BIZMANDU
www.bizmandu.com

६ जना मालपोत कर्मचारी विरुद्ध मुद्दा, नक्कली रसिदबाट राजस्व संकलनः संकलित रकम पनि आफ्नै खातामा

२०७६ जेठ २

Tata
GBIME
Nepal Life

काठमाडौँ। नक्कली रसिदबाट राजस्व सङ्कलन गरी राज्यकोषको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख राजराजेश्वर त्रिवेदीसिहत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मालपोतको रजिस्ट्रेशन शाखाको फाँट नम्बर ३ का अन्य दुई कर्मचारी नायव सुब्बा मदन प्रसाद गुप्ता र लेखापाल युगल किशोर ठाकुरलाई पनि अख्तियारले विपक्षी बनाएको छ।

अनियमितता लुकाउन बदनियतपूर्ण रूपमा लेखा परीक्षण प्रतिवेदन तयार गरेको अभियोगमा आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय, बाराका लेखापालद्वय प्रवीण गौतम र कमल खतिवडा तथा महालेखा परीक्षकको कार्यालय, बबरमहलका निर्देशक अजय कुमार सापकोटालाई पनि प्रतिवादी कायम गरेको छ।

अख्तियारका अनुसार २०७४ कात्तिक २० देखि २०७५ साउन २८ सम्म तीन करोड ३७ लाख ९८ हजार ७४६ रुपैयाँ सक्कली रसिद प्रयोग राजस्व सङ्कलन गरेको तथा सोही अवधिमा नक्कली रसिद प्रयोग गरी एक करोड ३५ लाख ७० हजार २९४ रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो।संकलित चार करोड ७३ लाख ६९ हजार ४० रुपैयाँमध्ये दुई करोड ५० लाख ८६ हजार ६४० सरकारी कोषमा दाखिला नगरेको अख्तियारको आरोप छ।

रजिष्ट्रेसन फाँटका प्रमुख गुप्ताले आफू कार्यरत अवधिमा बुझिलिएको राजस्व रसिद, सक्कल लिखत र सोसँग सम्बन्धित अन्य कागज प्रमाण, लिखत दर्ता किताब, समेत कार्यालयमा नबुझाएको अख्तियारको आरोप छ। उक्त कार्यका लागि मालपोत प्रमुखसँग नै मिलेमतो रहेको निष्कर्ष अख्तियारको छ।राजस्व दाखिला गरेको सक्कल कागजात, बैङ्क भौचर समेत नरहेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।