BIZMANDU
www.bizmandu.com

अमेरिका, अष्ट्रेलिया लगायतका चार देशमा पुग्ने भयो जाजरकोटको मह, दुईहजार किलो महको प्याकिङ तयार

२०७५ माघ २४


जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका–१ पाली, कल्पतको कात्तिके मह यसवर्ष अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ । पाली, कल्पतको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया जाने भएको हो ।

Tata
GBIME
Nepal Life

नहकुली अर्गानिक हर्बल एग्रो प्रालिले पाली, कल्पतको कात्तिके महको अन्तर्राष्ट्रिय बजार खोजी गर्न यस वर्ष अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया गरी चार देशमा दुई हजार किलो मह पठाउन लागेको सञ्चालक हरिबहादुर बुढाले जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा पठाउन सुपर वर्ल्ड ट्रेडर्सले महको नाप तौल तथा गुणस्तर परीक्षण गरिसकेको बुढाले बताए।  बाहिर पठाउनलाई प्रालिले मह खरीद गर्नाका साथै प्याकिङ गरिसकेको छ।

सञ्चालक बुढाले वन डिभिजन कार्यालयबाट चलानी पुर्जीका लागि आवश्यक कागजात पूरा गर्न मात्र बाँकी रहेको बताए। गत वर्षको तुलनामा यस वर्ष मह उत्पादन १५ प्रतिशतले वृद्धि भएको नलगाड कृषि शाखा प्रमुख महेशकुमार बिष्टले जानकारी दिए।

गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो । गत वर्षसम्म प्रतिकिलो पाँच सय रुपैयाँ पर्ने मह अहिले  सात सय रुपैयाँ पुगेको छ । माग धेरै भएका कारण महको मूल्यमा पनि वृद्धि भएको छ । जैविक मह उत्पादन हुने मौरीको सबैभन्दा उत्तम आहारा चिउरी हो ।

मैनपुतलीले मौरीको लार्भा र चाका खाइदिँदा मौरी भाग्ने गरेको किसानको भनाइ छ । “महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या छ,” व्यावसायिक मौरी किसान सेते बुढाले भने।

तीन दशकदेखि जाजरकोटका किसान व्यावसायिकरूपमा मौरीपालनमा आबद्ध छन् । उत्पादित मह किसानलाई बिक्री गर्न पनि बिस्तारै सहज हुँदै आएको छ । जैविक महको महत्व बुझाउँदै जाँदा अहिले यहाँको मह अन्तर्राष्ट्रिय बजारमा जान थालेको छ ।

प्रालिले यहाँको महलाई विदेशमा निर्यात गर्न थालेपछि आगामी वर्षमा अन्तर्राष्ट्रिय बजार विस्तार हुनेमा किसान ढुक्क देखिन थालेका छन् । नगरपालिकामा चार हजार र जिल्लाभर छ हजार मौरीका घार छन् । नगरपालिकाले मौरीपालक किसानलाई सहयोग गर्दै पकेट क्षेत्र घोषणा गरेको छ ।