BIZMANDU
www.bizmandu.com

नक्कल गर्नेलाई लगाम, इटालियन चुइगमको ब्रान्ड नक्कल गरेको अभियोगमा वीरगंजका उद्योगी पक्राउ

२०७५ माघ २५


वीरगंज। इटालियन चुइगम कम्पनी परफेटी भेन इटलीको ब्रान्ड चोरेको अभियोगमा वीरगंजका उद्योगी निरञ्जन अग्रवाल पक्राउ परेका छन्।

Tata
GBIME
Nepal Life

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अनुसन्धानको क्रममा बिहीवार दिउँसो साढे १२ बजे आदर्शनगरस्थित निजकै नेपाली चुइगम ‘सेल्टर फ्रुट’ उत्पादन गर्दै आएको स्वीट मार्ट इण्डष्ट्रिज प्रालिबाट हिरासतमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

उनको उद्योगले उत्पादन गर्ने सेल्टर फ्रुट ब्रान्डको चुइगमको रेपरमा इटालियन कम्पनीको भारतमा दर्ता रहेको परफेटी भेन मेले इन्डियाले उत्पादन गर्ने सेन्टर फ्रुट ब्रान्डको चुइगमको रेपर र मोनोग्राम नक्कल गरेको पर्सा प्रहरीमा उजुरी परेको थियो। एक महिनाअघि परेको उजुरीको सम्बन्धमा अनुसन्धान चलिरहेको  र सोही सम्बन्धमा उनलाई नियन्त्रणमा लिइएको उनले स्पष्ट पारे।

उनलाई ब्रान्डको नक्कल र प्रतिलिपि अधिकार चोरीको अभियोगमा अनुसन्धान गरी अदालतमा बौद्धिक सम्पति चोरीको मुद्दा दायर गरी पर्सा जिल्ला अदालतमा पेश गर्ने तयारी भएको पर्सा प्रहरीले जनाएको छ। निरञ्जन अग्रवाल वीरगंजबाट पिंकी सुपारी उत्पादन गर्ने अरविन्द उद्योग प्रालिका तत्कालिन सञ्चालक हुन्।

अरविन्द उद्योगका अर्का सञ्चालक अजय अग्रवालसंग आर्थिक विवादको कारण उक्त कम्पनी अहिले वीरगंजमा बन्द हुदै पिंकी सुपारीको उत्पादन बन्द छ।निरञ्जनले एक वर्ष यता चुइगम उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका थिए।उनी विगतमा रियल स्टेट व्यवसायमा पनि संलग्न थिए।