BIZMANDU
www.bizmandu.com

प्यानको फण्डाले दोस्रो बजारमा करेक्सन हुन पाएन, नाफा बुक गर्ने बढे, नेप्सेमा ५ अंकको सुधार

२०७५ फागुन ३०


काठमाडौं। शेयर बाजारका लगानीकर्ताको लागि प्यान अनिवार्य हुने व्यवस्थाबाट सिलिङ तोक्दै धितोपत्र बोर्ड पछाडि हटेपछि आज शेयर बजारमा सुधार देखिएको छ।

Tata
GBIME
Nepal Life

लगातार ६ कारोबार दिन बढेपछि बुधबार करेक्सन भएको बजारमा आज पनि केहि करेक्सन हुने क्रममा थियो।

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको विरोधपछि ५ लाख रुपैयाँ भन्दा तल कारोबार गर्ने लगानीकर्तालाई प्यान अनिवार्य नगरिने भनेसँगै बिहीबार शेयर बजार थप ५ अंकले सुधार भएको हो।

बुधबार १३.१६ अंकले बजारमा करेक्सन हुँदा कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँले घटेको थियो। बिहीबार कारोबार सुरु भएदेखिनै घट्न थाले पनि डेढ घण्टा पछि बजार विस्तारै विस्तारै सुधार हुन थाल्यो। नेपाल धितोपत्र बोर्डले प्यानको विषयमा प्रेस विज्ञप्ती जारी गरेपछि बजारमा सुधार आयो।

सुरुमा बजार करेक्सन हुने मानसिकतामा चलेपनि प्यानबारे धितोपत्र बोर्डले लिएको नयाँ निर्णयले बजार बढ्न सक्ने मानसिकता हावी हुँदा कारोबार रकम र सूचकमा एकाएक सुधार भयो। त्यसअघि बजार खुलेको डेढ घण्टाको अवधिमा ९ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो।

बजार बढ्ने संकेत देखिएसँगै नाफा बुक गर्नेले राम्रो अवसर पाएका छन्। बजार रातो हुँदा शेयर बिक्री हुने अवस्था थिएन। जब बजारमा थोरै सुधार आउन थाल्यो खरिद बिक्री पनि  ह्वात्तै बढ्यो। बजार बढ्न सक्ने संकेतका आधारमा केही लगानीकर्ताले लगानी थपे भने केहीले नाफा बुक गर्न भ्याए।

लगानीकर्ताले एक हप्ताकै बीचमा कम्तिमा पनि ५५ अंकको सुधारका साथ नाफा बुक गरिसकेका छन्। आज ०.४७ प्रतिशत सुधार हुँदै नेप्से सूचक ११५५.५० अंकमा रोकिएको छ। त्यस्तै कारोबार रकम ४८ करोड ५८ लाख रुपैयाँको भएको छ।

सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै २१ करोड रुपैयाँको संस्थापक शेयर कारोबार भएको छ। संस्थापक शेयरको पनि १०७० रुपैयाँको दरमा कारोबार भएको छ। त्यस्तै अधिकतम कारोबार हुनेमा एनसिसी बैंक रहेको छ।

सबैभन्दा धेरै बढ्ने क्रममा तिनाउ डेभलपमेन्ट बैंक र युनाइटेड फाइनान्सको कारोबारमा सर्किट लागेको छ।

त्यस्तै रिडि हाइड्रोपावरका शेयधनीहरुले सबैभन्दा धेरै ६ प्रतिशतले गुमाउँदा ९२ रुपैयाँमा कारोबार भएको छ। उत्पादन तथा प्रसोधनको सुचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक हरियो देखिएका छन्।