BIZMANDU
www.bizmandu.com

देशभर खपत हुने केराको आधा आपूर्ति चितवनबाट, एक वर्षमा डेढ अर्बको केरा बिक्री हुन थाल्यो

२०७६ बैशाख ३०

देशभर खपत हुने केराको आधा आपूर्ति चितवनबाट, एक वर्षमा डेढ अर्बको केरा बिक्री हुन थाल्यो
देशभर खपत हुने केराको आधा आपूर्ति चितवनबाट, एक वर्षमा डेढ अर्बको केरा बिक्री हुन थाल्यो


Tata
GBIME
Nepal Life

चितवन । चितवनबाट वार्षिक डेढ अर्ब रुपैयाँको केरा बिक्री हुने गरेको छ । केराको घरेलु मागमध्ये आधा (५० प्रतिशत) आपूर्ति चितवनबाटै हुने गरेको छ।

गत आर्थिक वर्ष चितवनमा दुई हजार ६ सय बिघामा गरिएको केराखेतीबाट ४० हजार मेट्रिक टन केरा उत्पादन भएको चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले जानकारी दिए ।

वार्षिक उत्पादन चालु आर्थिक वर्षमा ५० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । पाँच वर्षअघिसम्म चितवनमा केरा वार्षिक उत्पादन २५ हजार मेट्रिक टन र कारोबार वार्षिक ३५ करोड रुपैयाँ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा सरकारले संचालन गरेको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत चितवन केराखेतीका लागि छानिएको जिल्ला हो ।

तीन हजार बिघामा केरा बगान रहेको चितवनमा एक हजार जना किसान केराखेतीमा संलग्न छन् ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चितवनलाई गत वर्ष केरा जोन घोषणा गरेपछि केराखेतीतर्फ किसान आकर्षित भएका छन् जसले चितवनमा केराखेती गरिने क्षेत्रफल, उत्पादन र कारोबार सबै बढेको छ ।

चितवनबाट उत्पादित केरा बिक्री भएर जिल्लाबाहिर काठमाडौँ, पोखरा, बुटवल र बाग्लुङसम्म पुग्ने गरेको छ । चितवनमा २०५१ सालदेखि नै व्यवसायिक रुपमा केराखेती सुरु गरिएपनि २०६२ सालपछि यसले ब्यापकता पाएको हो ।

रत्ननगर क्षेत्रबाट सुरु भएको केराखेती बिस्तारै पिठुवा, जुटपानी, पदमपुर, चैनपुर हुँदै जिल्लाका विभिन्न क्षेत्रमा पुगेको छ ।

केरा जोन अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर एक, कालिका नगरपालिकाको वडा नम्बर एकदेखि आठसम्म, रत्ननगर र खैरहनी नगरपालिकाभित्रका सबै वडा समावेश छन् ।

केरा जोन बाहिरका माडी, मेघौली र जगतपुरमा पनि व्यावसायिकरुपमा केराखेती हुँदै आएको छ ।

केराको शत्रु हावाहुरी र रोग

चितवनका केरा किसानले हावाहुरीबाट केरा ढल्ने समस्या मुख्य रुपमा भोग्दै आएका छन् । त्यसपछिको ठूलो समस्याको रुपमा देखिएको गुभो कुहिने रोगको अहिलेसम्म उपचार पत्ता लागेको छैन । कुनै केरामा गुभो कुहिने समस्या देखिएमा उखेलेर फाल्नुको विकल्प नभएको केराखेती गरिरहेका किसानहरु बताउँछन् ।

चितवन र नवलपरासीका विभिन्न क्षेत्रमा गरी ६० बिघामा केराखेती गर्दै आएका यज्ञप्रसाद सुवेदी विरुवा लगाउने बेलामा निरोगी बोटबाट बिरुवा निकाल्नु सबैभन्दा राम्रो उपाय भएको बताउँछन् ।

‘गुभो कुहिने रोगको अहिलेसम्म उपचार सेवा पाएका छैनौँ । बोट नै काटेर फाल्दै आएका छौँ । यो बर्षेनी बढ्दै छ’ उनले भने ।

केराको गुभो कुहिने रोगको समस्याबारे केही वर्ष पहिले राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) बाट अध्ययन भएको थियो । उक्त अध्ययनले ब्याक्टेरियाको कारण गुभो कुहिने पत्ता लगाएपनि प्रभावकारी उपचार भने पत्ता लागेको छैन ।

एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत बेलाबेलामा केराखेतीका लागि आवश्यक पर्ने हाते ट्रेक्टर, स्प्रे मेशिन ५० प्रतिशत अनुदानमा वितरण गरिँदै आएको कार्यक्रम कार्यान्वयन समितिका संयोजक तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिए ।

सात लाख पर्ने हाते ट्रेक्टर केराखेती गर्ने किसानलाई तीन लाख ५० हजार रुपैयाँमा उपलब्ध गराइएको उनले बताए । दर्जनौं किसानले यस्तो सहुलियतमा हाते ट्रेक्टर लिएका छन् । चितवनमा केराखेती बिस्तारमा एक गाउँ एक उत्पादन कार्यक्रमको सकारात्मक प्रभाव देखिन्छ ।

मालभोगतिर मन

चितवनमा खेती गरिने केराका मुख्य दुई जात हरियो र मालभोग हुन् । मालभोग परम्परागत जात हो भने हरियो आधुनिक । मालभोग केरा पाकेपछि बोक्रा पहेँलो हुन्छ । हरियो केरा भने पाकेपछि पनि बोक्रा हरियै हुन्छ । हरियो केरा सस्तोमा बिक्छ भने मालभोग महँगोमा ।

त्यसैले चितवनमा एकतिहाई किसानले हरियो र दुईतिहाई किसानले मालभोग केरा लगाउँछन् । केराखेती गरिने क्षेत्रमध्ये ८० प्रतिशत भूभागमा मालभोग केराको बगान छन् ।

नयाँ माटोमा मालभोग जातको केरा राम्रोसँग फल्ने भएकोले भर्खरै केराखेती सुरु गरेका किसान मालभोगतिरै आकर्षित हुन्छन् । ‘चितवनमा सबैतिर मालभोग केराको खेती बढी छ’ चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णुहरि पन्त भन्छन्, ‘मालभोग केरालाई रोगले सजिलै आक्रमण गर्ने हुँदा जोखिम पनि बढी छ । मालभोगको उत्पादन पनि राम्रो र भाउ पनि पाउने हुनाले किसानहरुको मन मालभोगतिरै छ ।’

मालभोग केरा मिठो हुने र स्वास्थ्यका लागि पनि फाइदाजनक भएकोले यसको बिस्तारमा सरकारले ध्यान पुर्याउनु पर्ने पन्त बताउँछन् ।
हरियो जातको केरा एक कोसाको दुई रुपैयाँदेखि दुई रुपैयाँ ५० पैसासम्म किसानले पाउँछन् ।

मालभोग केरा भने बगानबाटै चार रुपैयाँदेखि पाँच रुपैयाँ प्रतिकोसाका दरले बिक्री हुन्छ । सिँचाईको उचित प्रबन्ध गरी टिस्युकल्चर गरिएको बिरुवा लगाएर बगानको सरसफाईमा ध्यान दिन सक्ने हो भने मालभोग जातको केराको उत्पादन अझ बढाउन सकिने किसानहरु बताउँछन् ।