BIZMANDU
www.bizmandu.com

औपचारिक सञ्चालनमा आउनुअघि महालक्ष्मी लाइफको तीन ‘प्रडक्ट’, पैसा डबल हुने स्किम पनि

२०७५ माघ २४

औपचारिक सञ्चालनमा आउनुअघि महालक्ष्मी लाइफको तीन ‘प्रडक्ट’, पैसा डबल हुने स्किम पनि
औपचारिक सञ्चालनमा आउनुअघि महालक्ष्मी लाइफको तीन ‘प्रडक्ट’, पैसा डबल हुने स्किम पनि

काठमाडौं। आइतबारबाट औपचारिक सञ्चालनको तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तीन वटा जीबन बीमा योजना ल्याएको छ। १९औं जीबन बीमा कम्पनीका रुपमा सञ्चालनमा आउन लागेको संस्थाले औपचारिक कार्यक्रम आयोजना गरेर तीन वटा 'बीमा प्रडक्ट' सार्बजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले महालक्ष्मी डबल साबधिक बीमा योजना, लगानी फिर्ता म्यादी बीमा योजना र सावधिक बीमा योजना ल्याएको हो।

डबल साबधिक बीमा योजनामा बोनसको गणना गर्नै पर्दैन। कम्पनीले तोकिएको समय अवधि सकिएपछि बीमाङ्कको दोब्बर रकम भुक्तानी गर्ने छ। लगानी फिर्ता योजनामा बीमा शुल्क भुक्तानीपछि तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम उपलब्ध हुन्छ। घटना नभएमा अवधि समाप्तिपछि जम्मा गरेको बीमा शुल्क जस्ताको त्यस्तै फिर्ता हुने छ। 

सावधिक बीमा योजनामा कम्पनीले गर्ने नाफामा पनि सरिक हुन पाइन्छ। यसको बीमा शुल्क कम पर्छ। 'डबल बीमा र लगानी फिर्ता नेपालको सन्दर्भमा नयाँ बीमा योजना हो' प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले भने।

उनले अन्य बीमा कम्पनीले अहिले बीमा गरे पछि डबल पाइन्छ भनेर झुक्याइरहेको बताउँदै यसले गर्दा बीमाको बजार नै बिग्रिएको बताए। 'बजार नबिग्रियोस् र बीमा गर्नेले डबल नै रकम पाउन् भनेर डबल बीमा योजना ल्याएका हौं' उनले भने, 'यसमा लगानीकर्ताले बोनसको हिसाब गरिरहनु पर्दैन।' उनका अनुसार, बीमाङ्कको डबल पैसा पाउन कम्पनीको बोनस दर ७० हुनु पर्छ। अहिले खुलेका नयाँ कम्पनीको बोनस दर ३०/३५ प्रतिशतभन्दा माथि पुग्दैन।

कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले आफ्नो टिम पूर्णइक्युप्ट भएकाले सबैलाई पछाडि पार्दै अगाडि बढ्ने बताए। उनले १८ महिनाको संघर्षबाट बल्ल लाइसेन्स पाएको भन्दै अब कम्पनी सबै हिसाबले सफल हुने बताए।

कम्पनीको जारी पूँजी २ अर्ब छ। यसमध्ये ६० करोड रुपैयाँ सर्वसाधारणलाई शेयर जारी गरिने छ। संस्थापकहरुले १ अर्ब ४० करोड रुपैयाँ शेयर पूँजी लगानी गरेका छन्। आइतबार कम्पनीको औपचारिक उद्घाटनसँगै सातै वटा प्रदेशका प्रादेशिक कार्यालय पनि सञ्चालनमा आउने भट्टराईले जानकारी दिए। कम्पनीले ३५ वटा शाखा कार्यलय सञ्चालन गर्ने योजना बनाएको छ।

भट्टराईले आगामी असारसम्म करिव ५० करोड बीमाशुल्क संकलन गर्ने लक्ष्य रहेको सुनाए। उनले सञ्चालनमा आएको दुई बर्षमा नयाँ १० कम्पनीलाई उछिन्ने र पाँच बर्षभरीमा सबै जीबन बीमा कम्पनीभन्दा उत्कृष्ठ हुने उनले बताए।