BIZMANDU
www.bizmandu.com

एउटा पुल, जसका कारण विराटनगर नाकाबाट हुने आयात रोकिने अवस्था,  ढुवानी खर्च र डिटेन्सन बढ्यो


एउटा पुल, जसका कारण विराटनगर नाकाबाट हुने आयात रोकिने अवस्था,  ढुवानी खर्च र डिटेन्सन बढ्यो
एउटा पुल, जसका कारण विराटनगर नाकाबाट हुने आयात रोकिने अवस्था,  ढुवानी खर्च र डिटेन्सन बढ्यो

विराटनगर। भारतको विहार राज्यमा पर्ने भागलपुर शहरछेउको विक्रमशिला सेतु (पुल) बाट २० मेट्रिक टनभन्दा बढी तौलका सवारी साधन चल्न नदिने आदेश स्थानीय प्रशासनले गरेपछि विराटनगर नाकाबाट हुने निकासी–पैठारी प्रभावित भएको छ।

Tata
GBIME
Nepal Life

यसअघि गत असोज–कात्तिकमा एक महिनाको समय लगाएर मर्मत गरिएको विक्रमशिला सेतु एक हप्ता पहिले क्षतिग्रस्त भएको थियो। तर मर्मतपछि पनि विक्रमशिला पुलले २० मेट्रिक टनभन्दा बढी भारवहन गर्न नसक्ने प्रतिवेदन त्यहाँका उच्च प्राविधकले दिएपछि भागलपुर प्रशासनले यस्तो आदेश जारी गरेको हो।

भागलपुर प्रशासनले यही माघ २० गते विक्रमशिला पुलबाट २० मेट्रिक टनभन्दा बढी तौलका सवारी साधन चल्न नदिने घोषणा गरेको समाचार ‘टाइम्स अफ इन्डिया’ दैनिकले प्रकाशित गरेको छ।

लालुप्रसाद यादव विहारका मुख्य मन्त्री हुँदा विहार राज्य सरकारका तर्फबाट गङ्गा नदीमा विक्रमशिला पुल बनाइएको थियो। 

उक्त पुल निर्माणका बेला नै त्यसको गुणस्तरका बारेमा प्रशस्त टीकाटिप्पणी र समाचार प्रकाशित भएका थिए। विहार सरकारमा मौलाएको भ्रष्टाचारका कारण विक्रमशिला पुल कमजोर भएको समाचार त्यस बेला छापिएका थिए।

सन् २००१ देखि सञ्चालनमा आएको विक्रमशिला सेतुको लम्बाइ ४ हजार ७ सय मिटर छ। 

विराटनगर भन्सार एजेन्ट सङ्घका उपाध्यक्ष नवलप्रसाद उपाध्यायले विक्रमशिला पुलबाट नेपालतर्फ आउने कन्टेनर लोड गरिएका टेलर ल्याउन नपाएपछि दुर्गापुर, आसनसोल, बरही, मोकामा, बरौनी, मुजफ्फरपुर र दरभङ्गाको बाटो घुमाएर ल्याउनु परेको बताए।

यसअघि कोलकाता बन्दरगाहबाट विराटनगर नाका आउने तेस्रो मुलुकका सामान भागलपुरको विक्रमशिला सेतु हुँदै ल्याउने गन्थ्यिो।

‘टेलरका चालकले नयाँ बाटोबाट आउँदा थप ४ सय किलोमिटर घुम्नुपरेको दावी गरेका छन्’, उपाध्यक्ष उपाध्यायले भने, ‘चालकले यस्तो दावी गरे पनि कम्तीमा साढे तीन सयको बाटो घुम्नुपर्ने भएको छ। अब ढुवानी खर्च पनि बढ्ने निश्चित छ।’

यसअघि कोलकाता बन्दरगाहबाट टेलरले प्रति मेट्रिक टन भारु ३ हजारदेखि ३२ सय सम्म ढुवानी खर्च लिइरहेकोमा प्रति मेट्रिक टन भारु ५ सयदेखि ७ सय सम्म थप महँगो पर्ने उपाध्यायले बताए।

‘२० फिटको एक कन्टेनरमा कम्तीमा २५ मेट्रिक टन त सामान नै हुन्छ’, उपाध्यक्ष नबलले भने, ‘यसबाहेक कन्टेनर हालिने टेलरको तौल ८ देखि १० मेट्रिक टन र कन्टेनर मात्रको तौल सबा २ मेट्रिक टन हुन्छ। यसरी मालसहितको एउटा टेलर कम्तीमा ३५ मेट्रिक टनको हुने भएपछि नेपाल ल्याइने मालवस्तुका लागि विक्रमशिला सेतुको प्रयोग गर्न नपाइएको हो।’ 

उपाध्यायका अनुसार नेपाल आउने मालवस्तु कम्तीमा साढे ३ सय किलो मिटर घुमाएर ल्याउनु परेपछि थप ४ दिनको समय बढेको छ। यसका कारण कन्टेनर समयमा फिर्ता गर्न नसकिने र डिटेन्सन शुल्क लाग्ने सम्भावना बढेको छ।

कन्टेनर कोलकाता बन्दरगाहबाट नेपालको नाकातर्फ हिँडाइएपछि २१ दिनभित्र कोलकातास्थित सिपिङ एजेन्सीमा पुर्याइसक्नु पर्छ। अन्यथा विलम्ब शुल्क तिर्नुपर्छ।

घुमेर आउने नयाँ बाटो भागलपुरको जस्तो चौडा नभएको र बाटामा विराटनगर नाकासम्म आउने सयौँ कन्टेनर जाममा फसेको टेलर चालक देवेन्द्र सिंहले बताए।

‘भागलपुरबाट आउने सडक ४ लेनको थियो, अहिले घुमेर आउने नयाँ बाटो कतै १ लेन र कतै २ लेनको छ’, चालक सिंहले भने, ‘बाटामा भएको जामका कारण विराटनगर नाकासम्म आइपुग्न कठिन भइरहेको छ।’

विराटनगर भन्सार कार्यालयले कन्टेनरहरू एक हप्तायता कम आइरहेको पुष्टि गरेको छ।

‘१० दिन अघिसम्म दैनिक ८ देखि १० वटा कन्टेनर आउँथे, अहिले मुस्किलले २ वटा आइरहेका छन्’, कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले भने, ‘१० दिन देखि यार्ड पूरै खाली छ। कन्टेनर नै नआएपछि कार्यालयको राजस्व सङ्कलन पनि प्रभावित भएको छ। माघ महिनामा घोषित लक्ष्यको ७५ प्रतिशत पनि पुग्ने लक्षण छैन।’