BIZMANDU
www.bizmandu.com

थाइल्याण्डमा यसरी ब्यापारको ड्राइभिङ फोर्स बन्दैछन् महिला, ४०% ले उच्च तह सम्हाल्दै

२०७५ फागुन १५

थाइल्याण्डमा यसरी ब्यापारको ड्राइभिङ फोर्स बन्दैछन् महिला, ४०% ले उच्च तह सम्हाल्दै
थाइल्याण्डमा यसरी ब्यापारको ड्राइभिङ फोर्स बन्दैछन् महिला, ४०% ले उच्च तह सम्हाल्दै



थाइल्याण्ड एशियाको नमुना देश बनेको छ जहाँ महिलाहरुले नेतृत्व तहमा ३७ प्रतिशत स्थान ओगटेका छन्।

Tata
GBIME
Nepal Life

महिलाको नेतृत्वको वैश्विक औसत २४ प्रतिशत मात्र रहँदा थाइल्याण्डमा भने फरक अवस्था छ जहाँ ४० प्रतिशत सिइओ महिला नै छन् भने ३४ प्रतिशत सिएफओ पनि महिला नै छन्।

थाइल्याण्ड उच्च शिक्षामा महिलाको पहुँचका आधारमा विश्वमै पहिलो नम्बरमा छ जहाँ विश्वविद्यालय शिक्षामा १ पुरुष बराबर १.४१ महिलाको उपस्थिती रहेको छ।

कर्पोरेट क्षेत्रमा महिलाहरुको उपस्थिती तथा नेतृत्वमा थाइल्याण्डले अन्य एशियाली देशहरुलाई मात्र होइन विश्वस्तरमै राम्रो श्रेणीमा दरिन सफल छ।

ब्यापार क्षेत्रमा राम्रो प्रगति हासिल गरेपनि थाइल्याण्डको राजनीतिमा भने महिलाहरुको उपस्थिती बिपरित देखिन्छ। थाइल्याण्डको राजनीतिमा महिलाहरु पछि पारिएका छन्। विश्वका १सय ९३ देशहरुमध्ये संसदमा महिलाको उपस्थितीका आधारमा थाइल्याण्ड श्रेणीमा १८१ औं देशमा परेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ।

थाइल्याण्डमा जुन्ताको २४० सिटे संसदमा जम्मा १३ जना महिला मात्र सामेल छन्। मन्त्रीस्तरमा एकजना पनि महिला छैनन्।
आगामी महिना हुने आम निर्वाचनमा पनि महिलाहरुको उपस्थितीमा प्रगति देखिएको छैन। ४४ पार्टीबाट प्रधानमन्त्रीका ६८ जना आकांक्षी देखिएकोमा जम्मा ८ जनामात्र महिला छन्।

कर्पोरेट क्षेत्रमा सफलता

थाइल्याण्डको रियल स्टेट, ट्रान्सपोर्ट, रिटेल तथा उत्पादनशील क्षेत्रको नेतृत्वमा महिलाहरु पुग्नुमा पारिवारिक ब्यापारमा महिलालाई अघि सार्नु महत्वपूर्ण कारक मानिएको छ।

थाइल्याण्डमा ब्यावसायिक घरानामा महिला नेतृत्वलाई अघि सार्दा उनीहरुमा 'वर्किङ कल्चर' विकास भएको छ। थाइल्याण्डका महिलाहरु घर बाहिरको काम गर्नछन्। यसैगरी उनीहरुलाई शिक्षामा पनि सहज पहुँच छ। 'बिगतमा पुरुषहरु घर बाहिरको काम गर्थे महिलाहरु घरब्यबहार सम्हाल्थे। अहिले अवस्था फरक छ।'- नेशनल इन्स्टिच्यूट अफ डेभलपमेन्ट एडमिनिस्ट्रेसनका पूर्व अध्यक्ष जौरी भिचित भादाकानले भने।

थाइ महिलाहरुको घरायसी काममा सहभागिता दक्षिण कोरिया तथा जापानभन्दा फरक छ जहाँ अहिलेसम्म पनि महिलाहरुले घरधन्दामा धेरै समय बिताउनुपर्छ थोरैले मात्र कर्पोरेट जब गर्छन्।

थाइल्याण्डमा महिलाहरुलाई पुरुषसँगै बित्त तथा बीमा क्षेत्रमा समान काम र अवसर दिइएको जसबाट उनीहरुले नेतृत्व तहसम्म पुग्ने अवसर पाएका छन्।

ब्यापारमा अवसर दिएपनि पुरुष हावी भएको राजनीतिक पार्टीहरुले थाइ महिलालाई राजनीतिमा अघि बढ्न भने सघाएको छैन। सेनाले चलाएको संसदमा महिलाहरुको उपस्थिती ५ प्रतिशतमात्र छ ।

५६ वर्षकी कामोन्वान विपुलाकोर्न महिलाहरुको क्षमताका कारण उनीहरु ठूला कम्पनी नेतृत्व गर्ने हैसियतमा पुगेको बताउँछिन्। उनी आफैँले पनि तल्लो तहबाट ब्रोकरेज फर्ममा काम सुरु गरेकी थिइन्। तीन दशकमा उनी हाल थाइल्याण्डको ठूलो रियल स्टेट कम्पनीको सिइओ छिन्।
उनी थाइल्याण्डकै ठूलो रियल स्टेट डेभलपर ओरिजिन प्रोपर्टी कम्पनीको सहायक कम्पनी वान ओरिजिनकी सिइओ हुन्।

'महिला भएकै कारणले अवसरमा कुनै बन्देज लगाइएको अवस्था मैले महसुस गर्नु परेन। मैले कहिल्यै पनि पुरुष सहकर्मी चयन गरेर मलाई पछि पार्छन् भन्ने पनि महसुस गर्नुपरेन। त्यस अर्थमा म भाग्यमानी ठहरिएँ।'-उनी भन्छिन्।

कामोन्वानको भोगाईले थाइल्याण्डको समग्र कर्पोरेट क्षेत्रमा महिलाको अवस्थालाई प्रतिनिधित्व गर्छ। दक्षिणपूर्वी एशियाको दोस्रो ठूलो अर्थतन्त्र थाइल्याण्डमा महिलाहरु बिजनेस सेक्टरको ड्राइभिङ फोर्स बनेका छन् जहाँ उनीहरुले एक तिहाइभन्दा बढी उच्च ब्यबस्थापन तह सम्हालेका छन्।

पारिवारिक बिरासत

कामोन्वानले कर्पोरेट क्षेत्रमा काम गर्न लामो बाटो तय गरिन्। तर धेरै महिलाहरुले पारिवारिक बिजनेस सम्हाल्दै त्यो स्थानमा पुग्न सफल भएका छन्।

खासमा ठूलो मात्रामा महिला नेतृत्व तहमा पुग्नुमा पारिवारिक ब्यापारमा उनीहरुलाई परिवारले अघि बढाउनु प्रमुख कारक हो।

'यो देशमा महिलाहरुलाई अवसर छ। लोकल बिजनेसमा महिलाकै बर्चश्व छ।'- हजुरआमाले शताब्दीअघि स्थापना गरेको बोट कम्पनी चाओ फ्राया एक्सप्रेस बोटकी सिइओ सुपापान पिचाइरोनारोङसोङरामले भनिन्। सुपापन अहिले ७४ वर्षकी भइन् र उनी आफ्नो पारिवारिक बिरासत सम्हाल्ने तेस्रो पुस्ता हुन्।

उनले आफ्नी आमाको मृत्युपछि हजुरामाको ब्यापार सम्हाल्नु आफ्नो कर्तब्य सम्झेर कम्पनीको नेतृत्व आफ्नो हातमा लिइन्।
उनको कम्पनीले कम बजेटको फेरी चलाउँछ जसबाट सर्वसाधारणले कम मुल्यमा सेवा पाउँछन्। उनी भन्छिन् – 'मेरी आमा र हजुरामाले सस्तो सेवा दिने कम्पनी चलाउन आफ्नो पूरै जीवन बिताए। त्यसैले उनीहरुको बिरासत धान्नु मैले आफ्नो कर्तब्य सम्झिएँ।'

उनले बैंककमा सानो नदीमा चल्ने फेरि कम्पनी बिकास गरिन् जहाँ उनले बार्षिक रुपमा १० लाख ७० हजार प्यासेन्जरलाई सेवा दिन्छिन्। उनले आफ्ना फेरिहरुमा बिभिन्न कम्पनी, मल, होटल तथा रेष्टुरेन्टलाई विज्ञापनको लागि स्पेस बेचेर पनि पैसा कमाउँछिन्। उनी पछि कम्पनीको नेतृत्व उनकी छोरीले गर्ने पक्का छ।

यस्तै ५७ वर्षको चाडाटिप चुत्राकुल सियाम पिवट कम्पनीको सिइओ हुन् जुन ब्यवसाय उनको वुवाले स्थापना गरेका थिए। मल अपरेटर कम्पनीमा चुत्राकुल सुरुमै नेतृत्व तहमा पुगेकी होइनन् उनका बुवाले उनलाई कम्पनीको सेक्युरिटी हेर्नेकामदेखि इन्फरमेसन डेस्कमा बस्नेसम्मका सबै तहको काम सिकाएर ब्यवसायमा ल्याएका थिए।

'यो सजिलो थिएन तर मैले सबैबाट केही न केही सिक्न पाएँ।- उनी भन्छिन्। उनका बवाले उनलाई कम्पनीको नेतृतव दिनुअघि ग्रुम गरेका थिए। उनका दाजुभाइ भने पारिवारिक ब्यापारबाट उम्किएर अन्य क्षेत्रमा गएको उनले बताइन्।

चुत्राकुलको नेतृत्वमा राम्रो पोर्टफोलियो बनाएको कम्पनीले हालैमात्र बैंककको तट क्षेत्रमा १ अर्ब ७० करोडको  भब्य कम्प्लेक्स संचालनमा ल्याएको छ।

कार्यक्षेत्रमा सहभागिता

महिलाहरुले कर्पोरेट क्षेत्रमा सफलता पाउनुमा थाइल्याण्डका महिलाहरु बालबच्चा जन्मिइसकेपछि पनि कार्यक्षेत्रमा खटिनु पनि एक हो। अरु देशमा बच्चा जन्मिएपछि महिलाहरुको कार्यस्थलमा सहभागिता घट्ने गरेको छ तर थाइ पारिवारिक संरचनाका कारण हजुरबा हजुरामाले बालबच्चा हुर्काउन मद्दत गर्ने भएकाले अधिकांश थाइ महिलाहरु घरबाहिरको काम गर्ने र कार्यस्थलमा खटिने गरेको युएन ओमेनकी क्षेत्रीय निर्देशक आन्ना कारिन जाटफोर्सले बताइन्।

'निश्चित सामाजिक आर्थिक समूहका महिलाहरु बिभिन्न अड्चनका वावजुद पनि बिभिन्न 'सपोर्ट नेटवर्क'का कारण परिवार र करियरलाई सन्तुलनमा राख्दै काम गरिरहेका छन् र उनीहरु सबैकालागि उदाहरण हुन्।'-उनले भनिन्।

राजनीतिक क्षेत्रमा अघि बढ्न भने थाइल्याण्डमा महिलालाई त्यति सजिलो छैन। ब्यापारमाभन्दा राजनीतिमा महिलाहरुकालागि अवस्था फरक छ। पार्टी संरचनाका कारण पनि महिलाहरुलाई राजनीतिमा सजिलो छैन।

त्यहाँको राष्ट्रिय राजनीतिमा ऐतिहासिककालदेखि नै पुरुष सत्ता हावी छ।

तोसिवा थाइल्याण्ड कर्पोरेसनकी कोबकर्ण वातानाभ्राङकुल थाइल्याण्डकी पहिलो महिला पर्यटन मन्त्री हुन्।

उनी त्यसबेला मन्त्री बनेकी थिइन् जब संसदमा तीनजनामात्र महिला सांसद थिए।  उनका अनुसार थाइल्याण्डको ब्यापार र राजनीतिमा फरक के हो भने ब्यापारमा जस्तो राजनीतिमा महिलालाई सपोर्ट र अवसर दिँइदैन।

'मेरो अनुभव के हो भने महिलाहरु ब्यापार र घरबार मज्जाले चलाउँछन् तर कहिलेकाहीँ बैठकमा आफ्नो पक्षमा बोल्न पनि पुरुषलाई अघि सार्छौं।'- ५८ वर्षकी कोबकर्ण भन्छिन्।

संविधानको ड्राफ्ट कमिटीमा रहेर काम गरिसकेकी पूर्व सांसद जुरी भन्छिन्-  थाइ संसद महिलाको लागि एकदमै एकांकी स्थान हो जहाँ पुरुषहरुलाई मात्र आफ्नो 'एलायन्स' बनाउन सहज छ।