BIZMANDU
www.bizmandu.com

संस्थागत लगानीकर्ता कोही शेयर किन्दै, कोही कुर्दै,  बैंकले ऋण सुविधामा नहेरेको आरोप

२०७५ माघ २५

संस्थागत लगानीकर्ता कोही शेयर किन्दै, कोही कुर्दै,  बैंकले ऋण सुविधामा नहेरेको आरोप
संस्थागत लगानीकर्ता कोही शेयर किन्दै, कोही कुर्दै,  बैंकले ऋण सुविधामा नहेरेको आरोप

काठमाडौं। विगत तीन बर्षदेखि शेयर बजार घट्दो क्रममा छ। केही समय सूचक बढ्ने र निश्चित बिन्दुमा पुगेपछि पुन: बजार घट्दो क्रममा झर्ने प्रवृत्तिले निरन्तरता पाउँदा लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा छन्। 

Tata
GBIME
Nepal Life

आर्थिक बर्ष २०७२/७३ मा सूचक सर्वाधिक १८८१.४२ अंकमा उक्लिएको थियो। त्यसयता बजार लगातार घटेर गत बुधवार ११३९.७२ अंकमा ओर्लिएको थियो। यस बिचमा बजार ७४१ अङ्कले घटेको छ।  

तर यही अवस्थामा संस्थागत लगानीकर्ताको वित्तीय अवथा भने मिस्रित देखिएको छ। केही संस्थागत लगानीकर्ताले बजार घटेको अवसरमा थप लगानी वृद्धि गर्ने रणनीति बनाएका छन् भने केहीको बजार घटेकै कारण शेयर खरिद बिक्री बन्दै गरेका छन्।

पाँच हजारभन्दा बढी संस्थागत लगानीकर्ता दोस्रो बजारमा शेयर कारोबार गर्न भन्दै नेपाल स्टक एक्सचेन्जको कारोबार कक्षमा दर्ता भएका छन्। तीनै संस्थागत लगानीकर्ताहरूमध्ये हाथवे ईन्भेष्टमेन्ट कम्पनीले यतिखेर बजारमा शेयर खरिद गरिरहेको जनाएको छ।

यतिखेर बजारबाट शेयर खरिद गर्ने उपयुक्त समय भएको ठहर गर्दै कम्पनीले शेयर खरिद गरिरहेको हो। दोस्रो बजारमा कारोबार हुने निश्चित कम्पनीको वित्तीय अवस्था अध्यन गरी कम्पनीले थप लगानी गरिरहेको हाथवे इन्भेष्टमेन्ट कम्पनीका प्रबन्ध सञ्चालक अम्बिकाप्रसाद पौडेले जानकारी दिए।

पौडेलका अनुसार बजारमा वित्तीय अवस्था राम्रा भएका, विगत तीन बर्षदेखि नाफामा रहेका, संस्थागत सुशासन राम्रो भएको,  मूल्य आम्दानी अनुपात १५ भन्दा तल झरेका र ग्रोथ रेट २५ प्रतिशतसम्म रहेका कम्पनीमा लगानी गरिरहेको पौडेलको भनाइ छ।

कम्पनीले त्यस्ता २५ वटा कम्पनीको सूचि तयार गरेको छ। जसमा केही कम्पनीका हकमा भने कम्पनीले तयार गरेको शेयर खरिद मापदण्डमा लचकता अपनाउने गरेको छ। सूचिकृत कम्पनीहरूमा वाणिज्य बैंक, विकास बैंक, बीमा र लघुबित्त कम्पनीहरूमा कम्पनीले लगानी गरिरहेको छ। बीमा र लघुवित्त कम्पनीमा पिइ रेसियो र ग्रोथ रेटमा कम्पनीले लचकता अपनाउने गरेको छ। त्यस्ता कम्पनीमा विगत ६ महिनादेखि लगानी गरिरहेको पौडेलले बताए। 

राजधानी इन्भेष्टमेन्ट फण्डले विगत ६ महिनादेखि दोस्रो बजारबाट शेयर खरिद गर्न कम गरेको छ। बैंकको ब्याज दरका करण दोस्रो बजारबाट शेयर खरिद गर्न कम गरेको कम्पनीले जनाएको छ।

घट्दो बजारका कारण शेयर खरिदलाई घटाएर पर्ख र हेरको अवस्थामा रहेको राजधानी इन्भेष्टमेन्टका कार्यकारी निर्देशक निर्मल प्रधानले बताए। बैंकबाट ऋण लिएर खरिद गरेका संस्थागत लगानीकर्ताले पछिल्लो समय शेयर खरिद गर्न नसकेको उनको भनाइ छ।

उनका अनुसार, संस्थागत लगानीकर्ताले पहिले नै चर्को व्याजमा आफ्नो शेयरको ५० प्रतिशत मार्जिन कर्जा लिएका छन्। जसको व्याज र मार्जिन पूरानै दरमा लगातार तिर्नु पर्छ। नेपाल राष्ट्र बैकले मार्जिन प्रवृत्तिको ऋणमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्यापएको छ। तर त्यो ऋण सुविधा नयाँ ऋणीले मात्रै प्राप्त गर्ने प्रबधानको कारण कम्पनीले नयाँ लगानी गर्न नसकेको प्रधानले बताए। 

उनका अनुसार धितो रहेको पुरानो शेयरको पुनर्तालिका गरेर बर्तमानमा नयाँ धितो कायम गर्ने सुविधा दिए पुराना लगानीकर्तालाई पछिल्लो समयको नीतिले सघाउने उनको तर्क छ। केन्द्रीय बैंकले दिएको सुविधा लिन पुराना ऋणीले सबै ऋण चुक्ता गर्नु पर्छ। त्यसपछि नयाँ प्रक्रिया सुरु गर्नु पर्छ। जसमा सेवा शुल्क लगायत थप भार लगानीकर्तालाई पर्ने भएकोले पछिल्लो नीति पुराना लगानीकर्तामैत्री नभएको प्रधानको भनाई छ। 

संस्थापन शेयरको हकमा ५० प्रतिशत मात्रै मार्जिन ऋण सुविधाले पुराना लगानीकर्ता थप मर्कामा परेको उनले बताए। ब्याजदर र नीतिका कारण नयाँ इन्भेष्टमेन्ट गर्न नसकिएको प्रधानको भनाइ छ। 

संस्थागत लगानीकर्ता भेन्चर क्यापिटलले पछिल्लो समय दोस्रो बजारमा शेयर खरिद गरिरहेको जनाएको छ। कम्पनीले "फन्डामेन्टल र टेक्निकल" विश्लेषणका आधारमा दोस्रो बजारबाट शेयर खरिद गरिरहेको भेन्चर क्यापिटलका कार्यकारी अध्यक्ष भीमप्रसाद तिमल्सेनाले जानकारी दिए। 

उनका अनुसार बजारमा चलेका हल्ला र लहडमा भन्दा पनि बजारका कम्पनीको वास्तविक अध्ययन गरेर शेयर खरिद गर्ने गरिएको तिमल्सिनाले बताए। कम्पनीले दोस्रो बजारमा कारोबार हुने १५ कम्पनीको सूचि तयार गरेको छ। त्यो सूचिमा सबै समूहका कम्पनी रहेका छन्। तीनै कम्पनीमा लगातार शेयर थप्दै गएको उनले बताए। नेप्से सूचक १२ सयको बिन्दुमा रहँदादेखि कम्पनीले शेयर खरिद गर्दै आएको उनको भनाई छ।    
 
क्यालिबर इन्भेष्टमेन्ट कम्पनीले विगत दुई महिनादेखी दोस्रो बजारमा शेयर खरिख बिक्री गर्न रोकेको जनाएको छ। बजारको अवस्थाले कारोबार रोकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनबहादुर बस्नेतले जानकारी दिए। कम्पनीले दुई महिना अघिसम्म सानो सानो कित्ता शेयर खरिद गर्दै आएको थियो। तर बजार निरन्तर घट्दो अवस्थामा रहेको र लगानी क्षमतामै ह्रास आएपछि शेयर खरिद गर्न रोकिएको बस्नेतको भनाई छ। बजारको अवस्थालाई मध्यनजर गर्दै आगामी रणनीति तय गरिने उनले बताए।