BIZMANDU
www.bizmandu.com

सामाजिक सुरक्षा कोषमा न्यून कम्पनी मात्रै सूचीकृत, मजदुरनै आनाकानी गर्दैछन्

२०७६ बैशाख २०

सामाजिक सुरक्षा कोषमा न्यून कम्पनी मात्रै सूचीकृत, मजदुरनै आनाकानी गर्दैछन्
सामाजिक सुरक्षा कोषमा न्यून कम्पनी मात्रै सूचीकृत, मजदुरनै आनाकानी गर्दैछन्


Tata
GBIME
Nepal Life

काठमाडौं। सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएको पाँच महिना वितिसक्दा पनि देशभरका २ हजार ५ सय ९ कम्पनी मात्रै सूचीकृत भएका छन्। ती कम्पनीका ४ हजार ९ सय ८४ जना श्रमिक सूचीकृत भएका छन्।

पाँच महिनाको अवधिमा सूचीकृत हुने कम्पनी धेरैनै न्यून हो। कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार १ लाख ९० हजार कम्पनी दर्ता छन्। प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गरेको यो कार्यक्रममा सुरुमा उद्योगी/व्यवसायी र मजदुर युनियन समेत खुशी थिए।उद्योगी/व्यवसायीले श्रम लचकता पाउने र मजदुरले सामाजिक सुरक्षा पाउने भन्दै उत्साहित भएका दुबै पक्ष अहिले कोषमा आफ्नो रकम लैजान भने डराइरहेका छन्।

रोजगारदाता र मजदुर कोषमा पैसा हाल्न किन डराइरहेका छन्?नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रोजगारदाता परिषदका उपसंयोजक भरत आचार्य सामाजिक सुरक्षा कोष ऐनमा केही अस्पष्टता रहेकाले उत्साहजनक सहभागिता नभएको बताए। उनका अनुसार कोषमा पठाउने ३१ प्रतिशत रकम पूरै पठाउन मजदुरहरुले आनकानी गरिरहेका छन्।‘कोषमा पठाउने ३१ प्रतिशतमध्ये १५ प्रतिशत पेन्सनका लागि र १६ प्रतिशत अन्तरिम व्यवस्थापनमा प्रयोग गर्न मजदुरले चाहिरहेका छन्,’ आचार्यले बिजमाण्डूसँग भने,’१६ प्रतिशत छोराछोरीको शिक्षादिक्षा, घरजग्गा लगायतका अन्तरिम व्यवस्थापनका लागि प्रतिष्ठानमै राख्न चाहेका कारण कोषमा सूचीकृत हुने कम्पनी कम भएका हुन्। यो अस्पष्टता हटाउन सकेमा उत्साहजनक सहभागिता हुन्छ।’

पेन्सन पाउने व्यवस्थाका बारेमा पनि सामाजिक सुरक्षा ऐन र श्रम ऐनको बुँदा बाँझिएको छ। उनका अनुसार सामाजिक सुरक्षा कोष ऐनमा ६० वर्षपछि पेन्सन पाउने व्यवस्था छ तर श्रम ऐनमा ५८ वर्षमा पेन्सन पाउने व्यवस्था छ। यो वाहेक विदेशी कामदारको हकमा सामाजिक सुरक्षा कोष कार्यान्वयनका बारेमा केही बोलेको छैन। छोटो समयका लागि आउने विदेशी कामदारका लागि प्रतिष्ठानतहमै व्यवस्थापन गर्ने व्यवस्था नभएकाले सूचीकृत हुने कम्पनी कम भएको उनले बताए। नेपालका बहुराष्ट्रिय कम्पनीमा विदेशी कामदार कार्यरत छन्।

कम कम्पनी आएपछि समय थपियो

देशभर कोषले रोजगारदातालाई सूचीकृत हुन चैतसम्मको समय छुट्याएको थियो तर उल्लेख्य मात्रामा कम्पनीहरु कोषमा नआएपछि असारसम्म थप गरिएको छ।

असारसम्म कम्पनी सूचीकृत गरेर साउन १ गतेबाट कोष संकलनको प्रक्रिया अघि बढाउने कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले बताए। निर्देशक अधिकारीका अनुसार कोषले अहिले डाटा संकलन र यसको पूर्वाधारको काम गरिरहेको छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी घरबाटै रकम कोषमा रकम जम्मा गर्न मिल्ने गरी पूर्वाधार तयार गरिरहेको उनले बताए।

तर साउनबाटै अनलाइन प्रणालीबाट रकम जम्मा गर्न भने सकिने छैन।कोषलाई प्रविधीमैत्री बनाई श्रमिकले मोबाइलबाटै आफ्नो कोषको सूचना हेर्न सक्ने गरी व्यवस्था गर्न लागिएको उनले बताए। साउनदेखि परीक्षणको रुपमा भएपनि कोष संकलन सुरु गर्ने अधिकारीले बताए।

नागरिक लगानी कोषमा भएका व्यक्ति तथा कम्पनी सामाजिक सूरक्षा कोषमा समाहित हुने भन्ने विषय स्पष्ट हुन सकेको छैन् । सूरक्षा कोष सञ्चालन नियमावलीले सबै प्रकृतिका श्रमिक  कोषमै समाहित गर्नुपर्ने उल्लेख गरिए पनि बाध्यकारी बनाउन सकेको छैन् । 

कुन कुन कम्पनी भए सूचीकृत

कोषमा सूचीकरण हुनेहरुमा बैंक, उद्योग, विद्यालय, बचत तथा सहकारी संस्था लिमिटेड, जलविद्युत क्षेत्रका कम्पनी, सरकारी तथा गैरसरकारी संस्थाहरु छन्। प्रदेश ३ बाट सबैभन्दा धेरै १ हजार ७ सय ९६, सुदूर पश्चिम प्रदेशबाट ३ सय २७, प्रदेश १ बाट १ सय ६१, प्रदेश २ र ५ बाट ७१ वटा कम्पनी कोषमा सूचीकृत भएका छन्।

कोषमा उद्योगी विनोद चौधरी, चन्द्रप्रसाद ढकाल, हरिभक्त शर्मा लगायत कम्पनीहरु कोषमा सूचीकरण भैसकेको छ। चौधरी समूहको सिजी फिन्को, नबिल बैंक, नर्भिक अस्पताल, सीजी सिमेन्ट इन्डस्ट्रिज, शाश्वत धाम सूचीकरण भैसकेको छ ।

यस्तै आईएमई ग्रुप, आईएमई अटोमोटिभ्स्, देउराली जनता फर्मास्यटिकल्स्, रातो बंगला स्कुल, होटल शंकर प्राली, निम्बस नेपाल प्राली लगायत कम्पनीहरु सूचीकरण भइसकेका छन्।

९० जना कर्मचारीको विज्ञापन केही हप्तामै खुल्ने

कोषमा ९० जना कर्मचारीको विज्ञापन केही सातामै खुल्ने निर्देशक अधिकारीले जानकारी दिए। कोषले कर्मचारी थप गर्न लोकसेवा आयोगको अनुमति लिइसकेको छ। कोष र आयोगको सहकर्यमा पाठ्यक्रम विकासको काम भइरहेको छ। कोषलाई  प्राविधिक, प्रशासक, आइटी, फाइनान्स हेर्ने लगायतका कर्मचारी आवश्यकता रहेको कोषले जनाएको छ ।

यसरी जम्मा हुनेछ सूरक्षा कोषमा रकम

रोजगारदाताले आफ्नो कम्मनीमा कार्यरत श्रमिकको आधारभुत पारिश्रमिकबाट ११ प्रतिशत रकम कटाएर त्यसमा २० प्रतिशत थप गरी कोषमा जम्मा गर्नुपर्छ।

कोष जम्मा गरेपछि श्रमिकले ४ प्रकारका सुविधा लिन सक्नेछन्। श्रमिकका लागि कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अस्पताल सुविधा, आश्रित परिवार सूरक्षा र वृद्धावस्था सूरक्षाको व्यवस्था हुनेछ। श्रमिक ६० वर्ष पुगेपछि योगदानको आधारमा पेन्सनको सुविधा प्राप्त गर्नेछ।

कोषमा २१ अर्ब ३९ करोड

कोषमा हाल २१ अर्ब ३९ करोड २ लाख ६१ हजार रुपैयाँ रहेको छ । सो रकमलाई कोषले २२ वटा बैंकमा ब्याजमा लगाएको छ। रकम ब्याजमा लगाउन कोषले वार्षिक टेण्डर गर्दै आएको छ । बढाबढको नियम अनुसार बैंकहरुले कोषको रकम प्रयोग गर्दै आइरहेका छन् ।