BIZMANDU
www.bizmandu.com

काठमाडौंबाट अढाई घण्टामै हेटौडा, कान्ति लोकपथले जगायो आशा

२०७६ बैशाख १७

काठमाडौंबाट अढाई घण्टामै हेटौडा, कान्ति लोकपथले जगायो आशा
काठमाडौंबाट अढाई घण्टामै हेटौडा, कान्ति लोकपथले जगायो आशा


हेटौंडा। ६० वर्षअघि ट्रयाक खुलेपनि लामो समय ओझेलमा परेको कान्ति लोकपथमा अब छिट्टै दुईतर्फी गाडी गुड्ने भएको छ। काठमाडौंबाट ९० किमी दूरीमा हेटौंडा पुगिने कान्ति लोकपथ परियोजना सम्पन्न भएपछि काठमाडौंदेखि २ घण्टामै हेटौंडा पुगिनेछ। 

Tata
GBIME
Nepal Life

यसअघि सँधै बर्षा मौसममा बन्द हुने गरेको कान्तिलोकपथ यो वर्षामा नरोकिने भएपछि यस बाटोले छुने गाउँहरु उत्साहित छन्।ऐतिहासिक मकवानपुर गढी समेत पर्ने यस सडकखण्डको निर्माणसँगै आसपासका क्षेत्रमा चहलपहल बढ्न थालेको छ। चार पाँच स्थानमा नयाँ होटल खुलेका छन्। मानिसहरुको चहलपहल बढेसँगै सडक आसपास नयाँ घरहरु समेत बाक्लिन थालेका छन्। 

सडक संचालनमा आएको लामो समय भैसकेपनि हिउँदमा मात्रै गाडी चल्थ्यो। यो बर्ष बर्खामा ठूला सवारीसाधन समेत संचालन गर्न दिने योजना रहेको आयोजना प्रमुख विनोदप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार ६ किमी खण्ड बाहेक बाँकी सडक सहज हुने भएकाले पहिलो पटक कान्तिलोकपथलाई बर्खामा पनि संचालन गर्न दिन लागिएको हो। 

लामो समय गुमनाम
६ दशकअघि नै राजधानीलाई तराईसंग जोड्ने ‘वैकल्पिक द्रुतमार्ग’ कान्तिराजपथको ट्रयाक खुल्यो।

नेपाली सेनाले २०१३ सालमै तीन बर्ष लगाएर ट्रयाक खोलेपनि यो बाटो ओझेलमा पर्यो। ९० किमीको छोटो दुरीमा काठमाडौंलाई हेटौंडा जोड्ने सडकको ट्रयाक ६० वर्षअघि खुलेपनि सरकारी प्राथमिकतामा परेन। 

नारायणगढ-मुग्लिन २२३ किमी, दक्षिणकाली कुलेखानी हुँदै हेटौंडा निस्कने सुमोमार्ग जस्ता सडकहरुमा सरकारको आँखा परेपनि कान्ति लोकपथ लामो समय गुमनाम बन्यो।

छोटो वैकल्पिक राजमार्ग ग्रामीण,जिल्ला सडक तथा अन्य ससाना केन्द्रहरुसँग जोड्ने यो सडकको महत्वलाई ध्यानमा राखी आर्थिक बर्ष २०६५/०६६ सालमा नेपाल सरकारले आफ्नै श्रोतबाट बजेट व्यवस्थापन मिलाई सुधार तथा स्तरोन्नतीका लागि छुट्टै योजना बनाई काम अघि बढायो। 

बर्षेनी ५० लाख मात्रै बजेट छुट्टिने गरेको आयोजनामा ५ करोड बजेट छुट्टियो। आयोजनाको छुट्टै अफिस पनि खुल्यो  तर सडक निर्माणले अपेक्षित गति लिन सकेन। 

यसअघि डिभिजन सडक कार्यालय मकवानपुर र ललितपुरले सामान्य मर्मत सम्भार गरेपनि  योजना नै बनाएर काम भने हुन सकेको थिएन। वैकल्पिक मार्गको रुपमा विकास गर्न २०५९ सालमा कोरियाली सरकारको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो।

२०७२ सालको विनाशकारी भूकम्पपछि नारायणगढ- मुग्लिन सडक बन्द हुने अवस्थामा पुगेको थियो । त्यसपछि मात्रै सरकारको आँखा यो सडकखण्डमा पर्यो। 

आयोजनाको महत्वलाई ध्यानमा राखी पि वान प्राप्त योजनामा स्तर वृद्धि गरियो। ३ बर्षे प्रक्षेपणको आधारमा ठेक्का व्यबस्थापन गरी सडक चौडा र सुधार गर्ने कार्यका साथै आव ०७१/७२ बाट सडक स्तरोन्नतीको काम धमाधम हुन थाल्यो। 

भने अनुसार नै काम अघि बढेको भए यो सडक गतबर्ष नै निर्माण भइसक्ने थियो। तर समयमा विष्फोटक पदार्थ नपाउँदा ६ किमी खण्डमा रहेका कडा चट्टान फुटाउनकै लागि आयोजना दुई बर्ष लम्बिन पुग्यो। 

अहिले पनि आयोजनाले कडा चट्टान भएका खण्डमा होल खोपेर राखेको छ। विष्फोटक पदार्थ सेनासँग माग गर्दा भारतबाट कच्चा पदार्थ नआएका कारण उपलब्ध गराउन नसकिएको सेनाले प्रतिक्रिया दिएको थियो।

आयोजनाले कडा चट्टान भएका खण्डमा ठेक्का लगाएर मकवानपुरतिर पनि काम सुरु गरिसकेको छ भने ललितपुरतिर पनि धमाधम काम सुरु भैसकेको छ। 

अहिले स्काभेटर प्रयोग गरेर कमलो चट्टान भएका खण्डमा काम  भैरहेको छ। करिव ५ सय मिटर चट्टान समेत फुटाएर सडक फराकिलो पारिसकिएको छ। ‘हामीले मेसिनबाट नै चट्टान भएका ठाउँहरु काम गरिरहका छौं।-आयोजना प्रमुख विनोद प्रसाद सापकोटाले भने ‘सकेसम्म मेसिनबाटै काम गर्छौ नसकिए मात्रै विष्फोटक पदार्थ प्रयोग गर्छौ।‘

आयोजनाले विष्फोटक पदार्थकालागि रक्षा मन्त्रालय छलफल हुँदा सकारात्मक प्रतिक्रिया पाएको आयोजनाले जनाएको छ। ठेकेदारले माग गरेपछि सेनासंग विष्फोटक पदार्थ ल्याएर चट्टान फुटाउने योजना रहेको सापकोटाले जानकारी दिए।

मकवानपुरमा २ किमी खण्डमा कडा चट्टान रहेको छ भने ललितपुरतिर ४ किमी खण्डमा कडा चट्टान रहेको छ। मकवानपुरको सिमात आसपासमा कडा चट्टानहरु छन्। ललितपुरको छपेली बजार नजिकको क्षेत्र र भालु खोलाको भीर भएको क्षेत्रमा कडा चट्टानहरु छन्। कडा चट्टान रहेका खण्डमा ठूला सवारीसाधन एकतर्फी मात्रै संचालन गर्न सकिन्छ।

५ महिनापछि दुईतर्फी नै गाडी चल्ने 
लोकमार्ग आगामी पाँच महिनामा दुईतर्फी रुपमा संचालन गर्ने योजनाका साथ काम भैरहेको छ। कडा चट्टान र केही सानातिना खण्डमा बाहेक सडक ग्राभेलस्तरमा स्तरोन्नती भैसकेको छ।

एक महिना अघि बाट काम सुरु गरिएको चट्टानको काम असोजमा सम्पन्न गर्न आयोजनाको लक्ष्य छ। असोजसम्ममा चट्टानहरु फुटाएर ग्राभेलस्तरको सडक बनाइसक्ने योजना रहेको आयोजना प्रमुख सापकोटाले जानकारी दिए। त्यसपछि सडक आयोजनामा दुईतर्फी रुपमा मालवाहक सवारीसाधन समेत सहजै आवातजावत गर्न सक्नेछन् भने तीन नम्बर प्रदेशको राजधानी हेटौंडा जान समेत सहज हुनेछ।

हेटौंडाबाट सुरु हुने सडक ५१ किमी खण्ड मकवानपुर जिल्लामा  बाँकी ३९ किमी ललितपुर जिल्लामा पर्दछ। मकवानपुरतिर ९ वटा चेनेजहरु छन्। बुद्धचोकबाट चौघडा ४.५०० किलोमिटर छ। 

चुच्चेखोलासम्म आइपुग्दा ७.५किमी, हटिया (चुनडाँडा) १० किमी, शिखरकटेरी ११.५०० किमी, मकवानपुरगढी १७.५०० किमी, जितपुर २२ किमी, सिमात २९ किमी, ठिङगन ४२ किमी, बगुवा बागमती खोला ५१ किमीमा पर्छ। नेपाली सेनाले बनाइरहेको काठमाडौं– तराई/मधेश द्रुतमार्ग र लोकपथको भेट लेनडाँडामा हुन्छ। यहीँ नै नेपाली सेनाको द्रुतमार्गको क्याम्प समेत रहेको छ। लेनडाँडामा द्रुतमार्गको टनेल लोकपथको मुनिबाट क्रस भएर जान्छ।

ललितपुर जिल्लामा राजमार्ग बगुवाबाट सुरु हुन्छ। मकवानपुर र ललितपुर जिल्लाको सिमाना बगुवामा बागमती नदीले दुईवटा जिल्लालाई छुट्याएको छ। जहाँ आयोजनाले कालोपत्रे गर्नका लागि एसफल्ट प्लान्ट  राखेको छ। ललितपुरमा ६ वटा चेनेज छन्। 

बगुवाबाट काल्चे ५६ किमीमा पर्दछ। छपेली ६३ किमी, झाँक्रीडाँडा ६८ किमी, तिनपाने ७१ किमी टिकाभैरव ७९ किमीमा पर्छ। टिकाभैरवसम्म कान्तिलोकपथ आयोजनाले हेर्छ। त्यहाँबाट सातदोबाटो जोड्ने सडक काठमाडौं उपत्यका सडक विस्तार आयोजना र ललितपुर डिभिजन कार्यालयले हेर्छन्। जुन करिव ११ किमी रहेको छ। चापागाँउ ८२ किमी, सुनाकोठी ८४ किमी, ठेचो ८५ किमी ढोलाहिटी ८९ किमी र ९० किमीमा सातदोबाटो चक्रपथ निस्कन सकिन्छ।

आगामी बर्ष कालोपत्रे  
आयोजनाको अनुसार पछिल्लो संशोधित तालिका अनुसार आगामी आर्थिक बर्ष राजमार्ग कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको छ। भौतिक प्रगति करिव ७० प्रतिशतको हाराहारीको यो सडक आगामी बर्ष पूरा गर्ने योजनाका साथ काम भैरहेको छ।

लक्ष्य अनुसार नै कामलाई तिव्रता दिएको आयोजना प्रमुख सापकोटाले बताए। उनका अनुसार चैतको सुरुदेखि नै प्रि-मनसुन भएकाले कालोपत्रेको कामले  गति लिन सकेको छैन। दैनिक रुपमा पानी परिरहेका कारण प्राईमकोट गरिएका स्थानमा समेत कालोपत्रे गर्न समस्या भएको आयोजनाका इन्जिनियरहरुको भनाई छ। पानी परेपछि सतह (पेभमेन्ट) चिसो हुन्छ। चिसो पेभमेन्ट नसुकी कालोपत्रे गर्न मिल्दैन। 

अधिकांश खण्डमा धमाधम काम भैरहेको छ। बग्न सक्ने सम्भावित स्थानको पहिचान गरी ढलानको काम हुँदैछ ।कतै ग्राभेल वेस सव वेसको काम हुँदैछ भने कतै कालोपत्रे गर्नका  लागि प्राईमकोट गरिँदै छ त कतै कालोपत्रेको काम हुँदैछ। 

केहि स्थानमा सडकलाई सुरक्षित बनाउने र बर्खामा पहिरो जान सक्न  सम्भावित र साँघुरा स्थानहरुमा मेसिनरी वाल लगाउने ,नालाहरु बनाउने काम पनि भैरहेको छ। अहिले १० वटा प्याकेजमा ठेक्का लगाएर काम भैरहेको आयोजनाले जनाएको छ।

कान्तिलोकपथ आयोजनाले हेर्ने ७९ किमी सडकमा दुवैतिर गरी ३४.५ किलोमिटर कालोपत्रे सम्पन्न भैसकेको छ भने १५ किलोमिटर  कालोपत्रे गर्न तयार अवस्थामा छ। ३७.५ किमी ग्राभेलस्तरको छ। हेटौंडा बुद्धचोकबाट २५ किमी जीतपुरसम्म पूरै सडक कालोपत्रे छ।

यो खण्डको अरु भागहरुमा पनि कालोपत्रे भएको छ भने ललितपुरमा करिव चेनेज वगुवा ५१ किमीबाट ५७ किमीसम्म कालोपत्रे गरिएको छ। अरु केहि खण्डमा पनि कालोपत्रे गरिएको छ। यो आर्थिक बर्षमा ४० किमी सडक कालोपत्रे गर्ने र ६ किमी बाहेकको सडक दुईतर्फी रुपमा संचालन गर्न सकिने गरी निर्माण सक्ने लक्ष्य आयोजनाको छ।  

समुन्द्र सतहबाट हेटौंडा बुद्धचोक ४ सय ६५  मिटरमा उचाईमा पर्छ। ठिगनसम्म आइपुग्दा १२५० मिटर छ । हाल हेटौंडा ठिगन यात्रुबाहक बस संचालनमा छ । ठिगनबाट वगुवा ओरालो पर्छ । त्यहाँबाट सामान्य ओरालो पार गरेपछि काल्चेभीर उकालो सुरु हुन्छ। काल्चेभीरबाट उकालो चढ्दै तीनपाने भन्ज्याङ आइपुग्दा २०२० मि अल्टिच्युड रहेको छ जुन आयोजनाको सबैभन्दा अग्लो भाग हो।

त्यहाबाट टिकाभैरव हुँदै ओरालो बाटो सुरु हुन्छ। सातदोबाटो आइपुग्दा १हजार ३सय ३५ मिटर रहेको छ। तुलनात्मक रुपमा ललितपुरमा भन्दा हेटौंडामा कान्तिलोकपथ सहज छ। तर सडक त्यति धेरै उकालो र असहज भने छैन। सहजै सवारीसाधनहरु आवातजावत गर्न सक्नेछन्।

साढे दुई घण्टामा हेटौडा 
आयोजनाका अनुसार सडक आयोजना पूरा भएपछि साढे दुईघण्टामा सहजै हेटौंडा पुग्न सकिन्छ। करिव ३५ किमीको स्पिडमा यात्रा गर्न सकिने यो सडकमा साढे दुई घण्टाभन्दा कम समयमा हेटौंडा पुग्न सकिने आयोजनाका इन्जिनियरहरुको दाबी छ। 

अहिले पनि करिव तीन घण्टामा कान्तिलोकमार्गबाट हेटौंडा पुग्न सकिन्छ। अहिले पूरै खण्ड सार्वजनिक सवारीसाधन संचालनमा नरहेको भएपनि निजी सवारीसाधन र मोटरसाईकल भने गुड्ने गरेका छन्। 

पछिल्लो समय निजी सवारी र दुईपाङग्रे सवारी तथा सरकारी अधिकारीहरुले चढ्ने सवारीसाधन तुलनात्मक रुपमा धेरै हिड्ने गरेको आयोजनाको भनाई छ। यो संख्या दिनहुँ बढिरहेको छ। सुरुमा सडकका बारेमा धेरैलाई जानकारी थिएन। तर अन्तिम चरणमा पुगेपछि धेरैले यो सडकखण्डबारै  जानकारी पाएकोले चाप बिस्तारै बढ्न थालेको हो। 

सडक खण्ड कुल ९० किमी छ जसमा कान्तिलोकपथ योजनाले बुद्धचोकदेखि ललितपुरको टिका भैरव ७९ किमी हेर्छ। असोजसम्म यो सडक दुईतिर सहज हुने छ। बाँकी रहेको ११ किमी उपत्यका सडक विस्तार आयोजनाले हेर्छ। विभिन्न खालका मुआब्जा लगायतका विवाद र समस्याका कारण यो सडकले गति लिन सकेको छैन। टिकाभैरवसम्म सहजै जान सकिएपनि सातदोबाटो जोडिने सडकमा भने समस्या छ। यसकालागि आयोजनाले नयाँ विकल्पहरु समेत हेरिरहेको जनाएको छ।

पहिरो रोक्ने चुनौती
यो वैकल्पिक मार्गको मुख्य चुनौती पहिरो नै हो। बर्षायाम सुरु भएसंगै आयोजनाको धेरै खण्डमा पहिरो खस्ने डर हुन्छ। केहि स्थान धेरै नै  जोखिमपूर्ण छन् जहाँ ठूला ढुंगा र चट्टानहरु झर्ने गर्छन्।  बर्षेनी यस्तो समस्या आउने गरेकाले लामो समय पहिरो व्यवस्थापन गर्ने काम मै लाग्ने गरेको आयोजनाका इन्जिनियरहरुले जानकारी दिए। 

समाधानका लागि आयोजनाले स्लोव इस्टेवलाइजेसन गर्ने योजना बनाएको छ। आयोजनाका इन्जिनियर अमिन्द्र खड्काका अनुसार स्लोव प्रोटेक्सन गरेर पहिरो रोकथाम गर्न लागिएको हो। अहिले त्यस्ता जोखिमपुर्ण र पहिरो खस्ने स्थानहरुको पहिचान गर्नका लागि अध्ययन सुरु भैसकेको उनले बताए। 

प्रारम्भिक चरणमा ३० वटा स्थानमा समस्या देखिएको छ। आयोजनाले अध्ययन प्रतिवेदन प्राप्त भएपछि अर्थ मन्त्रालयसँग बजेट स्वीकृति लिएर काम अघि बढाउने योजना बनाएको छ। 

जोखिमपूर्ण मानिएका स्थानहरुमा पहिरो रोकथाम गर्न सकिए सडक सहज र सुरक्षित हुने तथा बर्षायाममा समेत नरोकिने आयोजनाको दाबी छ। त्यस्तै सडकलाई सुरक्षित बनाउनका लागि घुम्ती, जोखिमपूर्ण, अप्ठ्यारा स्थानहरुमा क्र्यास ब्यारिएर राखिएको छ। आयोजनाले सडकको त्यस्ता सबै स्थानमा क्र्यास ब्यारिएर राखिएको  बताएको छ।