BIZMANDU
www.bizmandu.com

बौद्ध र चापागाउँलाई पछ्याउँदै सुनाकोठीमा आन्दोलन : सडक पिचको माग गर्दै जनता सडकमा

२०७६ जेठ २

Tata
GBIME
Nepal Life

काठमाडौं। उनले झोलाबाट एउटा प्लाष्टिकमा बेरिएको चप्पल निकाले। जुत्ता खोलेर प्लास्टिकको त्यही झोलामा प्याक गरे। उनीसँगै रहेकी छोरी बोकेर ढम्मढम्म पानी पार गरे।

श्रीमती उनकै पछि सुरुवाल माथि सारेर पानी पार गर्न कस्सिइन्। तर अचम्मको कुरा जुन ठाउँमा उनी पानी पार गर्दै थिए त्यो कुनै खोला थिएन। तर प्रताव तामाङको परिवारका लागि भने यो खोला भन्दा कम थिएन।

घटना ललितपुरको सुनाकोठीको हो। वर्षाको बेला बाटोमा खोला बग्ने भएकाले प्रताव तामाङ झोलामा चप्पल राख्न छुटाउँदैनन्। आजको झरीले पनि उनलाई धुरुक्कै रुवायो। ‘ एकदमै दु:ख पाइयो। ललितपुर भनेर के गर्नु सधैँ यसरी नै चप्पल बोकेर हिँड्नुपर्छ,‘ उनले दु:खेसो पोखे।

प्रतावले पानी भल्को पार गरेपछि फेरी जुत्ता लगाए, अनि साथमा ल्याएको चप्पल झोलामा राखेर आफ्नो गन्तव्य लागे।

प्रतावकै जस्तो दु:ख सबैलाई परेपछि सुनाकोठीका बासिन्दाले आजबाट सडक बन्द गर्दै सवारी साधन चलाउन रोक लगाएका छन्। सुनाकोठीका स्थानीयले सडक बन्द गर्नुको जस भने चापागाउँ र ठेचोका बासिन्दाले सरकार विरुद्ध सुरु गरेको आन्दोलनलाई जान्छ।

एक हप्ताअघिदेखि चापागाउँका स्थानीयहरुले सडक निर्माण गर्नुपर्ने माग गर्दै दैनिक केही घण्टा गाडी रोकेर विरोध प्रदर्शन सुरु गरेका थिए। चार दिनदेखि भने उनीहरू सडक नै बन्द गरेर आन्दोलमा उत्रिएका छन्।

सुनाकोठीका युवाहरुले पनि आफ्नो ठाउँको सडक बन्नुपर्ने माग गर्दै ठेचो र चापागाउँका युवाहरुसँग हातेमालो गरेका हुन्। ‘ स्थानीय प्रशासनले हाम्रो कुरा सुन्दै सुनेनन्। धुलो, धुँवा र हिलोको पिडा कति सहनु। सडक व्यवस्थित होस् भनेर साङ्केतिक आन्दोलनमा उत्रिएका हौँ,‘ आन्दोलन मै भेटिएका युवक अशोक महर्जनले भने।

महर्जन लगायत ठेचो र चापागाउँका स्थानीयहरुले मंगलबार सडक विभागमा पुगेर सहमति गर्ने प्रयास गरेका थिए। तर, सडक विभागका अधिकारीले हाललाई ग्राभेलले सडक सम्याएर सडक गुड्न योग्य बनाउने र सडक बिस्तारपछि मुआब्जा वितरण गर्ने बताएपछि स्थानीयहरु आक्रोशित भएका हुन्।

सडक विभागसँग सहमति नभएपछि उनीहरुले सडक अबरुद्ध गरेका छन्। लगनखेल बसपार्क हुँदै सुनाकोठी, ठेचो, चापागाउँ, बज्रबाराही, लेले, टिका भैरव जाने सार्वजनिक र निजी सवारी साधन चल्न सकेका छैनन्।

सडक खुलाउने विषयमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन स्थानीयहरुसँग अहिले वार्तामा छन्। पहिलोपोस्टसँग कुरा गर्दै उनले भने,' सहमतिका लागि वार्ता हुँदैछ। आजै बाटो खुलाउने हाम्रो प्रयास हुन्छ।'

प्रमुख महर्जनले नगरपालिका स्थानीयहरुसँगै रहेको भन्दै टाहाखेलबाट बाटोमा ग्राभेल गर्ने काम सुरु भइसकेकोले अब सडक संचालन गरेर सबैले सहयोग गर्नुपर्ने बताउँछन्।

२२ मिटर चौडा बाटोको सन्दर्भमा भने उनले जनता आक्रोशित हुनु स्वभाविक रहेको बताए। भने,'प्राधिकरणले पैसा नदिने भनेपछि विरोध भएको हो। त्योभन्दा ठूलो सडक कालोपत्रे गर्नुपर्ने माग हो। त्यो कार्य सुरु भएको छ।'

तर स्थानीयहरु भने प्रमुख महर्जनले आश्वासन मात्रै दिएको सडक कालोपत्रे गर्ने कार्य उनको अधिनमा नरहेको भन्दै सडक खुलाउने पक्षमा छैनन्।

स्थानीय रामकृष्ण मानन्धर प्रतिनिधि सभा सदस्य पम्फा भूसाल र नवराज सिलवालसहितको जनप्रतिनिधि मिलेर मन्त्रालयमा जाँदा त काम नहुँदा मेयरको आश्वासनले मात्रै सडक कालो पत्रे नहुने बताउँछन्।

भन्छन्,'जनताको माग सडक कालो पत्रे गर्नु मात्रै होइन। मुआब्जाको सुनिश्चितता हो। हामी मुआब्जा बिना आफ्ना घर भत्काउँदैनौं।'

२०७१ सालमा नै ललतिपुरको सातदोबाटोदेखि चापागाउँको टाहाखेलसम्मको सडक निर्माणको ठेक्का भइसकेको थियो। सातदोबाटोबाट चापागाउँसम्म दायाँबायाँ ११- ११ मिटर गरि फराकिलो सडक बनाउने गरि ठेक्का भएको थियो।

त्यसैबेला सडक फराकिलो बनाउने भन्दै कतिपय स्थानमा घर र अन्य संरचना भत्काइएको थियो। तर मुआब्जा विवादका कारण सडक निर्माण सम्पन्न हुन सकेको थिएन। मुआब्जा पनि नदिने र भत्किएको सडक पनि नबनाएर आफ्नो स्वास्थ्यसँग खेलवाड गरेको भन्दै स्थानीयहरु अहिले सडकमा उत्रेको मानन्धर बताउँछन्।

गोदावरी नगरपालिका वडा १२ का अध्यक्ष जगत बहादुर महर्जन उपत्यका विकास प्राधिकरणले नगरपालिका र वडालाई सडक विस्तारमा सहयोग गर्न पत्राचार गरेको तर घर भत्काए वापत मुआब्जा भने दिन नसक्ने भनेपछि स्थानीयहरुले सडक विस्तारको विरोध गरेको बताउँछन्।

अध्यक्ष महर्जन केन्द्र सरकारले दोहोरो चरित्र देखाउँदै स्थानीय जनताको मागको वेबास्ता गरेको भन्दै भन्छन्, '२२ मिटरको बाटो बनाउँने भनेर पत्रचार गरेको प्राधिकरणले क्षतिपूर्तिलाई भने पैसा छैन भन्यो। बाटो बनाउन आनाकानी गर्‍यो। सडक बनाउन पैसा छ तर जनतालाई क्षतिपूर्तिलाई पैसा छैन भनेपछि त जनता सडकमा उत्रिने नै भए।'

महर्जन यो आन्दोलन सडक विस्तारको विरोधका लागि नभइ बाटो कालोपत्रे गर्न, हिलो, धुलोधुवाँ, बन्द होस् भनेर जनताले स्वस्फूर्त रुपमा सुरु गरेको बताउँछन्। ललितपुरबाट प्रतिनिधि सभा सदस्य पम्फा भूसाल र नवराज सिलवाल सहित स्थानीय जनप्रतिनिधिहरुले मिलेर हाल रहेको बाटोलाई कालोपत्रे गर्ने र बाटो विस्तारको काम त्यसैसँग सुरु गर्ने निर्णय गरेर मन्त्रालयमा जाँदा मन्त्रालय र प्राधिकरणले 'सकारात्मक प्रतिक्रिया' नदिएको बताउँछन् उनी।

सडकको अवस्थाका कारण आफू समेत वडा कार्यलयमा बस्न नसकेको भन्दे महर्जनले सडक विस्तारमा घर परेकाहरु वडामा आएर क्षतिपूर्तिको बारे सोध्दा आफुहरु नाजवाफ हुने गरेको बताए।

नेपाल कम्युनिष्ट पार्टी ठेचोका अध्यक्ष न्हुछेराम महर्जन जनता आफै सडकमा नआएसम्म यो सडक बन्ने नदेखेकोले यो आन्दोलन भएको तर्क गर्छन्। आजबाट सुनाकोठीबाट नै गाडी रोकेको र योक्रम अब विस्तारै धापाखेल हुँदै अरु स्थानमा सर्ने उनको दाबी छ। उनले प्राधिकरण र सडक विभागमा गएर सडक बनाउन पर्‍यो नत्र सडक बन्द गर्‍छौं भन्दा उल्टै 'बन्द गर्नुस्, दु:ख तपाईँहरुलाई नै हुने हो’ भनेर पठाएको बताए।

गोदावरी नगरपालिकाले सडक आफै कालोपत्रे गर्छु भनेर प्रस्ताव पनि गरेको थियो तर सडक विभागले स्वीकृति नदिएको अध्यक्ष महर्जनको दाबी छ। उनले यो आन्दोलनमा जनप्रतिनिधिहरुको पनि नैतिक समर्थन रहेको बताउँदै परे आफूहरु पनि सडकमा ओर्लने बताए।

हाल सातदोबाटोबाट चापागाउँ सम्मको करिब ६ किलोमिटर बाटोमा करिब डेढ किलोमिटर सडकमात्रै कालोपत्रे भएको छ। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल खुमलटारमा सरेपछि बाटो नबनेको भन्दै स्थानीयहरुले केही महिना अघि यसै गरी बाटो रोकेपछि दाहाल ओहोरदोहोर गर्ने सडकखण्ड हतार हतार कालो पत्रे गरिएको थियो।