BIZMANDU
www.bizmandu.com

सातै प्रदेशको रैथाने परिकार एकै ठाउँमा, शनिबार ठमेलको इको रिसोर्टमा मेला, के के पाइन्छ?

२०७५ माघ २५


काठमाडौं। सातै प्रदेशको रैथाने परिकार प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार ठमेलको इको रिसोर्टमा प्रादेशिक परिकार मेला आयोजना गर्न लागेको छ।

Tata
GBIME
Nepal Life

प्रादेशिक खानाको स्वाद र महत्वबारे जानकारी दिनकालागि मेला आयोजना गर्न लागिएको आयोजक संस्था ग्लोबल नेपाल सेफ फेडरेसन अन्तर्गतको स्टुडेन्ट च्याप्टरले बताएको छ।

मेलामा बटुक, भक्का, खरिया, ढिकरी, फेलौरी, चटामरी, छोइला डुबका लगायत विभीन्न प्रदेशका मुख्य परिकार प्रदर्शनमा र विक्रीमा राखिने मेला संयोजक रोदिप चौहानले बताए।

नाथम (नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट)मा स्नातक तहमा अध्ययनरत रोदिप चौहान र ललेन्द्र चन्दले मेलाको संयोजन गरेका हुन्।

'पछिल्लो समयमा दैनिक रुपमा खाजाको लागि बिदेशी परिकार सर्वप्रिय बन्दै गएको छ भने नेपाली रैथाने परिकारको स्वाद भने खस्किँदै गएको छ। अहिले हामीले सातै प्रदेशको मुख्य परिकारहरु मेलामा प्रदर्शन र विक्रीका लागि राख्ने योजना बनाएका छौँ। यसले गर्दा काठमाडौंमा विभिन्न प्रदेशबाट आएर बसेका ब्यक्तिहरुले बिभिन्न प्रदेशका परिकारको स्वाद लिन सक्नेछन्।' आयोजक रोदिप चौहानले बिजमाण्डूसँग भने।

मेलामा एक पटकमा ८० जनासम्मले प्रादेशिक परिकारको स्वाद लिन सक्नेछन्। मेलामा राखिने सातवटा स्टलमा तीन प्रदेशका परिकार प्रदर्शन र विक्रीमा राखिने संयोजक ललेन्द्र चन्दले बताएका छन्।

नेपाल वर्ल्डवाइड सेफ एशोसिएसनका उपाध्यक्ष सुरेश चन्द्र बस्नेतको नेतृत्वमा विभीन्न कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका विद्यार्थी स्वयंसेवकद्वारा  रैथाने परिकार तयार गरिने चन्दले जानकारी दिए।

'मेला मार्फत ग्राहकले सातै प्रदेशका रैथाने परिकारको स्वाद लिन सक्ने बाहेक होटल अध्ययनअन्तर्गत सेफ सिक्दै आएका विद्यार्थीले पनि सातै प्रदेशको रैथाने परिकार बनाउने तरिकासम्वन्धी ज्ञान लिन सक्नेछन्।' उनले भने।

चन्दका अनुसार स्वयंसेवक विद्यार्थीलाई शनिबार प्रस्तुत गरिने रैथाने परिकार तयारीका लागि तालिम दिइसकिएको छ।

नेप्लिज वर्ल्ड वाइड सेफ एशोसिएसनको अवधारणमा आयोजना हुन लागेको यो मेला शनिवार दिनभर हुनेछ। निकट भविष्यमा प्रादेशिक रैथाने परिकार प्रवर्द्धनका लागि सातै प्रदेशमा उक्त मेला आयोजना गरिने योजना रहेको संस्थाले बताएको छ।   

आयोजकका अनुसार मेलाको लागि प्रवेश शूल्क दुई सय रुपैयाँ राखिएको छ।