BIZMANDU
www.bizmandu.com

एनटिसीको प्रिपेडमा पनि अन्तर्राष्ट्रिय रोमिङ सेवा, चीन र भारतमा रोमिङका लागि यस्तो छ शुल्क

२०७६ बैशाख १५

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले सोमबारदेखि प्रिपेड मोवाइलमा रोमिङ सेवा सुरु गर्ने भएको छ। टेलिकमले पहिलो चरणमा चीन र भारतमा प्रिपेड मोवाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने भएको हो।

निकट भविष्यमा कम्पनीले मध्यपूर्व र दक्षिण कोरियामा पनि यो सेवा सुरु गर्ने योजना बनाएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए। उनका अनुसार मध्यपूर्व क्षेत्रमा पर्ने मलेसिया, कतार, युएइ(युनाइटेड अरब इमिरेट्स) र दक्षिण कोरिया लगायतका मुलुकमा सेवा सुरु हुनेछ।

उनले भने,' नयाँ मुलुकमा प्रिपेड मोवाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तारका लागि कम्पनीको प्राविधिक टोलीले सम्भाव्यता अध्ययन सुरु गरिसकेको छ। पोष्टपेड मोवाइलको अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार भएको मुलुकमा प्रिपेडमा पनि सेवा विस्तार गर्नेछौँ।'    

सेवा सुरु भएपछि टेलिकमको प्रिपेड सिममार्फत चीन र भारतबाट नेपालमा कल गर्न र एसएमएस सेवा लिन सक्नेछन्।चीनको स्थानीय नम्बरमा कल गर्नका लागि ५० रुपैयाँ र चीनबाट नेपालमा कल गर्नका लागि ९० रुपैयाँ शूल्क लाग्ने टेलिकमले जनाएको छ। कम्पनीका अनुसार फोन रोमिङमा राख्दा नेपालबाट आएको कल उठाउँदा ५३ रुपैयाँ शूल्क लाग्नेछ।यसैगरी रोमिङ सेवा अन्तर्गत भारतको स्थानीय नम्बर र नेपालमा कल गर्दा प्रति मिनेट ३० रुपैयाँ शूल्क राखिएको र नेपालबाट आएको कल उठाउँदा १४ रुपैयाँ शूल्क लाग्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

यसैगरी एसएमएसको हकमा चीनबाट नेपालमा एसएमएस पठाउँदा ५४ रुपैयाँ शूल्क राखिएको छ भने भारतबाट नेपाल एसएमएस पठाउँदा २४ रुपैयाँ शूल्क राखिएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार चीन र भारतबाट नेपाल बाहेकका मुलुकमा कल गर्दा प्रतिमिनेट तीन सय ९७ रुपैयाँ शूल्क राखिएको छ।   कम्पनीका अनुसार सेवाग्राहीले *१४१५# डायल गरी प्रिपेड सिममार्फत मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनसक्ने छन्।