BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईको बन्दसत्रमा भाष्करको भाषण, चेम्बर भन्छ-‘राजीनामा दिएर उतै गए हुन्छ’

२०७६ बैशाख २

एफएनसीसीआईको बन्दसत्रमा भाष्करको भाषण, चेम्बर भन्छ-‘राजीनामा दिएर उतै गए हुन्छ’
एफएनसीसीआईको बन्दसत्रमा भाष्करको भाषण, चेम्बर भन्छ-‘राजीनामा दिएर उतै गए हुन्छ’



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५३औं वार्षिक साधारणसभामा उद्योगी भाष्करराज राजकर्णिकार सहभागी भए।

Tata
GBIME
Nepal Life

उद्घाटन सत्र मात्रै होइन बन्दसत्रमा समेत राजकर्णिकार सहभागी हुँदै आफ्नो भनाई राखेका थिए। उनले पूर्व अध्यक्षलाई सम्मान गरेकोमा धन्यवाद दिँदै विधान संशोधनको प्रकृयाको समेत स्वागत गरे। उनको सहभागितालाई लिएर महासंघभित्र हलचलनै छ।

विधान संशोधन भएर अध्यक्षमा निर्वाचन हुने परिस्थिती निर्माण भएमा राजकर्णिकार प्रतिस्पर्धामा उत्रिने अड्कालबाजी समेत गरिएको छ। राजकर्णिकार स्वयं पनि विधान संशोधन भएर उपयुक्त वातावरण तयार भएमा नेतृत्वमा आउनसक्ने समेत बताएका छन्।

महासंघको वरिष्ठ उपाध्यक्षपछि निष्कृय रहेका राजकर्णिकारलाई नेपाल चेम्बर अफ कमर्शले विशिष्ट मानार्थ उपाध्यक्ष बनाएको छ। महासंघको साधारणसभामा राजकर्णिकार सहभागी भएकोमा चेम्बर खुशी छैन। स्रोतका अनुसार चेम्बरमा राजकर्णिकार ‘एक्टिभ’ छैनन्।

चेम्बर महासंघमा रुपान्तरण भएपछि जिल्ला तह विस्तारको क्रममा राजकर्णिकार समेतलाई मानार्थ उपाध्यक्ष वनाएको थियो। उनी मात्रै होइन महासंघबाट वाहिरिएका केही पावरफूल सदस्यलाई समेत चेम्बरमा भित्र्याएको थियो। जिल्ला/नगर वाणिज्यतर्फबाट उपाध्यक्षतर्फका उपाध्यक्ष प्रमोद श्रेष्ठ र जिल्ला नगरकै आकांक्षी प्रकाश साउदलाई प्रदेश संयोजकमा ल्याएको थियो।

चेम्बरबाट भाष्करलाई ग्रेसफूल एक्जिट
महासंघको कार्यक्रममा सहभागी भएपछि चेम्बरले भाष्करलाई ‘ग्रेसफूल एक्जिट’ दिने भएको छ। स्रोतका अनुसार चेम्बरबाट राजीनामा दिएर सहज रुपमा वाहिरिन आग्रह गर्नेछ।

‘मानार्थ उपाध्यक्ष बनाएको व्यक्तिलाई राम्रोसँगै छाड्ने वातावरण हुनेछ। महासंघनै उपयुक्त प्लेटफर्म हो भन्ने लागेको भए चाँडैनै यता राजीनामा दिएर गए राम्रो पनि हुन्छ’ स्रोतले भन्यो। उनी महासंघको विभिन्न कार्यक्रममा सहभागी भएपछि चेम्बरको नेतृत्व र भाष्करबीच कुराकानी भने हुन सकेको छैन।