BIZMANDU
www.bizmandu.com

बाँझो जग्गा भाडामा लिएर तरकारी खेती, १२ जनालाई रोजगारी पनि, आम्दानी बढेको बढै

२०७५ माघ २८

बाँझो जग्गा भाडामा लिएर तरकारी खेती, १२ जनालाई रोजगारी पनि, आम्दानी बढेको बढै
बाँझो जग्गा भाडामा लिएर तरकारी खेती, १२ जनालाई रोजगारी पनि, आम्दानी बढेको बढै

परशुराम। डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आएका छन्। २५ बर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा २५ लाख रुपैयाँ आम्दानी गरेका छन्। 

Tata
GBIME
Nepal Life

स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती गर्न थालेका हुन्। उनीहरूले १२ जनालाई रोजगारीसमेत दिएका छन्। 

यस क्षेत्रका अन्य युवा मिलेर बाँझो जग्गामा विभिन्न तरकारीका बीउ उत्पादन गर्दै आएका छन्। तराईमा बसाइँ सरेपछि गाउँको बाँझो जग्गाको उपयोग गरी मुनाफा हुन थालेपछि अन्य युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएको रामचन्द्रले बताए। 

अर्का सञ्चालक सदस्य सीताराम पहिलो पटक  १०० क्विन्टल आलुको बीउ उत्पादन भएको बताए। उनले भने, “दश लाख रुपैयाँ लगानी गरी यस वर्ष २५ लाख रुपैयाँ कमाइ भएको छ।” 

बजारमा शुद्ध आलुको बीउको अभाव हुँदा बीउ उत्पादनमा जोड दिएको उनको भनाइ छ। सीतारामका अनुसार फार्मको मुख्य उद्देश्य बाँझो जमीनलाई खेतीयोग्य भूमिमा रूपान्तरण गरी गाउँको बेरोजगारी घटाउन प्रयास गरेका हुन्। पहिलो चरणमा कम्पनीले बेरोजगार महिला र पुरुषलाई वर्षमआ झण्डै १२० दिन रोजगारी दिएको छ।

आफू पनि रोजगार हुने र बेरोजगार युवालाई पनि काम दिन सकिने भएपछि युवाहरू यसरी सामूहिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। सञ्चालक सदस्य दत्तराजले भने, “कम्पनी गठन गरी व्यावसायिक खेती शुरु गर्दा धेरैले विश्वास गरेका थिएनन्। एकै वर्षमा लाखौँ रुपैयाँ मुनाफा भएपछि सबै आश्चर्यचकित भएका छन्।”

सिँचाइ अभाव र खेतीबारे ज्ञान नहुँदा समेत युवाको प्रयास उदाहरणीय रहेको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्ट बताए। यहाँ उत्पादन भएको आलुको बीउ यस वर्ष सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा बिक्री भएको छ।