BIZMANDU
www.bizmandu.com

मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन संकटकालको घोषणा विरुद्ध सदन गएपछि ट्रम्पद्वारा भिटो प्रयोग

२०७५ चैत्र २

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउन भिटो प्रयोग गरेका छन्।

Tata
GBIME
Nepal Life

पर्खाल लगाउन कंग्रेसले बजेट नदिएपछि संकटकाल लगाउने ट्रम्पको निर्णयलाई कंग्रेसले अस्वीकृत गर्ने देखेपछि उनले भिटो प्रयोग गरेका हुन्।

संकटकाल घोषणा सम्बन्धी निर्णय विरुद्ध बिहिवार कंग्रेसमा भएको मतदानमा ट्रम्पकै रिपब्लिकन पार्टीका १२ सांसदले संकटकाल विरुद्ध मतदान गरेका थिए। ट्रम्पले त्यसलगत्तै भिटो प्रयोग गर्ने बताएका थिए।

अब अमेरिकी संसदको दुवै सदनमा ट्रम्पको भिटो रद्द गर्न र उनले गर्ने कामहरुलाई रोक्न दुई तिहाइ बहुमत चाहिनेछ। तर हाल सदनहरुको अवस्था हेर्दा दुई तिहाइ पुग्ने देखिदैन।

गत फेब्रुअरी १५ मा ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका थिए। गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी र तस्करहरुका कारण अमेरिकामा संकट आएको भन्दै अमेरिकाको दक्षिणी क्षेत्रमा मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउन उनले तल्लो सदन कंग्रेस समक्ष बजेट माग गरेका थिए।

तर डेमोक्रेटहरुको असहयोगका कारण उनको त्यो माग पुरा नभएपछि कंग्रेसलाई बाइपास गर्दै संकटकाल घोषणा गरिएको थियो।

ट्रम्पले दक्षिणी सीमा खुल्ला भएको र आप्रवासीहरुको गैर कानूनी प्रवेशका कारण अमेरिकामा संकट उत्पन्न भएको भन्दै पर्खाल बनाउने अडान लिँदै आएका छन्। अमेरिका प्रवेश गर्न खोजी रहेका हजारौं आप्रवासीहरु केही महिनदेखि अमेरिकासँग सीमा जोडिएको मेक्सिकोका शहरहरुमा छन्। तर ट्रम्प प्रशासनले भने गैर कानूनी रुपमा कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने बताउँदै आएको छ।

पर्खालका लागि बजेट पास नगरेसम्म ट्रम्पले सरकारी खर्च निकासा नगर्ने अडान लिँदा अमेरिकामा इतिहासकै सबैभन्दा लामो ३५ दिने 'सट डाउन' भएको थियो। जनवरी २६ मा पर्खालका लागि खर्च समावेश नगरी सरकारी कार्यालयहरू खोल्न ट्रम्प 'अस्थायी रुपमा सहमत' भएका थिए।

यद्यपि, ट्रम्पले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल लगाउन कंग्रेससँग माग गरिएको ५.७ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव यथावत् रहेको बताएका थिए।

तर अमेरिकी सदनले सीमामा पर्खाल लगाउनका लागि ट्रम्पले माग गरे बमोजिम बजेटको पारित गरेन। त्यसपछि संकटकाल घोषणा गरेका ट्रम्पले सेनाका लागि छुट्याइएको बजेटबाट सीमामा पर्खाल लगाउन बताएका थिए।

यता, डेमोक्रेट नेतृ एवंक कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले संकटकाल घोषणाका लागि भिटो रद्द गर्न मार्च २६ मा प्रस्ताव ल्याने बताएकी छिन्। उनले ट्रम्पले घोषणा गरेको संकटकाललाई 'फेक एमर्जेन्सी' भनेकी छिन्।