BIZMANDU
www.bizmandu.com

सौर्य एयर: संवेेेदनशील वायुसेवा व्यवसायमा खेलाँची, कम्पनी किनबेचमा नियामक वेखबर


सौर्य एयर: संवेेेदनशील वायुसेवा व्यवसायमा खेलाँची, कम्पनी किनबेचमा नियामक वेखबर
सौर्य एयर: संवेेेदनशील वायुसेवा व्यवसायमा खेलाँची, कम्पनी किनबेचमा नियामक वेखबर



काठमाडौं। गत साउन २४ गते सौर्य एयर बिक्री भएको घोषणा भयो। ६७ करोड रुपैयाँमा सौर्य एयर चीनमा व्यवसाय गरिरहेका गैरआवासीय नेपाली (एनआरएन) घनश्याम अधिकारीको समूहले किनेको जानकारी दिइयो। 

Tata
GBIME
Nepal Life

वित्तीय संकट भोग्दै आएको सौर्य एयरका अध्यक्ष दीपक पोखरेललेनै ६७ करोड दायित्व सकारेर घनश्याम अधिकारीको समूहले सौर्यको जिम्मेवारी लिएको जानकारी दिएका थिए। 

यो पनि पढ्नुस्अन्ततः सौर्य एयर ६७ करोडमा बिक्री, श्याम अधिकारी समूहले किन्यो

‘नयाँ समूहले बैंकको ५५ करोड र गैर बैंकिङ दायित्व १२ करोड सकारेको छ। नयाँ व्यवस्थापनसित कम्पनी बिक्रीको सम्झौंतापत्रमा हस्ताक्षर भएको छ’, पोखरेलले भनेका थिए। 

सौर्य बिक्री भएको जानकारी गराएको केही समयमै नियमित फ्लाइट सुरु भयो। सौर्यसँग रहेको ५० सीट भएको सिआरजे-२०० जहाजले उडान सुरु गर्यो।

घनश्याम अधिकारीको समूहले सौर्य किनेको तीन महिना पनि नपुग्दै फेरी लफडा सुरु भयो। अधिकारीको समूहले विमानस्थलको बक्यौता तिर्न नसकेपछि मंसिर २० गते सौर्यको उडान स्थगित भयो। ६७ करोड रुपैयाँमा कम्पनी सकारेको दाबी गर्ने अधिकारीको समूहले विमानस्थलको चार करोड रुपैयाँको शुल्क समेत बुझाउन सकेन।

यो शुल्क बुझाउन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सौर्यको उडान स्थगित गर्यो। त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत एयरलायन्स कम्पनीहरुले शुल्क बुझाउनु पर्छ।

यो पनि पढ्नुस्सौर्य एयरलाइन्सले तिर्न सकेन विमानस्थलको बक्यौंता

नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल सेवा सुरक्षा नियमावली अनुसार सौर्यको उडान रोक्यो। नियमावलीको नियम ३० को उपनियम २ मा कुनै व्यक्ति वा निकायले ६० दिनसम्म सेवा शुल्क नतिरेमा उडान तत्काल रोक लगाइने व्यवस्था छ। 

फागुन ८ गते सौर्य एयरलाइन्स फेरी अर्को समूहले किनेको घोषणा भयो। भारतको कुवेर ग्रुप अन्तर्गतको क्लब वान कम्पनीले सौर्य एयरलाइन्स ६२ करोड रुपैयाँमा किनेको घोषणा फेरि उनै कम्पनीका अध्यक्ष दीपक पोखरेलले गरे। 

छ महिनाअघि मात्रै चीनमा व्यवसाय गर्ने अधिकारीको समूहले किनेको घोषणा गर्ने पोखरेलले नै फेरी कुवेर समूहले सौर्य किनेको घोषणा गरेका थिए। ६ महिनाको अवधिमा दुई पटक कम्पनी विक्रिको घोषणा गरे पनि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भने यी सबै घटनाक्रममा वेखबरजस्तै छ।

संसारमै वायुसेवा कम्पनी संवदेनशील व्यवसाय मानिन्छ। यो व्यवसायमा आउने व्यक्तिको वित्तीय अवस्थालाई हेरेर मात्रै व्यवसाय गर्न दिइन्छ। तर नेपालमा भने पटक/पटक कम्पनी बेचविखन हुँदा समेत क्यानलाई सामान्य जानकारी समेत छैन। 

क्यानका महानिर्देशक सन्जीब गौतम कम्पनी किनबेच फाइनान्सियल विषय भएको बताउँदै नेपालका अन्य निकायले हेरेपछि मात्रै प्राधिकरणमा आउने बताउँछन्। 

‘कुनै पनि कम्पनी किनबेच हुनु वित्तीय विषय हो। नेपालको अहिलेको कानुनका आधारमा कम्पनी ऐन अनुसार दर्ता भइसकेपछि नेपाली र विदेशीको शेयर कति छ भन्ने हेर्ने उद्योग विभाग हो’, उनले बिजमाण्डूसँग भने, 'हामीले पनि कम्पनी दुईपल्ट किनबेच भएको सुनेको हो। अहिले पनि भारतीय कम्पनीले सौर्य किनेको सुनेका छौं। तर कम्पनी किनिसकेको प्रमाणपत्र आइसकेको छैन।’

सरकारी छिद्र टेकेर च्याँखेदाउ
कम्पनी खरीदबिक्रीको सामान्य जानकारी मात्रै दिए पुग्ने प्रावधानले यो व्यवसायमा च्याँखे दाउ थाप्ने व्यवसायी प्रवेश गर्न थालेका छन्। सौर्यमा आएका घनश्याम अधिकारी त्यस्तै व्यवसायी भएको स्रोतको दाबी छ। छ महिना अघि सौर्य एयरलाइन्स किनेको दाबी गरिएका अधिकारी चिनियाँ व्यापारमा संलग्न रहेको दाबी थियो। तर अधिकारी बारे चीनमा व्यापार गरिरहेका र नेपालमा व्यापारिक समूह जानकार थिएनन्। 

‘अर्बौको व्यापार त्यो पनि क्यास वर्निङ विजनेशमा आउने व्यक्तिको बारेमा व्यापारिक समूहलाई सामान्य जानकारी समेत नहुनु आश्चर्यजनक विषय थियो। उनी गम्भीर खरिदकर्ता नभएर च्याँखेदाउ थाप्न आएका व्यक्ति थिए’ सौर्यकै एक संचालकले भने, 'उनले केही चिनियाँ ल्याएर कम्पनी टेकओभर गर्ने भनेका थिए। तर न चिनियाँ ल्याउन सके न आफैँले पैसा जुटाउन सके।’ 

खरीद बिक्री बारे नियामक निकाय क्यानलाई जानकारी दिनु नपर्ने प्रावधानकै कारण यसरी पटक/पटक च्याँखेदाउ थापेर पैसा कमाउन खोज्ने व्यक्तिको प्रवेश हुन थालेको हो।

विगतमा पनि त्यस्तै अभ्यास
घरजग्गा व्यापारी सुधिर बस्नेत डुबेपछि उनको नाममा रहेको अग्नी एयर किनबेचमा समेत च्याँखेदाउ थापिएको थियो। बस्नेतको अग्नी एयर चलाउने भन्दै पोखराको नमस्ते एयर प्रालिले पहल गरेको थियो। तर यो कम्पनीले जहाज चलाउन सकेन बरु उसको केही करोड रुपैयाँ डुब्यो। 

त्यसपछि अग्नी एयर रामेश्वर थापाले किने। अग्नी एयरको नाममा रहेको ऋण सकार्दै सिम्रिक एयरलाइन्सले स्टेक किन्यो। अहिले सिम्रिक एयरलाइन्स प्रालिले अग्नीको नाम ‘सिम्रिक’ मा परिवर्तन गरेर जहाज उडाइरहेको छ। 

यात्रुको जीवनमाथि गम्भीर खेलवाड
वित्तीय अवस्था नहेरि एयरलाइन्स व्यवसायमा जोसुकैलाई प्रवेश गराउनु गम्भिर खेलवाड भएको हवाई क्षेत्रका जानकार बताउँछन्। 

‘जहाज चलाउनेसँग प्रर्याप्त पैसा छ कि छैन भनेर क्यानले हेर्नुपर्छ। राम्रो वित्तीय अवस्था नभएका व्यक्ति आउँदा सुरक्षामा समेत सम्झौता गर्न सक्छ’ ती विज्ञले भने, 'सुरक्षामा राम्रो जनशक्ति र सामान राखेन भने यात्रुमाथि गम्भिर खेलवाड हुनसक्छ। त्यसैले जहाज चलाउने क्षमता भए/नभएको व्यवस्था क्यानले हेर्न थाल्नुपर्छ।’ 

उनका अनुसार विमानस्थलको किस्ता समेत तिर्न नसक्ने कम्पनीले पाइलट, क्याविन क्रु लगायतका कर्मचारीको तलब सुविधा नदिएको समेत हुनसक्छ। 

‘पाइलट स्ट्रेस फ्रि हुनुपर्छ। तर कुनै कम्पनी वित्तिय रुपमा टाट पल्टिएको छ भने त्यो कम्पनीका पाइलटदेखि क्याबिन क्रुले तलब नपाएका रहेछन् भने त्यसको मनोवैज्ञानिक असर पर्छ’ ती विज्ञले भने।

कुनै पनि कम्पनी किनबेच हुनु वित्तीय विषय हो। नेपालको अहिलेको कानुनका आधारमा कम्पनी ऐन अनुसार दर्ता भइसकेपछि नेपाली र विदेशीको शेयर कति छ भन्ने हेर्ने उद्योग विभाग हो। हामीले पनि कम्पनी दुईपल्ट किनबेच भएको सुनेको हो। अहिले पनि भारतीय कम्पनीले सौर्य किनेको सुनेका छौं। तर कम्पनी किनिसकेको प्रमाणपत्र आइसकेको छैन।


क्यान के भन्छ?
वित्तिय अवस्था राम्रो नभएको संस्था वा कम्पनीलाई जहाज चलाउन दिनु उपयुक्त नहुने क्यानका महानिर्देशक गौतम स्वीकार गर्छन्।

‘वित्तीय रुपमा सक्षम नभएको व्यक्तिलाई जहाज चलाउन दिनुहुँदैन। यदि सक्षम छैन भने कुनै कम्पनीले प्राविधिक विषयमा पनि सम्झौता गर्नसक्छ,’ उनले बिजमाण्डूसँग भने, 'तर अहिलेसम्म हामीले जहाज उडानका लागि उपयुक्त भए/नभएको प्राविधिक कुरा हेर्छौं। एयर वर्दिनेश र फ्लाइट अपरेशनका कुरा मात्रै हेर्ने गरेका छौं। तर अब हामीले विस्तारै फाइनान्सियल विषय पनि हेर्नुपर्ने अवस्था आएको छ।’