BIZMANDU
www.bizmandu.com

विना मगर मन्त्री भएपछि के काम गरिन्? मेलम्ची अनिश्चित हुँदा पनि प्रगतिकै गुणगान

२०७५ माघ २९

विना मगर मन्त्री भएपछि के काम गरिन्? मेलम्ची अनिश्चित हुँदा पनि प्रगतिकै गुणगान
विना मगर मन्त्री भएपछि के काम गरिन्? मेलम्ची अनिश्चित हुँदा पनि प्रगतिकै गुणगान



काठमाडौं । खानेपानी मन्त्रालयले एक बर्षमा अवधिमा साना ठुला गरि ५ सय ५८ वटा खानेपानी आयोजना सकिएको दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

खानेपानी मन्त्री विना मगरले पदभार सम्हालेको ११ महिना अवधिमा गरेको प्रगति सार्वजनिक गर्दै पछिल्लो ११ महिना मेलम्ची खानेपानी आयोजनाले गति लिएको दाबी गरेको छ। तर उनकै पालामा इटालियन कम्पनी सिएमसी दि रिभेन्याले काम छाडेर हिडेको छ। यो परियोजना अहिले अनिश्चित जस्तै बनेको छ। तर मन्त्रालयले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको ९६ प्रतिशत काम पूरा भएको दाबी गरेको छ।

जवकी आयोजनाको हेडवर्क्सको काम समेत भएको छैन। मन्त्री मगरले २०७४ चैत २ गते खानेपानी मन्त्रालय सम्हालेकी थिईन । उनी खानेपानी मन्त्री नियुक्त भएको २५ दिनपछि मेलम्ची खानेपानी आयोजनाको ब्रेक थ्रु भएको थियो। तर उनी आउनुअघिनै धेरै काम सकिएको थियो।

यस्ता छन् एक बर्षमा भएका  काम
मन्त्रालयका अनुसार एक बर्षको अवधिमा खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत ७७ जिल्लामा सञ्चालित केन्द्रीय खानेपानी आयोजनाहरु मध्ये १ सय १० आयोजनाहरु सम्पन्न भएका  छन् ।

विभाग अन्तर्गतकै सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरेको खानेपानी मन्त्रालयले जनाएको छ । सहलगानी अन्तर्गत नवलपरासीको अमरापुरी, मोरङको मानगढ, उर्लावारी, झापाको चन्द्रगढी, रुपन्देहीको प्रगतिनगर, नयाँगाउँ, चितवनको रत्ननगर, धनगढा र पर्साका खानेपानी आयोजनाहरु सम्पन्न भएका छन् ।

यो एक वर्षको अवधिमा तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सल्यानको खलंगा शितलपाटी, झापाको चारआली, कैलालीको टिकापुर र सुनसरीको महेन्द्रनगरमा खानेपानी आयोजनाहरु सम्पन्न भएका छन् । यो अवधिमा ३५ वटा सहरी तथा अर्ध सहरी खानेपानी आयोजनाहरु सम्पन्न  भएका छन् । त्यस्तै भूकम्पबाट क्षतिग्रस्त भएका आयोजनाहरु मध्ये ३ सय ६० वटा आयोजनाहरुको पुननिर्माण कार्य सम्पन्न भएको छ ।

यो एक बर्षको अवधीमा १७ जिल्ला खुला दिसा मुक्त घोषणा भएका छन् । हाल ६३ जिल्लाहरु खुला दिसा मुक्त क्षेत्र घोषणा भएका छन् । एसियाली विकास बैंकको सहयोगमा देशभरका विभिन्न २० वटा सहरहरुमा आयोजना निर्माण तथा सरसफाईको दिगो व्यवस्थापनको लागि १७८ दशमलब ५ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौता भएको छ ।
 
काठमाण्डौ उपत्यका भित्र ९ वटा पानीपोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रको करिब ८० प्रतिशत  निर्माण कार्य सम्पन्न भएको छ । निर्माणाधीन मनोहरा, हनुमन्ते तथा खस्याङखुसुङ नदीहरुको दुवै किनारमा कुल ४५ किलोमिटर मध्ये ११ दशमलब ९ किलोमिटर ढल बिछ्याउने कार्य सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार पहिलोपटक ढल नीति तयार भई स्वीकृत भएको छ । यो नीति ढलको प्रशोधन अनिवार्य  रुपमा गर्नुपर्छ । प्रशोधन नगरिएको ढलमा नदीमा मिसाउन पाइदैन ।

भक्तपुरको महादेवखोला ईम्पाउन्डिङ रिजर्भवायर खानेपानी आयोजना, दाङको पातुखोला, सुर्खेत भ्याली बृहत खानेपानी आयोजना, बबई थोक वितरण र नारायणी थोक वितरण खानेपानी आयोजनाहरुमा लगानी जुटाउने सन्दर्भमा मोडालिटीको विषयमा प्रधानमन्त्री कार्यालयले ऐन बनाउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।