BIZMANDU
www.bizmandu.com

तीन महिनामै ओटीसी बजारबाट एक करोड पूँजीगत लाभकर, सबैभन्दा बढी जीवन विकास लघुवित्तको कारोबार

२०७६ बैशाख २


काठमाडौँ।ओभर द काउन्टर(ओटीसी)बजारमा भएको कारोबारबाट सरकारले गएको तीन महिनामा एक करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर प्राप्त गरेको छ।

Tata
GBIME
Nepal Life

गत माघदेखि चैत सम्म भएको कारोबारबाट सरकारले एक करोड एक लाख दुई हजार ४७१ रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको हो।तीन महिनामा ६१ लाख १२ हजार १२८ कित्ता शेयर ६८ करोड ६७ लाख ३० हजार ९१४ रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी जीवन विकास लघुबित्तको शेयर कारोबार भएको छ। संस्थाको तीन लाख कित्ता शेयर ओटीसी बजारमा कारोबार भएको हो।कम्पनीको  शेयर दुई सय २५ रुपैयाँ प्रति कित्ताका दरले कारोबार भएको नेप्सेले जनाएको छ।

यसै गरी स्मार्ट च्वाइस टेक्नोलोजी(एससीटी)को एक लाख १५ हजार ४४० कित्ता शेयर चार करोड ९० लाख रुपैयाँमा कारोबार भयो। यो कम्पनीको ४ सय २५ रुपैयाँका दरले शेयर कारोबार भएको नेप्सेले जनाएको छ। पब्लिक कम्पनीमा रुपन्तरित कम्पनीको शेयर खरिद बिक्री गर्नुपरे ओटीसीमा कारोबार गर्नुपर्ने प्रावधान छ।सोही प्रावधान अनुरूप नेप्से अन्तर्गत ओटीसी बजार सञ्चालनमा छ। हालसम्म १ सय ५ कम्पनी ओटीसी बजारमा दर्ता छन्।नेप्सेका अनुसार धेरैजसो जलविद्युत कम्पनी लगायत वास्तविक क्षेत्रका कम्पनी छन्।

दर्ता शुल्क नलाग्ने तथा कारोबारमा सहजता कारण ओटीसी बजारमा कम्पनीहरूको आकर्षण बढ्दै गएको छ।तीन महिनामा २३ कम्पनी ओटिसी बजारमा थपिएका छन्।