BIZMANDU
www.bizmandu.com

क्युरेक्स फर्मास्युटिकल्सले ३५ करोड रुपैयाँ लगानी जेनरिक डिभिजन संचालनमा ल्यायो

२०७५ चैत्र ३०

क्युरेक्स फर्मास्युटिकल्सले ३५ करोड रुपैयाँ लगानी जेनरिक डिभिजन संचालनमा ल्यायो
क्युरेक्स फर्मास्युटिकल्सले ३५ करोड रुपैयाँ लगानी जेनरिक डिभिजन संचालनमा ल्यायो



काठमाडौं । काभ्रेको जनागलमा संचालनमा रहेको औषधी उद्योग क्युरेक्स फर्मास्युटिकल्सले जेनरिक डिभिजन(ब्राण्ड रहित औषधि उत्पादन गर्ने विभाग) शुरु गरेको छ ।

Tata
GBIME
Nepal Life

जनागलस्थित औषधी उद्योग परिसरमै निर्माण गरिएको जेनरिक डिभिजनबाट ५१ प्रकारका औषधिको उत्पादन भइरहेको उद्योग प्रबन्ध निर्देशक सुशिल मित्तलले जानकारी दिए । ३५ करोड रुपैयाँको लगानीमा जेनरिक डिभिजन शुरु गरिएको व्यवस्थापनले जानकारी दिएको छ ।

सरकारले सर्वसाधारणलाई सस्तो मूल्यमा सरकारी अस्पतालहरुको औषधी पसलबाट उपलब्ध गराउने नीति अपनाउँदै 'जेनरिक' नामको औषधी खरिद गरेर वितरण गर्न थालेपछि अहिले स्वदेशी बजारमा जेनरिक औषधिको बजार चम्किएको छ। ब्राण्डेड औषधीको मूल्य उत्पादकले नै निर्धारण गर्छन् भने जेनरिक औषधिको मूल्य सरकारले नियन्त्रण गरिरहेको हुन्छ । जेनरिक औषधिको प्रवर्द्धनमा औषधी उत्पादकले चर्को प्रवर्द्धनात्मक खर्च गर्नु नपर्ने भएकोले उपभोक्ताले सस्तो मूल्यमै औषधि खरिद गर्न संभव हुन्छ ।

'ब्राण्डमा आधारित औषधि बजारको अवस्था कालिमाटीको तरकारी बजार जस्तै छ', प्रबन्ध निर्देशक मित्तलले भने, 'जहाँ किसान र उपभोक्ता दुबैले ठगिनुपरेको छ, जेनरिक औषधीले उपभोक्तालाई सस्तो मूल्यमा उपलब्ध हुनेछ।'

उद्योगको पेन्सिलिन ब्लकबाट ४० थरीका एण्टीबायोटिक औषधि उत्पादन भइरहेको छ ।सन् १९९२ मा औषधि उत्पादन शुरु गरेको क्युरेक्स फर्मास्युटिकल्सले चालू आर्थिक वर्षमा स्वास्थ्य विभागलाई २० करोड रुपैयाँ बराबरको औषधी आपूर्तिकर्ताको ठेक्का पाएको छ । 'हामीले गतवर्ष मात्र २८ करोड आइरन चक्की सरकारी अस्पतालहरुमा आपूर्ति गरेका छौँ,' मित्तलले भने, 'ठूलो परिमाणमा उत्पादनका कारण मूल्य प्रतिस्पर्धा गर्न संभव हुन पुगेको हो।'

करिब १८ रोपनी क्षेत्रफलमा फैलिएको यो औषधी उद्योग परिसरभित्र उत्पादन गृहले ८५ हजार वर्गफिट क्षेत्रफल ओगटेको छ । व्यवस्थापनका अनुसार उद्योगमा करिब १ अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको छ ।भिटामिन इ ओमेगा आयललगायतको औषधि उत्पादन गर्ने 'सब जिलेटिन' विभाग निर्माणको लागी समेत आवश्यक तयारी शुरु गरिएको छ ‌।उत्पादन प्रकृयामा ९० प्रतिशत स्वचालित प्रणाली प्रयोगमा ल्याइएको जानकारी दिंदै मित्तलले उद्योगमा ३ सय जनाले प्रत्यक्ष रोजगारीको अवसर पाएको बताए।