BIZMANDU
www.bizmandu.com

बीमा कम्पनीले घरजग्गामा लगानी गर्न पाउने, शेयरमा लगानी गर्ने सीमा बढ्यो, नाफा बढ्ने

२०७५ फागुन २९

बीमा कम्पनीले घरजग्गामा लगानी गर्न पाउने, शेयरमा लगानी गर्ने सीमा बढ्यो, नाफा बढ्ने
बीमा कम्पनीले घरजग्गामा लगानी गर्न पाउने, शेयरमा लगानी गर्ने सीमा बढ्यो, नाफा बढ्ने


काठमाडौं। बीमा कम्पनीले ५ प्रतिशतसम्म घरजग्गामा लगानी गर्न पाउने भएका छन्। बीमा समितिले लगानी निर्देशिका २०७५ मार्फत घरजग्गामा लगानी गर्न पाउने व्यवस्था गरेको हो।

Tata
GBIME
Nepal Life

यसअघिको निर्देशिकामा घरजग्गामा लगानी गर्न पाउने व्यवस्था थिएन। बीमा कम्पनीहरुले घर जग्गा व्यवसायमा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन वर्षमा एक पटक र घरजग्गा बाहेक अन्य क्षेत्रमा गरिएको लगानीलाई प्रत्येक दिन मूल्यांकन गर्नुपर्नेछ।

कुनै कारणले मूल्य घटवढ भई सम्पतिको मूल्यले यस निर्देशिकामा उल्लेख भएको न्यूनतम भन्दा कम र उच्चतम भन्दा बढी लगानी भएको देखिन आएमा त्यसरी सीमा नाघेको तीन कार्यदिन भित्र त्यस्तो लगानीलाई सीमा भित्र ल्याइसक्नु पर्नेछ। समितिले सरकारको ऋणपत्र तथा बचतपत्रमा कुल लगानीको २० प्रतिशत नघट्ने गरि लगानी गर्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै यसको सीमा ५ प्रतिशतमा झारेको छ।

कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरि दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनीमा लगानी गर्दा, घरजग्गा व्यवसाय, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा तोकिएको सीमाभन्दा बढी लगानी गर्दा समितिबाट पूर्व स्वीकृति लिनुपर्नेछ।

बीमा कम्पनीले बाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकमा कम्तीमा पनि कूल टेक्निकल रिजर्भको ४० प्रतिशत रकम मूद्दती निक्षेपमा जम्मा गर्नुपर्नेछ। यस अघिको निर्देशिका अनुसार न्यूनतम ३५ प्रतिशत रकम मुद्दती निक्षेपमा जम्मा गर्नुपर्ने व्यवस्था थियो।

अहिलेको व्यवस्थाले ऋणपत्र तथा बचतपत्रको सीमा घटाएको छ भने मुद्दती निक्षेपको सीमा बढाएको छ।बीमा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त तथा शेयर बजारमा सूचीकृत कम्पनीहरुमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म शेयर लगानी गर्न पाउने छन्।

बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बाणिज्य बैंक विकास बैंक र फाइनान्सको अग्राधिकार शेयर (साधारण शेयरमा परिणत नहुने) र ऋणपत्रमा कूल टेक्निकल रिजर्भको २० प्रतिशत सम्म लगानी गर्न पाउने छन्। लगानी गरिने कम्पनीको चुक्ता पूँजीको दश प्रतिशत भन्दा बढि हुनेगरि लगानी गर्न पाइने छैन।

बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनियम बजारमा सूचिकृत पब्लिक कम्पनीको सुरक्षित डिवेन्चरमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न पाउने छन्।कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा गरिएको ऋणपत्र वा पूँजीमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न पाउने छन्। तर २० प्रतिशत भन्दा बढी लगानी गर्न चाहेमा समितिसँग स्वीकृति लिनु पर्नेछ।

नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म लगानी गर्न सक्ने छन्।बीमा कम्पनीहरुले विकास बैंकहरुको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म रकम जम्मा गर्न सक्ने छन्। त्यस्तै नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न पाउने छन्।

समितिले जारी गरेको नयाँ निर्देशिकाले थप लगानीको दायरा विस्तार गरेको सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बताए। उनका अनुसार बैंकको व्याजदरमा बीमा कम्पनीको नाफा निर्धारण हुने गरेकोमा भोलिका दिनमा बजारका आधारमा र बीमा कम्पनीको लगानी व्यवस्थापनका आधारमा नाफा तल माथि हुनेछ। अहिले आएको यो लगानी निर्देशिका धेरै परिष्कृत भएको उनले टिप्पणी गरे।

अहिलेको लगानी निर्देशिकामा लगानी गर्नु भन्दा अगाडि टेक्निकल रिजर्भ गणना गर्नु पर्न व्यवस्था छ। यस्तो रिजर्भ गणना गर्न अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसार हुने भएको हुँदा तत्काललै टेक्निकल रिजर्भ गणना गर्न गाह्रो पर्ने उनले बताए। लगानीका लागि भएपनि बीमा कम्पनीहरुले समयमा लेखापरीक्षण गर्नु पर्ने देखिएको छ।

यदि लेखापरीक्षण नगरिएमा बीमा कम्पनीहरुले अधिकांश रकम बैंकमा जम्मा गरेर राख्नु पर्नेछ। यस निर्देशिकाले समितिको अनुमतिमा लगानीका दायरा थप्ने व्यवस्था गरेकोले बीमा कम्पनीले इन्नोभेटिभ क्षेत्रमा पनि लगानी गर्ने बाटो खुलेको पाण्डेले बताए।