BIZMANDU
www.bizmandu.com

गाडी नै लिएर चोर्न हिँड्ने ‘भिआइपी’ चोर प्रहरीको फन्दामा, सुन चाँदी सहित एक ट्रक सामान भेटियो

२०७५ फागुन २७


काठमाडौं
। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गिरोह बनाएर उपत्यकाभित्र चोरी गर्ने एउटा समूहलाई नियन्त्रणमा लिएको छ। 

Tata
GBIME
Nepal Life

गोप्य सूचनाको आधारमा प्रहरीले दुई भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रामेछाप घर भएका ओमराज श्रेष्ठ, भारतको मोतिहारी घर भएका पारस प्रसाद र सन्तोष पोदार रहेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 

‘उपत्यकाभित्र समूह बनाएर चोरी गर्ने ठूलो गिरोह हो यो। उनीहरूले लामो समयदेखि चोरी गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ,' डिएसपी बोगटीले भने। 

उनीहरूले चोरी गर्नका लागि दुई वटा निजी गाडीसमेत प्रयोग गर्ने गरेको देखिएको छ। प्रहरीले बा १ ज ११९२ नम्बर र बा १४ च ७२६९ नम्बर भ्यान समेत नियन्त्रणमा लिएको छ। उनीहरूले चोरिएको सामान गाडीमा राखेर विभिन्न ठाउँमा पुर्या उने गरेको देखिएको छ। ‘उनीहरू भिआइपी खाले चोर हुन्। धेरै मात्रामा सामान चोरी गरी गाडीमा राखेर गोदाममा पुर्याउउने गरेको पाइयो,' उनले भने। 

नेपाली र भारतीय नागरिक मिलेर उपत्यकाभित्रका ठूला सुनचाँदी पसल, हार्डवेयर पसल लगायतमा चोरी गर्ने गरेको खुलेको हो।

चोरीको सामान स्टोर गर्ने ३ वटा कोठा भाडामा

उनीहरूले चोरी गर्ने गरेको सामान राख्नका लागि कोठा भाडामा लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। काठमाडौँको पुरानो वानेश्वरमा उत्तम कृष्ण कर्मचार्यको घरमा ३ वटा कोठा भाडामा लिएका छन्। ‘चोरी भएको सामान गाडीमा राखेर घरमा ल्याएर गोदाम गरेको देखियो। हामीले घरबाट विभिन्न सामान बरामद गरेका छौँ,' डिएसपी बोगटीले भने। उनीहरूले विगत चार वर्षदेखि घरको कोठा भाडामा लिएको घरधनी कर्माचार्यले प्रहरीमा बयान दिएका छन्।

प्रहरीले उनीहरूको कोठाबाट चोरी भएका झन्डै एक ट्रकभन्दा बढी सामान बरामद गरेको छ। डिएसपी बोगटीले भने, 'ठूलो मात्रामा सामान बरामद गरेका छौँ। एक ट्रकभन्दा बढी चोरीका सामान रहेको छ।' प्रहरीले कोठाबाट १० केजीभन्दा बढी चाँदी, केही सुनका गहना र हार्डवेयरका सामान बरामद गरेको हो।

गत १४ गते विराट महर्जनको सुनचाँदी पसलबाट चोरी भएको सामान, धुम्बराहीमा रहेको कर्णप्रसाद चौलागाइको पसलबाट चोरी भएको झन्डै ७ लाख बराबरको सामान, भक्तपुरमा रहेको हार्डवेयरबाट चोरी भएको सामान प्रहरीले बरामद गरेको खुलेको जनाएको छ।