BIZMANDU
www.bizmandu.com

अन्नपूर्ण होटललाई नयाँ मोड दिँदै वर्कोहलिक सिर्जना, ‘कन्फिडेन्ट छु, च्यालेन्ज स्विकार्छु’


अन्नपूर्ण होटललाई नयाँ मोड दिँदै वर्कोहलिक सिर्जना, ‘कन्फिडेन्ट छु, च्यालेन्ज स्विकार्छु’
अन्नपूर्ण होटललाई नयाँ मोड दिँदै वर्कोहलिक सिर्जना, ‘कन्फिडेन्ट छु, च्यालेन्ज स्विकार्छु’

काठमाडौं। काठमाडौंको दरबारमार्ग ठाउँका हिसाबले सबैभन्दा उम्दा र आकर्षक। नारायणहिटी दरबारको छेवैमा पाँचतारे होटल अन्नपूर्ण ५३ वर्षअघि खुलेको थियो। यसमा राजपरिवारका सदस्यहरुको लगानी रहेका कारण पनि यो सँधै चर्चामा रह्यो। त्यही होटलमा ११ वर्षअघि कार्यकारी निर्देशकका रुपमा उदाइन् सिर्जना राणा। आफूलाई कुनै बर्ग विशेषभन्दा पनि पश्चिम नेपालकी छोरी भनेर चिनाउन मन गर्ने सिर्जना र होटल अन्नपूर्ण अहिले एकअर्काका पर्याय बनिसकेका छन्। 

Tata
GBIME
Nepal Life

सिर्जनाले होटल अन्नपूर्णको जिम्मेवारी सम्हालेको एक दशक नाघिसक्यो। सिर्जनाले कमान सम्हाल्दा 'अर्काले रेडी पारेर अघि सारिदिएको थाल' उठाएको बचन सुन्नुपरेको नमिठो अनुभव उनीसँग रहेछ। त्यसैले जिम्मेवारी सम्हालेको दिनदेखि नै उनलाई यौटै मात्र ईख थियो 'जसरी पनि आफ्नो क्षमता प्रमाणित गरेरै छोड्छु।'

दरबारिया खलकका कपिल शमशेर राणासँग बिवाह गरेपछि 'आफ्नै होटल'का रुपमा अन्नपूर्णसँग सिर्जनाको नाता जोडिएको थियो। तर पढाई र क्षमता होटल व्यवस्थापनमा नै भएकोले होटललाई सफलतातिर डोहोर्याउन सकेको सिर्जना घमण्ड गर्छिन्। उनको क्षमता र काम गर्नसक्ने खुबीको पहिचान गरेरै कार्यकारी निर्देशकको स्थान पाएको उनी बताउँछिन्।

गेस्टले खाएको प्लेट उठाउन पछि पर्दिनन्

एक दशकमा ब्यवसायमा फड्को मार्दै अन्नपूर्णलाई दिलाएको सफलताले सिर्जनाको व्यवस्थापन क्षमतालाई प्रमाणित गरिसकेको छ। होटल एसोसिएसन नेपालकी वरिष्ठ उपाध्यक्षका रुपमा गरेका कामले पनि उनलाई नेतृत्व तहमा उम्दा बन्न सघाएको छ।

अन्नपूर्ण होटलको भब्य कार्यकक्षमा बसेर सिर्जनाले हस्पिटालिटी क्षेत्रमा स्टाफले मात्र होइन उद्यमीले पनि के के गर्न सक्नुपर्छ भन्दै औंला भाँचिन्। 'म त परिआएको खण्डमा गेस्टले खाएको प्लेट उठाउन पछि पर्दिन। किनकी म त्यही पढेर सिकेर भिजेर आएकी हुँ।'-  होटल व्यवस्थापन पढ्नु र केही वर्ष अन्य होटलमा काम गरेर पछि मात्र अन्नपूर्णको नेतृत्वमा पुग्नुले सिर्जनालाई यति लचिलो बनाएको हो। 

उनी सँधै अफिसमा बस्दिनन्। उनी त लवीमा घुम्छिन् गार्डेनिङ हेर्छिन्। अचानक होटलको किचेनमा  पसिदिन्छिन्।  रेष्टुरेन्टमा खाना बनाइरहेका सेफलाई के कसरी बन्दैछ सोध्न र चाख्न पनि भ्याउँछिन्। भान्छामा प्लास्टिकको प्रयोग धेरै नगर्न कराइरहनुपर्छ। फोहोरको व्यवस्थापन उनलाई सबैभन्दा बढी चिन्ता लाग्छ। पाहुनाले तिरेको मूल्य अनुसारको सेवा सुविधा कसरी दिने भनेर स्टाफहरुलाई सिकाइरहन्छिन्।

'मलाई धेरैले कस्तो किचकिचे मान्छे पनि भन्छन्। तर मलाई थाहा छ व्यवस्थापन कसरी गर्नुपर्छ। मैले गेस्टलाई दिने सेवा पर्फेक्ट छ कि छैन मैले हेर्नै पर्छ। मलाई अनुशासन चाहिन्छ। कसैले मलाई ५ सय तिर्छ भने के का लागि तिरेको हो त्यसको जस्टिफिकेसन मैले दिनैपर्छ।'- व्यवस्थापनका लागि चाहिने बोल्ड नेचर छ सिर्जनासँग। सँगसँगै ससाना कुरामा रमाउने बानी पनि। सुनाइन् 'जानेबेला गेस्टले लेखेर छोड्ने कमेन्टमा जब स्माइली फेस देखिन्छ नि त्योबेला म अत्यधिक खुशी हुन्छु।'

सिर्जनाका पूर्खाहरु गुल्मीबाट नेपालगंज पुगे। तेस्रो पुस्ताका रुपमा काठमाडौंमा जन्मिइन् सिर्जना। सेन्टमेरिजबाट स्कुलिङ सकेकी सिर्जना भारतस्थित आइटिसी कलेजबाट होटल म्यानेजमेन्टमा डिग्री सकेर नेपाल फर्किइन्। सिर्जना साढे १ वर्षकै छँदा बुवाको मृत्यु भयो।

एकल आमाले हुर्काएकी सिर्जना सानैदेखि हक्की र निडर स्वभावकी थिइन्। भाई र आफूबीच फरक नगरी आमाले दिएको अवसर र वातावरणले सानैदेखि सिर्जनालाई बोल्ड बन्न सघायो। 'सिंगल मदर'ले हुर्काएकै कारण उनलाई महिलाको शक्तिबारे सानैदेखि ज्ञान भएको महसुस गर्छिन्।

खलिल जिब्रानले आफ्नो चर्चित कविता 'बालक' मा भनेका छन्

तिमी त्यस्तो धनु हौ जसबाट तिम्रा सन्तानहरू छुट्छन्,

जीवित वाणहरू जस्तै ।

धनुर्धारीले अनन्त पथमा ताक्छ

र वाणलाई सकेसम्म तीव्र गतिले पर पुर्याउन,

तिमीलाई आफ्नो बलले नुगाउँछ……

यसैगरी नुगाइन् सिर्जनाले पनि आफ्नी आमालाई। एभरेज स्टुडेन्टका रुपमा सेन्टमेरिजबाट पढाइ सकेकी सिर्जना सानैदेखि चुलबुले। धेरै गफिन पर्ने साथीहरुसँग पनि खुबै हाँस्न जिस्किन पर्ने। उनी स्वभाबले नै धेरै मानिसहरुसँग घुलमिल हुन सक्ने। अब मेरो स्वभावले त पढ्ने हस्पिटालिटी नै हो। उनले ठहर गरिन्। तर होटल ब्यबस्थापन पढ्न मन गर्नु त्यस समयको 'अड डिसिजन' मानिन्थ्यो।

डाक्टर, इन्जिनियर बन्नुपर्ने दबाबले भरिएको समय। झन् छोरीमान्छेले होटल व्यवस्थापनसम्बन्धी पढाई गर्दा इज्जतै फालेको ठहर्याउने समाज। आखिरमा सिर्जनालाई उनकी आमाले त्यही दिशातर्फ हुत्याइदिइन् जहाँ पुग्नु नै उनको प्यासन थियो। त्यसैले खलिल जिब्रानको यो कविता सिर्जनाले सँधै सम्झिरहने मन्त्र जस्तै बनेको छ। बेलायतमा पढिरहेका छोरा र छोरीको हुर्काइका क्रममा पनि उनले यही कविता अनुसरण गरिरहेको बताइन्।

प्यासनलाई प्रमाणित गर्दै

पढाइ सकेर नेपाल फर्केपछि उनले महाराजगंजमा वेलकम ग्रुपले नै खोलेको तारे होटलमा काम थालिन्। भारतकै ओवरोयबाट होटल म्यानेजमेन्टमै डिग्री गरेर कपिल पनि त्यहीँ काम गर्न आइपुगे। संयोग भनौं दुबैको भेट होटलमै भयो। कामको सिलसिलामा नजिकिँदै गर्दा उनीहरु आत्मीय बने। भेटको तीन वर्षपछि उनीहरुको पढाइ र काममात्रै एउटै भएन, छत पनि उही भयो। २७ वर्षअघि कपिलसँग भएको विवाहले नै हस्पिटालिटी क्षेत्रप्रतिको प्यासनलाई प्रमाणित गर्ने अवसरका रुपमा पाएको सिर्जना स्विकार्छिन्। 

पर्यटन क्षेत्रमा लागेपछि कैयन् उतारचढावलाई नजिकबाट देखेकी सिर्जनालाई द्वन्द्वको समयमा क्रयास भएको होटललाई ब्यूँझाउने श्रेय जान्छ। युनियनको आन्दोलन र ब्यापार ठप्प भएको अवस्थाबाट पार पाउन उनले धेरै होमवर्क गर्नुपर्यो। अन्नपूर्णलाई अघि बढाउने क्रममा उनले ब्यांकेटलाई होटलभित्र छिराइन्।

विवाह ब्रतबन्ध जस्ता पारिवारिक अवसरहरुमा अन्नपूर्णको ब्यांकेट सर्भिस टप च्वाइसमा पर्नुपछाडि सिर्जनाको आइडिया र मेहनतले रंग ल्याएको उनी स्विकार्छिन्- 'होटल टुरिस्टमा मात्र होइन लोकल बिजनेसमा पनि निर्भर गर्छ भन्ने बुझेको छु। डोमेस्टिक मार्केट पनि कति बढिसक्यो। अहिलेको जेनरेसन होलिडे लिन्छन्। त्यसैले टुरिष्टमा मात्र नभई मैले ब्याङ्केटमा पनि भविष्य देखें र त्यसमा सर्भिस फोकस गरें।'

'अहिले नेपालमा चेन होटलहरु धमाधम भित्रिँदैछन्। यसले चुनौती थपेको जस्तो लाग्दैन?

सिर्जना प्रतिप्रश्न गर्छिन्-  के वर्षौ पर्यटन क्षेत्रमा योगदान गरिरहेका नेपाली होटलहरुको चैं व्यवस्थापन क्षमता छैन र? 

होटल अन्नपूर्णमा पनि चेन होटलबाट प्रस्ताव आएको थियो रे। तर उनकै शब्दमा भन्दा उनलाई घमण्ड आयो 'आइ क्यान डु इट माइसेल्फ' भन्ने किसिमको। घमण्ड छ साथसाथै चुनौती पनि छ। कसैले दबाब दिएर 'हुन्छ' भन्ने समय छैन आफैं सक्षम हुनुपर्छ  र त्यसको उचित मूल्यांकन हुनुपर्छ भन्नेमा सिर्जना अडिग छिन्। 'म कन्फिडेन्ट छु त्यसैले कम्पिटिसन मा बेस्ट हुनलाई च्यालेन्ज पनि स्विकार्छु।'

सरकारले होटल क्षेत्रमा भएको डिमाण्ड र सप्लाईबारे अनुसन्धान नै नगरी भटाभट लाइसेन्स बाँडिरहेको जस्तो उनलाई लाग्छ। 'के पछि होटलहरु पनि बैंक जस्तै धेरै भएर मर्ज गर्ने हो? बैंकलाई लाइसेन्स बाँड्दै जाँदा पछि जुन समस्या आयो होटल क्षेत्रमा त्यसरी नै समाधान गर्न सकिएला?' सिर्जनालाई यसले चिन्तित बनाइरहेको छ।  

नेपाली खाना लोकप्रिय बनाउने अभियान

देशभरीको कुल अकुपेन्सी ४५/ ५० प्रतिशत जति छ। यहाँ त्यो भन्दा दोब्बर क्षमताका होटलहरु खुल्दैछन् के यसले लगानीकर्ताको हित गर्छ? जवाफ सिर्जनासँग छैन। उनको अनुभवले भन्छ लगानी गर्न उक्साउने मात्र होइन लगानीकर्तालाई संरक्षण गर्नु पनि सरकारको धर्म हो।

होटल एसोसिएसन नेपाल हानको उच्च नेतृत्वसम्म पुग्दा उद्यमी र युनियनबीच हुने तनावलाई कसरी समाधान गर्ने भन्ने उच्चस्तरीय कमिटीमा बसेर उनले काम गरिन्। यसबाट उनलाई धेरै समस्याहरु छलफलबाटै हल गर्न सकिने अनुभव भयो।

'भारतीय मसला हालेर नेपाली खाना भन्ने प्रवृत्ति मास्नैपर्छ भनेर हामीले नेपाली खानालाई विश्वभर लोकप्रिय बनाउने अभियान थाल्यौं। हानले अथेन्टिक कुजिनका रुपमा नेपाली खाना प्रवर्द्धन गरिरहेको छ। हामीले नै यसको सुरुवात गर्यौं।'-  उनले सामाजिक सुरक्षा कोषका लागि पनि काम गरिरहेको बताइन्।

आफूहरुले हानकै नेतृतव तहमा बसेर कर्मचारी उद्यमी विवाद हल गर्न बिभिन्न सम्झौताहरु गरेको उनी बताउँछिन्।

'हानमा हामीले टास्क फोर्स बनायौं होटलका कर्मचारी र उद्यमी सम्मिलित बोर्ड छ अहिले। जब समस्या आउँछ तत्काल हामी बसेर छलफल गरी समाधान निकाल्छौं। अब त होटलका कामदारले पनि बुझिसक्नुभयो एकआपसमा झगडा गरेर बस्दा यो क्षेत्र नै धरासायी हुन्छ। आफूले काम गर्ने ठाउँ धरासायी भयो भने मजदूरको पनि भविष्य हुँदैन।'

मजदुर मालिक बिवादले हस्पिटालिटी क्षेत्र कहिल्यै उँभो लाग्दैन। अनेकौं पटक बिबाद र समस्यामा उल्झिएको अनुभवबारे उनी भन्छिन्-'लगानीकर्ताका रुपमा मैले के हेर्नुपर्छ भने अहिलेको अवस्थामा जीवन धान्न सक्ने, सन्तानलाई उचित स्वास्थ्योपचार र शिक्षादिक्षा दिन सक्ने गरी हामीले तलब दिनुपर्छ तर कामदारले पनि ८ घण्टा त इमान्दारीपूर्वक आफ्नो काममा ध्यान दिनैपर्छ।

यूरोप अमेरिकाका होटलमा सर्भ गर्दा ४ जनाले जति काम गर्छन्।  हाम्रोमा १० जनाले सर्भ गर्दा पनि पर्फेक्ट छैन किनभने इमान्दार भएर काम गर्ने गुण हामीकहाँ भएन।'- यस्तै कारण पर्यटन क्षेत्र पछि परेको सिर्जनालाई लाग्छ। 

'कोही मेहनत गरी ८ घण्टा काम गर्ने कोही काम नगरी तलब खाने अनि बढुवाका लागि युनियनको दबाब दिएर काम नगर्ने चाहीँ माथि जाने प्रवृत्ति हावी भयो। यसबाट जो इमानदार भएर काम गर्छ उ त मारमा पर्यो नि! खेलेर खानेका माझ काम गरेर खानेको कदर भएन।'- युनियनका कारण देखिएको बिकृतिबारे उनले बताइन्।

होटल अब नशा बन्यो

बिहान उठेर आधा घण्टा सद्गुरुको 'साम्भवी' मेडिटेसन र घरभित्रकै मन्दिरमा नैबेद र धुपबत्ती नगरी सिर्जनाको दिन सुरु हुँदैन। भजन गाउनु उनको अध्यात्मसँग जोडिने अर्को खुबी र माध्यम। बिहानको दैनिकी सक्नेबित्तिकै उनी होटल आउँछिन्। 'अब त नशा जस्तै भैसक्यो। होटल जान नभ्याएको दिन म त बिरामी नै पर्छु जस्तो हुन्छ।'

होटलका अलावा हानको नेतृत्व तहमा बसेर गरिरहेका अभ्यासहरु। महिला सशक्तिकरणका लागि जोन्टा इन्टरनेशनलसँगको आबद्धता। २० वर्षदेखि कुनै न कुनै रुपमा महिला सशक्तिकरणको काममा लागेको उनले बताइन्।  परोपकारी कामका लागि अन्नपूर्णकै अर्को भेन्चर पोखराको फिस्टेल लजबाट आउने सबै रकम मुटुरोगीको उपचारमा खर्च भैरहेको छ।

फिस्टेलबाट आउने सबै नाफा रकम काठमाडौंको गंगालाल अस्पताल र मनमोहन कार्डियाक सेन्टर तथा पोखराकै गण्डकी हस्पिटलमार्फत मुटुरोगीलाई सहयोग गरिरहेको सिर्जनाले जानकारी दिइन्। स्कुल पढ्दाको नैतिक शिक्षाको प्रभाव सानैदेखि पर्यो। आफूले यहीँबाट पाएकोमध्ये केही समाजलाई नै फिर्ता गर्नुपर्छ भन्ने सद्गुरुको शिक्षाबाट उनी परोपकारोन्मुख भएकी हुन्।

भ्रमण वर्ष २०२० का लागि हानले तयारी तीब्र पारेको छ।  टाढा टाढा नयाँ डेस्टिनेसनहरुको पनि पहिचान भैरहेको छ।  पर्यटकलाई २० किसिमका लाइफ टाइम एक्सपेरियसन्स दिने कार्यक्रम पनि हानबाछ अघि सारिएको छ। तर कनेक्टिभिटी नभएकै कारण पछि परेको गुनासो छ सिर्जनालाई।

अतिथि देवो भवको फिलिङ दिउँ

'हामीकहाँ पूर्वाधार विकासमा धेरै समय लाग्यो। हाम्रो विकास चिप्लेकिरा झैं घिस्रिरहेछ। बाटोघाटोमा सामान्य ट्वाइलेटको त सुविधा छैन। बाटोको ब्यबस्थापन छैन। सार्वजनिक सम्पत्तिको संरक्षण भएको छैन। कहाँ के मात्रै सुधार गर्ने? यो सब सम्झिँदा त कहिलेकाहीँ हार पनि खान्छु!' तर सिर्जनाको स्वभावमा हार स्विकार गर्ने गुण छैन।

उनले यसको पनि हल निकालेकी छिन् -'हामीले जे सक्छौं त्यो इमानदारीका साथ गरौं न। होमस्टे होस् वा तारे होटल न्यूनतम मापदण्ड भनेको सफा खाना, सफा ओछ्यान, सफा पानी र सफा ट्वाइलेट। यति त दिन सक्नुपर्यो! पर्यटकलाई सहयोगी भैदियो भने पुग्छ। हामी सात तारे होटलसँग कम्पिटिसन गर्न नसकौंला तर हामीले नेपालीपन र नेपाली संस्कार दिएर अतिथि देवो भवको फिलिङ दिन सक्छौं नि सबैले यसरी सौचौं न।'

अन्नपूर्णको स्तरोन्नती सबैभन्दा ठूलो दायित्व

होटलसँग जोडिएकी सिर्जनाको जीवन झण्डै आधा दशक बितिसक्यो। कहिलेसम्म यो दौड चलिरहला? उनी भन्छिन्- 'म हाइपर नेचरको मान्छे। 'आइ एम वर्कोहलिक'। काम गर्न नपाउँदा मुड अफ हुन्छ।' ६० वर्ष पुगेपछि स्लो डाउन गर्छु भन्दा साथीहरु हाँस्छन् रे।  तर उनलाई लाग्छ अन्नपूर्णलाई नयाँ उचाईंमा पुर्याउनलाई यसरी नै रफ्तारमा काम नगरी सुखै छैन। उत्तरदायित्व लिने र टाइमलाइनमा रहेर मल्टिटास्क गर्न सक्ने खुबी नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको सिर्जना सुनाउँछिन्।

अन्नपूर्णको नयाँ भेन्चरका रुपमा लग्जरी रिसोर्ट 'जगतपुर लज' हुर्किरहेको छ। पोखरा, चितवन र काठमाडौंमा त्रिकोण बनाएर अन्नपूर्णले पर्यटन ब्यवसायलाई अर्को उचाईमा लैजान प्रयास गरिरहेको उनले बताइन्।- 'म यो ट्रयाङ्गललाई गोल्डन ट्रयाङ्गल बनाउन चाहन्छु।'

होटल अन्नपूर्ण बिस्तार भैरहेको छ। हलहरुको क्षमता बढाउनेदेखि थप हरियाली र सँधै हुने गरेको पार्किङको समस्यालाई हटाउने पनि काम अघि बढेको छ। 'अन्नपूर्णलाई कसैले औंला ठड्याउन नसक्ने गरीको इन्टरनेसनल स्ट्याण्डर्डमा लैजाने हो।'- यो समय होटल अन्नपूर्णको स्तरोन्नती नै सबैभन्दा ठूलो दायित्व बनेको उनले सेयर गरिन्।

'अन्नपूर्णको बेस्ट लोकेसन हो नै तर अबको ५ वर्षमा कतिसम्म रेट पाउन सक्छु त्यस अनुसार मैले लगानीको योजना बनाउने हो। किनभने सपना देखेर मात्र हुँदैन आफ्नो क्षमता पनि बुझ्नुपर्छ। अब मैले केही नयाँ तरिकाले विस्तार गर्दैछु।' गम्भीर हुँदै उनले भनिन्- मान्नुस् अन्नपूर्णले नयाँ मोड लियो अब!