ऋण भुक्तानी हुने गरी जग्गा बिकरी गर्न दिने योजना बनाएका छन्। अमात्यले बैंकहरुसँग १ अर्ब ३१ करोड ऋण लिएका थिए। ऋण नतिरेपछि त्यो बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। बैंकहरु जरिवाना र ब्याज केही हदसम्म मिन्हा गरेर ऋण टुङ्ग्याउने पक्षमा छन्।

फूलबारी होटल परिसरमा करिब २५० रोपनी जग्गा छ। अमात्यले यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्रवहादुर कार्की अर्थमन्त्री हुँदा ब्याज मिन्हा गराउन पहल गरेका थिए। देउवा र कार्कीले रिसोर्ट लागि लिएको ऋणको ब्याज मिनाहाका लागि दबाबसमेत दिएका थिए। 

बैंकहरुले  १९६ करोडबाट १८७ करोड रुपैयाँमा ऋण दायित्व झारिदिए। बैंकहरुले घटाइ दिएको दायित्वमा अमात्यले चित्त बुझाएनन् र फेरी प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्की गुहार्न पुगे। देउवाले अमात्यको ऋणमा सहयोग पुर्याउन अर्थमन्त्री कार्कीलाई जिम्मा दिए। कार्कीले बैंकका सञ्चालक समिति तथा माथिल्लो ब्यवस्थापनलार्इ बोलाएर अमात्यले तोकेको १५० करोड तिरेर दायित्वमुक्त गर्न निर्देशन दिए।
 
अमात्य नेपाल स्टिल प्रालि, माउण्ट एभरेष्ट ब्रुअरी, एभरेष्ट आइसक्रिममार्फत ऋण लिएर नतिरेपछि २०६२ पुस १८ गते नै उनी कालोसूचीमा परिसकेका छन्।

सुरुमा फुलबारीमा ९८ करोड रुपैयाँ लगानी भएको थियो। पछि त्यसलाई बढाएर अमात्यले १३१ करोड रुपैयाँ ऋण पुर्याएका थिए। 

कुल ऋण दायित्व २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। झण्डै दुई वर्षअघि फूलबारीको मूल्यांकन गर्दा २ अर्ब २५ करोड रुपैयाँ थियो। कुनैपनि कम्पनीको मूल्यांकन गरेपछि दुई वर्षलाई मान्य हुन्छ। अहिले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएकोले जग्गाको भाउ आकासिएको छ। स्रोतका अनुसार अहिले यो रिसोर्टको मूल्य पाँच अर्बभन्दा माथि पुगिसकेको छ। फूलबारी रिसोर्ट दुई अर्ब रुपैयाँभन्दा बढीमा किन्न स्वदेशी लगानीकर्तासमेत तयार छन्।
 
फुलबारीको ऋण नतिरेपछि बैकहरुको सिफारिसमा कर्जा सुचना केन्द्रले २०७२ जेठ २५ गतेबाट उनीसहित विनोदवहादुर अमात्य, दमनवहादुर अमात्य, गंगा अमात्य र सञ्चु अमात्यलाई कालोसुचीमा राखेको छ।